
धनगढी–सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन गरेको साढे १२ अर्ब खर्च गर्न नसकेपछि फ्रिज गएको छ । प्रदेश सरकारले चालु वर्षका लागि ३३ अर्ब ४३ करोड २५ लाख ६३ हजार बजेट विनियोजन गरेको थियो ।
तर, सरकारले विनियोजन गरेको मध्ये ६२ प्रतिशत खर्च गरेपनि बाँकी ३८ प्रतिशत बजेट खर्च गर्न नसकेपछि फ्रिज गएको हो ।
प्रदेश लेखा नियन्त्रक कार्यालयकाअनुसार सरकारको कुल विनियोजित बजेट मध्ये २० अर्ब ८३ करोड ९२ लाख ५१ हजार खर्च भएको छ ।
१२ अर्ब ५९ करोड ३३ लाख ८१ हजार बजेट भने खर्च हुन नसकेको प्रदेश लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुुदेव जोशीले जानकारी दिए । उनकाअनुसार प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालु खर्चतर्फ १३ अर्ब ५९ करोड २८ लाख ४७ हजार र पुँजीगत खर्चतर्फ १९० अर्ब ८२ करोड ९६ लाख ८६ हजार बजेट विनियोजन गरेको थियो ।
कुल मध्ये चालुुमा ९ अर्ब २७ करोड २४ लाख २५ हजार र पुँजीगततर्फको ११ अर्ब ५४ करोड ७८ लाख ७६ हजार खर्च गरिएको छ ।
विषयगत मन्त्रालयमा सबैभन्दा धेरै १५ अर्ब २८ करोड बजेट प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा थियो । तर, यो मन्त्रालयले ६० प्रतिशत मात्रै खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालयका तथ्यांकअनुसार ९ अर्ब १७ करोड खर्च गरिदा छ अर्ब १० करोड बजेट फ्रिज गएको छ ।
कुल छ अर्ब ६२ करोड विनियोजित बजेट रहेको सामाजिक विकास मन्त्रालयले चार अर्ब ७३ करोड खर्च गरेर ७१ प्रतिशत वित्तिय प्रगती गरेको छ । तीन अर्ब २६ करोड बजेट रहेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले एक अर्ब ९१ करोड खर्च गर्दै ५८ प्रतिशत प्रगति गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।
दुई अर्ब २२ करोड बजेट भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले एक अर्ब ५८ करोड खर्च गरेको पाइएको छ । ३८ करोड बजेट भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले २० करोड, ३४ करोड भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १० करोड र २० करोड ४० लाख बजेट भएको आर्थिक मामिला मन्त्रालयले १० करोड ६२ लाख खर्च गरेको छ ।


