बाजुरा — बडिमालिका नगरपालिका वडा नं ३ रजाली तरकारी उत्पादन तथा सहकारी भावनाका लागि जिल्लामै चर्चित छ । उक्त वडाले बाजुरा जिल्लाको सदरमुकाम मार्तडीलाई ताजा तरकारीमा भरथेग गरेको छ भने वडाबासी आत्मनिर्भर छन् । उक्त वडामा तरकारी खेति तथा सहकारी अभियानका अभियान्ता मध्ये एक युवा अमर खड्का यतिबेला नगर परिवर्तनको सपनासहित मेयरको उम्मेदवार बनेका छन् । नेकपा एमालेले उनलाई सर्वसम्मत उम्मेदवार बनाएको हो ।
२०५४ सालतिर बाजुरामा एउटा गैरसरकारी संस्थाले आधुनिक कृषिको अवधारणा ल्याएको थियो । जिल्लाका विभिन्न ठाउँमा यसबारे काम गरेपनि त्यसलाई कार्यान्वयनमा ल्याउने गाउँमध्ये एक रजाली हो । खड्काका साथै त्यहाँका युवाहरुले सुरुमा युवा क्लबका नाममा र पछि लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाकका नाममा गाउँलाई आत्मनिर्भर बनाउने अभियान अगाडि बढाए ।
२०५७ सालमा बाजुरामा पहिलो पटक चारवटा सहकारी संस्था स्थापना भएका थिए । त्यसमध्ये एक यही गाउँबाट विस्तार भएको लक्ष्मी ऋण तथा सहकारी संस्था हो । सुरुवाती योजनामै संलग्न खड्काध उच्च शिक्षाका लागि काठमाडौं आए । त्यहाँ रहेका युवाहरुले त्यसलाई सञ्चालन गरे । काठमाडौं जानेबुझेका कुरा गाउँ गएका बेला अरुलाई समेत बाँड्ने सिलसिला चलिरह्यो ।
सहकारीले बचत गर्ने बानीको विकास मात्रै होइन, पर्दाखेरि ऋण प्राप्त गर्ने बाटो पहिल्यायो । साथै आत्मनिर्भर बन्नका लागि कृषिलाई अभियानकै रुपमा फैलायो । जसले गर्दा रजाली ‘नमूना गाउँ’का रुपमा परिचित छ । गाउँ फर्केपछि खड्काले उक्त सहकारीको अध्यक्षका रुपमा १२ वर्ष नेतृत्व गरेका छन् ।
सहकारीले सुरुमा उत्पादनमा ध्यान दियो । अहिले कृषिलाई बजारसँग जोड्ने प्रयत्न गरिरहेको छ । ‘कोसेली घर’लगायतका अवधारण अघि सारेर त्यहाँका उत्पादन जिल्ला बाहिर फैलाउने क्रम पनि जारी छ । उनी यही योगदानका कारण राष्ट्रिय सहकारी बोर्डकै सदस्यसम्म भइसकेकका छन् ।
एउटा संस्थाको नेतृत्व सम्हालेर प्राप्त सफलता र अनुभवलाई उनी अफ आफ्नो नगर भरिमा फैलाउन चाहन्छन् । गाउँलाई बुझेका र लामो समय काठमाडौंलगायतका ठाउँमा बसेर सामाजिक रुपान्तरण र विकासको रफ्तार नियालेका उनले आफ्नो प्रतिबद्धता पत्रमा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतमा राखेका छन् । ‘अरु देखाउलान् सपना, हामी राख्दैछौं योजना’ अन्तर्गत उनले बडिमालिका नगरपालिमा गर्न सकिने कामहरु लिपिबद्ध गरेका छन् ।
गाउँ तोकेरै कृषि उत्पादनमा जोड
खड्काले कृषिमा विशेष जोड दिएका छन् । नगरपालिकाको ९० प्रतिशत भन्दा बढीको आयको माध्यम नै कृषि भएकाले त्यसमा जोड दिइएको उनी बताउँछन् ।
उनले ‘एक गाउँ एक उत्पादन, कृषि उपजको व्यवस्थापन’, ‘एकीकृत कृर्षि, व्यावसायिक वृद्धि’, ‘उत्पादन गरौं राम्रो, बेच्ने जिम्मा हाम्रो’ जस्ता थिममा कृषि अभियानलाई अघि बढाउने तयारी गरेको बताए ।
उनले थपे, ‘मैले हरेक टोलमा पुगेर आफ्नो तर्फबाट सम्भाव्यता अध्ययन गरेको छु । स्थानीय रुपमा उपलब्ध प्राविधिकहरु समेतलाई सोध्दा जस्तै म्कने, रजातोली, जिल्ली, पोखरा, राप्क, जुगाडा, दवाडीपाटा, माथिल्लो कोर्ध, रिला, मना, रजाली, झाल्ले डुंग्री, बागडाडा, पाँदे, फणिल्ला जस्ता क्षेत्रमा क्रमसः आलु, तरकारी, सुन्तला, चिराईतो, सतुवा, अलैची, अल्लो, भांग्रो, ओखर, दाडिम, केरा, जारिम आदिका पकेट क्षेत्रका रुपमासम्भाव्यता अध्ययन गरी विकास गर्न सकिने पाएको छु ।’
उनले माछापालन, वाख्रापालन, भैसीपालन लगायतको सम्भाव्यता रहेका ठाउँमा त्यसलाई जोड दिइने बताए । व्यवसायिक कृषिमा जोड दिँदै गर्दा उत्पादन खेर जाने जोखिम रहन्छ । त्यसका लागि उनको भनाइ छ, ‘उत्पादन गरौं राम्रो, बेच्ने जिम्मा हाम्रो ।’ उनले सहकारीमार्फत् त्यसको प्रयोग यसअघि पनि गरिसकेका छन् । विभिन्न गाउँबाट उत्पादन लिएर काठमाडौंलगायतमा बेच्ने कार्यको उनले नेतृत्व गरेका छन् ।
नगरबासी बिरामी ‘नगरलाई दुख्ने’ प्रतिबद्धता
स्वास्थ्यलाई लिएर उनी संवेदनशील देखिन्छन्। उनले ‘बिरामी पर्दा दिदिबहिनी दाजुभाइ, दुख्नेछ नगरलाई’ भनेर नगरबासीको स्वास्थ्यको जिम्मा लिने बताएका छन् । ‘नेपालको संविधानको धारा ३५ ले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रुपमा स्थापित गरेको छ,’ उनले भने, ‘आधारभूत स्वास्थ्य सवै नागरिकको मौलिक हक हो, गुणस्तरीय स्वास्थ्य पहुँचमा हुनुका साथै निःशुल्क हुनुपर्छ। त्यो प्रदान गर्नु स्थानीय सरकारको पनिा दायित्व हो । अहिले आधारभूत स्वास्थ्य समेत महंगोमा किन्नुपर्ने बाध्यतामा नगरबासी छौं । आर्थिक अभावका कारण रोग पालेर बस्ने वा अकालमै देहत्याग गर्नुपर्ने बाध्यता छ । त्यसकारण कुनै नगरबासी बिरामी पर्दा सेवकीय भूमिकामा रहेको नगरपालिकालाई दुख्नुपर्छ ।’
स्वास्थ्य स्वयंसेविकालाई थप सीपज्ञान सिकाएर नगरले विशेष सुविधाा दिनुपर्ने उनको मत छ । स्वास्थ्य स्वयंसेविकाका छोराछोरीलाई स्वास्थ्य विषय पढाउन नगरले सघाउनुपर्ने बताएका छन् । ‘अनिवार्य स्वास्थ्य बीमा, नसक्नेहरु नगरको जिम्मा’ अवधारण अन्तर्गत सक्नेहरुले बीमाको प्रिमियम आफैंले तिर्ने भएपनि नसक्नेहरुको नगरपालिकाले जिम्मा लिनुपर्ने बताउँछन् ।
नियमित टेलिमेडिसिन सेन्टर र विशेषज्ञ डाक्टरलाई बोलाएर नगरबासीको चेकजाँच गराइने उनको योजना छ ।
उच्च शिक्षाका लागि १०५० किमीको यात्रा र योजना
खड्का एसएसली पास गर्दा २०५४ सालमा बाजुरामा उच्च शिक्षा प्राप्त गर्ने अवसर नै थिएन। कि डोटी पुग्नुपथ्र्यो, कि त धनगढी काठमाडौं। काठमाडौं आइपुग्न १०५० किलोमिटर यात्रा गर्नुपथ्र्यो। त्यसमा पनि दुई दिन पैदल नै हिँड्नुपर्ने बाध्यता थियो ।
शिक्षामा त्यो समयको तुलनामा अहिले निकै परिवर्तन भएको छ। जिल्लामा स्नातकोत्तरसम्म अध्ययन-अध्यापन हुन्छ । तर, गुणस्तरको कसीमा अझै बाजुरा पछाडि छ । यसलाई मध्येनजर गर्दै उनले ‘प्रत्येक वडामा गुणस्तरीय विद्यालय, सुविधासम्पन्न पुस्तकालय’, शिक्षकप्रति श्रद्धा, उघ्रिन्छ ज्ञानको पर्दा’, ‘शिक्षकप्रति श्रद्धा, उघ्रिन्छ ज्ञानको पर्दा’लगायतका कार्यक्रम ल्याएका छन् ।
विद्यार्थी-शिक्षकको अनुपात मिलाउने, सामुदायिका स्कुलमा अंग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन हुनेगरी शिक्षक व्यवस्थापन गरिने, एक विद्यालय, एक पुस्तकालयको व्यवस्था गर्ने र व्यवस्थापनमा संलग्न प्रधानाध्यापक र अध्यक्षलाई राम्रा विद्यालय पठाएर अनुभव हासिल गराउनेसम्मका योजना उनीसँग छन् ।
रोजगारीमा जोड
बेरोजगारी राष्ट्रिय समस्या हो। त्यसैमाथि शैक्षिक बेरोजगारीको समस्या अहिले टड्कारो बनेको छ । ‘बन्न सरकारी कर्मचारी, नगरमै लोकसेवा तयारी’ उनले त्यही समस्यालार्य केन्द्रमा राखेर अघि सारेका छन् ।
‘केही महिनाअघि मात्रै नेपाल सरकारले ४८५ जना शाखा अधिकृत नियुक्त गर्दा बाजुरा शून्य रहेको तीतो यथार्थ हामीमाझ छ,’ उनले भने, ‘त्यसैगरी नेपाल प्रहरी अधिकृत, शसस्त्र प्रहरी अधिकृत, नेपाली सेना अधिकृत, नेपाल टेलिकम, विद्युत प्राधिकरण, सरकारी बैंकलगायतमा पनि जिल्लाको उपस्थिति कमजोर देखिन्छ । बडिमालिका नगरपालिकाको पहलमा सरकारी कर्मचारी बन्न चाहने विद्यार्थीलाई नगरमै लोकसेवाको तयारी गर्ने व्यवस्था मिलाउनेछ। नेपाल सरकार, प्रहरी तथा सेनाको अधिकारीहरुको विशेष भ्रमण तथा अनलाइनबाट विशेष कक्षाको व्यवस्था गरिनेछ ।’
श्रम बैंकको स्थापना गरेर युवाहरु सीपअनुसारको काममा लगाउने सपना उनीसँग छ। उनी हरेक गाउँमा सम्भावना रहेको बताउँदै स्वरोजगारीमा जोड दिुनपर्ने बताउँछन् ।
उनको भनाइ छ, ‘नगरपालिकाका विशेष क्षेत्रहरु पहिचान गरी स्थानीय उत्पादनमा जोड दिनेछ। कृषि तथा अन्य सहकारीको माध्यमबाट गाउँ-गाउँमा आर्थिक प्रर्वद्धन गरी युवा रोजगारीका लागि आवश्यक लगानी गरिनेछ ।’
परिवर्तनका लागि रोजेको राजनीति
अमरको राजनितिक यात्रा २०४६ सालको आन्दोलनपछिको बहुदलको उदयसँगै सुरु भएको हो । भर्खर जुँगाको रेखी बस्न सुरु गरको थियो। गाउँबाट पढ्नका लागि सदरमुकाम झर्दै थिए । मालिका स्कुलमा नेकपा एमालेको जनवर्गिय संगठन शिक्षक संगठनको चहलपहल देखे । बहुदलको पक्षमा नाराहरु लागेको देखे ।
काठमाडौंमा तत्कालीन महेन्द्ररत्न क्याम्पस, ताहाचलमा पढ्दा उनी औपचारिक रुपमा एमालेनिकट अनेरास्ववियुको सदस्य भए ।
त्यसपछि जिल्लासँग जोडिएको बाजुरा-काठमाडौं सम्पर्क मञ्चमा उनले सदस्य हुँदै अध्यक्ष समेत भएर २०५९ देखि २०६५सम्म काम गरे । उनी सुरुदेखि नै स्वरोजगारीको पक्षमा थिए। पढाइसँगै दृष्टि साप्ताहिकको बजार व्यवस्थापकका रुपमा कम गरे ।
बाजुरालगायत विभिन्न जिल्लामा काम गरिरहेको गैरसरकारी संस्था पिसविनको फन्ड रेजिङ्ग अफिसरको रुपमा काठमाडौंमा काम गरे । सुदुरपश्चिमको शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा विशेष आवाज उठाउन सुदूरपश्चिम साप्ताहिक समेत चलाए ।
गाउँको रुपान्तरणमा प्रत्यक्ष संलग्न हुने उनी गाउँ फर्किए। गाउँमा उनी सानै हुँदा स्थापित लक्ष्मी ऋण तथा सहकारी संस्थालाई फैलाउन त्यसको नेतृत्व गरे र राजनीतिमा उनी एमाले जिल्ला कमिटिमा सदस्यका रुपमा काम गरे । सुरुमा उनले जिल्लाको प्रचारप्रसार विभाग सम्हाले भने अहिले संगठन विभागका प्रमुख भएर जिल्लामा राजनिति गरिराखेका छन् ।