
बाजुरा–कोष तथा लेखा नियन्त्रक कार्यालय बाजुराबाट ७ महिनाको अवधिमा एक हजार ६६४ जनाले स्थायी लेखा नम्बर (प्यान) लिएका छन् । कार्यालयकाअनुसार २०८२ मंसिरबाट प्यान नम्बर दर्ता तथा वितरण कार्य सुरु गरिएको हो ।
कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल धन बहादुर थापाले बाजुरामा स्थानीय तहबाट हाल प्यान नम्बर सेवा सुरु नभएको भन्दै कोलेनिकाबाट सो अवधिमा एक हजार ६६४ जनाले प्यान लिएका छन् । उनकाअनुसार कार्यालयमा सो अवधिमा दर्ता भएका कुल करदातामध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने एक हजार ७८ पुगेका छन् भने व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाता ५५८ पुगेका छन् । यस्तै ७ महिनाको अवधिमा कार्यालयबाट गैरसरकारी संस्था स्थायी लेखा नम्बर लिने संख्या २८ रहेको थापाले जानकारी दिए । उनले २०८२ मंसिरबाट स्थायी लेखा नम्बर दर्ता तथा वितरण कार्य भइरहेको भन्दै स्थानीय तहबाट भने व्यवसायिक प्यान नम्बरका लागि सिफारिस कार्य मात्रै भइरहेको बताए ।
कार्यालयले सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउन नियमित रूपमा प्यान दर्ता, विवरण अद्यावधिक तथा आवश्यक परामर्श सेवा प्रदान गर्दै आएको जनाएको छ। पछिल्लो समय पारिश्रमिक भुक्तानीसहितमा प्यान अनिवार्य गरिएसँगै प्यान नम्बर लिनेहरुको संख्या उल्लेख्य बढ्दै गएकाे छ ।
त्यस्तै कार्यालयकाअनुसार हाल तोकिएको समयमा कर नतिरेका वा लामाे समयदेखि सञ्चालनमा नरहेका व्यवसायीहरुका लागि विना जरिवानामा दुई वर्षको मात्रै कर तिरेर पनि पुनः नविकरण वा खारेज गर्न सकिने छुट दिइएको जनाएको छ ।
सरकारले यसअघि करदाता सेवा कार्यालयहरू खारेज गरेर प्यान कार्ड लगायत कर सम्बन्धी सेवा सम्बन्धित स्थानीय तहबाट प्रदान गरिने व्यवस्था हुने जनाएको थियो । स्थानीय तहबाट सो सेवा सुचारु हुन समय लाग्न सक्ने अवस्थामा ती सेवा सम्बन्धित जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै प्रवाह गर्ने व्यवस्था मिलाइएको छ आन्तरिक राजस्व विभागले जनाएको छ ।


