
विराटनगर — चालकले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको मोटरसाइकलले ठक्कर दिँदा मोरङको बूढीगंगा गाउँपालिका–६ मा सोमबार राति दुई वृद्धासहित तीन जना महिला घाइते भएका छन्।
आफ्नै घर बाहिर बसिरहेका महिलाहरुलाई पश्चिमबाट पूर्वतर्फ तीव्र गतिमा गइरहेको को २३ प ७८०७ नम्बरको मोटरसाइकलले राति ९ बजेतिर ठक्कर दिएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले बताए। उनका अनुसार दुर्घटनामा बूढीगंगा–६ की ७२ वर्षीया बेचनदेवी उराव, ६० वर्षीया फुसिया उराव र ५१ वर्षीया गीता भगत घाइते भएका छन्।
घाइतेहरुको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको जानकारी खतिवडाले दिए। उनका अनुसार बेचनीदेवीको आँखा, फुसियाको ढाड तथा खुट्टा र गीताको हातमा चोट लागेको छ। मोटरसाइकल र चालक बूढीगंगा–६ का २५ वर्षीय तुलसी चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट चौधरीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त नगरिकन मोटरसाइकल चलाएको खुलेको छ। लाइसेन्स बिनाका चालकले मापसे गरेर तीव्र गतिमा कुदाएको मोटरसाइकलका कारण दुर्घटना भएको पाइएको एसपी खतिवडाको भनाइ छ।
