
बाजुरा–जवरजस्ती करणी सम्बन्धी मुद्दामा वारदात मितिदेखि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । मुगु जिल्लाको खत्याड गाउँपालिका–९ जामिरगाउँ बस्ने २२ वर्षीय राजबहादुर भण्डारीलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराको समन्वयमा जिल्ला प्रहरी कार्यालय मुगुबाट खटिएको प्रहरी टोलीले उक्त मुद्धामा फरार रहेका भण्डारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक नरेश बहादुर शाहीले जानकारी दिए । उनकाअनुसार यहीँ असार २५ गते मुगुको छायाँनाथ रारा नगरपालिका–२ गमगढी बजारमा लुकिछिपी बसेको अवस्थामा उनलाई प्रहरीको टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका भण्डारीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र उक्त मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



