
धनगढी — साउने सक्रान्तीको दिन त्रिनगर–गौरीफन्टा नाका पुग्दा झोलीगुन्टा कसेर भारत पस्नेको ताँती थियो।
सोही ताँतीमा थिए, कैलालीको गौरीगंगा नगरपालिकाका रोशन चौधरी। दोस्रो लहरको कोरोना महामारी बढ्न थालेपछि भारतबाट नेपाल फर्किएका उनी घरमा बसेर चुलो बाल्न मुस्किल हुन थालेपछि फेरि भारत फर्किएका हुन्।
उनी भन्छन्, ‘कोरोना भाइरसको महामारी त नियन्त्रण होला जस्तो छैन्। तर स्वदेशमा भोकै बस्न सकिने अवस्था रहेन्। फेरि भारत नै गन्तव्य बनाउन बाध्य भए।’
चौधरीसंगै थिए बाजुराका नरेश बिक। ‘वर्षाैदेखि भारतमा काम गर्थे,’ उनले भने, ‘कोरोना महामारीले स्वदेश फर्काएको थियो। तर घर बसेर पेट पाल्न सकिने अवस्था रहेन्।’
कोरोना महामारी कायमै भएपनि गौरीफन्टा नाका हुँदै भारत जानेको भीड थेगिनसक्नु छ। पछिल्लो एक सातामा मात्रै सुदूरपश्चिमका दुई नाका गौरीफन्टा र गड्डाचौकी भएर साढे २३ हजार बढि नेपाली भारत पसेका छन्।
भारतबाट ७ दिनमा चार हजार तीन सय ९३ जना स्वदेश फर्किएका छन् भने नेपालबाट २३ हजार ६९६ जना नेपाली भारत पसेका छन्।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको सीमानाकाबाट भएको आवागमन विवरणमा असार २६ गते दुई १६९, २७ गते तीन हजार ८६७, २८ गते दुई हजार ५२, २९ गते चार हजार ८८२, ३० गते चार हजार २२८, ३१ गते दुई हजार ५५७ र साउन १ गते तीन हजार ९४१ जना भारत पसेका छन्।
