बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ को नयाँ प्रशासनिक वडा कार्यालय भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । २०८१ कार्तिक महिनाबाट निर्माण कार्य सुरु गरिएको वडा कार्यालय भवन अहिले करिब ४ महिनामै निर्माण कार्य अन्तिम चरणमा पुगेको हो ।
उक्त वडा कार्यालयको २०८१ जेठ १५ गते गाउँपालिकाको एक करोड १५ लाख ४७ हजारमा निर्माण कार्यको सम्झौता भएको थियो । वडा कार्यालय निर्माणको जिम्मा न्यू बडालेख निर्माण सेवा खप्तड छेडेदह ७ ले २०८२ जेठ १५ मा निर्माण कार्य सक्ने गरी ठेक्का गरेको थियो ।
निर्माण कम्पनीका सञ्चालक अंग बहादुर ओलीले करिब ४ महिनामा वडा कार्यालयको निर्माण कार्य अन्तिम चरणमा पुगेको भन्दै अब फागुन मसान्तमै काम सम्पन्न हुने बताए । हालसम्म भवनको ९० प्रतिशत काम सकिएको र रङ लगाउने लगायका काम मात्रै बाँकी रहेको भन्दै अब चाडैं काम सम्पन्न हुने बताएका छन् ।
खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष जितबहादुर रावतले लामो समयदेखि कार्यालय भाडामा लिएर सेवा प्रवाह हुदैँ आएको भन्दै अब नयाँ प्रशासनिक भवन निर्माण भएपछि सहज हुने बताए । त्यस्तै वडा अध्यक्ष रावतले विगतमा साघुँरो भवनबाट सेवा प्रवाहमा असहज हुने गरेकोमा लगत्तै नयाँ भवन बन्ने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै हाल गाउँपालिकाको वडा नम्बर १, २ र ६ मा आफ्नै प्रशासनिक भवन निर्माण भएर सेवा प्रवाह सुरु भएको छ भने ४ मा भवन निर्माण भएपनि सेवा प्रवाह सुरु भएको छैन् । त्यस्तै चालू आर्थिक बर्षमा वडा नम्बर ३ र ५ मा पनि नयाँ निर्माणाधिन छन भने वडा नम्बर ७ को भवन निर्माण कार्य नै सुरु हुन बाँकी रहेकाे जनाएको छ ।
खप्तड छेडेदह गाउँपालिका अध्यक्ष दिल बहादुर रावतले पालिकासहित केही वडामा सुविधा सम्पन्न नयाँ भवनबाट सेवा प्रवाह भइरहेको भन्दै अब चाडै पालिकाका सबै वडामा नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह हुने बताए ।