• होमपेज
  • देश/प्रदेश
  • कर्मचारी मिलन केन्द्र बाजुराको अध्यक्षमा सहायक प्रजिअ पुडासैनी चयन

कर्मचारी मिलन केन्द्र बाजुराको अध्यक्षमा सहायक प्रजिअ पुडासैनी चयन

  • शनिबार, असार ६, २०८३
सेयर गर्नुहोस् :
कर्मचारी मिलन केन्द्र बाजुराको अध्यक्षमा सहायक प्रजिअ पुडासैनी चयन

बाजुरा– कर्मचारीबीच आपसी समन्वय, सद्भाव र पेशागत सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित स्थापित कर्मचारी मिलन केन्द्र बाजुराको अध्यक्षमा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी चयन भएका छन्। शुक्रबार सम्पन्न केन्द्रको साधारण सभाले पुडासैनीको नेतृत्वमा दुई वर्षे कार्यकालका लागि ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको हो। पुडासैनी यसअघि तदर्थ समितिका संयोजकको जिम्मेवारीमा रहेका थिए।

नवनिर्वाचित कार्य समितिको उपाध्यक्षमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक नरेशबहादुर शाही, महिला उपाध्यक्षमा कृष्टिना बेलबासे, सचिवमा टेकबहादुर बोहरा, कोषाध्यक्षमा विन्दु बडाल तथा सहसचिवमा प्रतिभा भण्डारी चयन भएका छन्। अन्य सदस्यहरू समेत समेटेर ११ सदस्यीय समिति गठन गरिएको जनाइएको छ।

साधारण सभामा अध्यक्ष तथा तदर्थ समिति संयोजक पुडासैनीले आर्थिक वर्ष २०८२/०८३ को प्रगति प्रतिवेदन तथा आय–व्यय विवरण प्रस्तुत गरेका थिए। सभाले उक्त प्रतिवेदन र आर्थिक विवरण सर्वसम्मत रूपमा पारित गरेको आयोजकले जनाएको छ।

साधारण सभापछि बसेको नवनिर्वाचित कार्य समितिको पहिलो बैठकले जिल्लामा सरुवा भएर आउने कर्मचारीहरूबीच आपसी सम्बन्ध विस्तार गर्न खेलकुद, बनभोज, साहित्यिक कार्यक्रम तथा रचनात्मक स्मारिका प्रकाशन गर्ने निर्णय गरेको छ। साथै, जिल्लामा नयाँ आउने कर्मचारीलाई स्वागत तथा अवकाश, सरुवा वा अन्यत्र जाने कर्मचारीलाई सम्मानपूर्वक बिदाइ गर्ने परम्परालाई थप व्यवस्थित र प्रभावकारी बनाउने निर्णय समेत गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा कर्मचारी मिलन केन्द्रका संरक्षक डोरेन्द्र निरौला प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा प्रहरी नायव उपरीक्षक शैलेश्वरी बोहरा, सशस्त्र प्रहरी बल बाजुराका सशस्त्र प्रहरी नायव उपरीक्षक खडकबहादुर शाही, राष्ट्रिय अनुसन्धान कार्यालय बाजुराका अनुसन्धान अधिकृत दीपेन्द्र बम लगायत विभिन्न सरकारी कार्यालयका कर्मचारी तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो। जिल्ला प्रशासन कार्यालय बाजुराको सभाहलमा सम्पन्न साधारण सभाले कर्मचारीबीचको एकता, सहकार्य र संस्थागत सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।

चर्चामा

सम्बन्धित समाचार