
बाजुरा — स्थानीय किसानलाई प्राकृतिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले बाजुरामा दुई दिने तालिम सम्पन्न गरिएको छ। जिएन आइ नेपाल (GNI) को आर्थिक र प्राविधिक सहयोग तथा गिफ्ट नेपाल बाजुराद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत उक्त तालिम आयोजना गरिएको हो।
बाजुरा जिल्लाका बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाका ३० जना अगुवा किसान सहभागी रहेको तालिममा प्राकृतिक खेतीका आधारभूत सिद्धान्त, कम लागतमा उत्पादन बढाउने उपाए, जैविक मल तथा विषादी निर्माण र सूक्ष्म जीवको प्रयोग विधि सम्बन्धी विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।
तालिम मार्फत किसानलाई वातावरण मैत्री र दिगो खेती प्रणालीतर्फ उन्मुख गराउँदै आफ्नै स्रोत साधनको प्रयोगबाट उत्पादन वृद्धि गर्ने सीप विकास गराउने लक्ष्य राखिएको आयोजकले जनाएको छ। गिफ्ट नेपालका जुनियर प्राविधिक विजय बिसिका अनुसार तालिमले सहभागी किसानलाई व्यवहारमा उतार्न सकिने ज्ञान दिएको छ जसले उनीहरूलाई प्राकृतिक खेती अपनाउन प्रेरित गर्नेछ।
यसै परियोजना अन्तर्गत अगुवा किसान मार्फत अन्य समूहमा समेत ज्ञान विस्तार गरिने छ। आगामी दिनमा ४ सय २३ जना समूह सदस्यलाई क्रमशः यस्तै तालिम प्रदान गर्ने योजना रहेको छ। यसबाट कम लगानीमा बढी आम्दानी गर्ने र वातावरण संरक्षणमा योगदान पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा GNI बाजुराका प्रोजेक्ट अफिसर दिपक पौडेल र पिवीन नेपालका प्रोजेक्ट अफिसर भानसिह अयडीको उपस्थिति रहेको थियो। विगत चार वर्ष देखि निरन्तर सञ्चालनमा रहेको यस परियोजनाले स्थानीय समुदायमा दिगो कृषि विकासका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।


