काठमाडौं – नेपाली समुदायले जापानको चौथो प्रमुख शहर नागोयामा नेपाल महोत्सव आयोजना गरेका छन् । नेपाली मौलिकताको प्रचार प्रसार गर्ने उद्देश्यले आयोजित नेपाल फेस्टिभलको नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले शनिबार उदघाटन गरेका छन् ।
उदघाटन मन्तव्य राख्दै डा. रिजालले नेपालको विविधतामा एकताको सन्देश जापान बस्ने नेपालीहरुले पनि दिएको भन्दै खुसी व्यक्त गरे । साथै उनले जापानमा सिकेको सिप र प्रविधिलाई स्वदेशमै उपयोग गर्न जापानवासी नेपालीहरुलाई आह्वानसमेत गरे ।
नेपाल फेष्टिभलमा सहभागी हुन शुक्रबार जापान गएका डा. रिजाल यही भदौ २२ गते स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।नागोयाको हिसियाओदोहोरी पार्कमा यही सेप्टेम्बर ३ र ४ (शनिबार र आइतबार) आयोजना हुने फेस्टिभलमा नेपाली कला संस्कृति, नेपालका पर्यटकीय गन्तव्य, नेपाली मौलिक खानालगायतका दुई दर्जन बढी स्टलहरु रहेका नेपाल फेस्टिभल नागोयाका संयोजक दीपक कार्कीले जानकारी दिए ।जापान बस्ने नेपालीहरुले विभिन्न शहरहरुमा नेपाल महोत्सव आयोजना गर्दै आएका छन् । यसअघि जापानको फुकुओकामा आयोजित नेपाल महोत्सवमा माओवादी अध्यक्ष प्रचण्ड सहभागी भएका थिए ।