
अर्थ जङ्ग शाही/बझाङ– बझाङ सदरमुकाम चैनपुरमा लामो समयदेखि चलिरहेको न्यु चैन मेडिकलबाट सरकारबाट प्रतिबन्धित तथा विशेषज्ञ डाक्टरको अनुमति विना बिक्री वितरण गर्न नमिल्ने लागुऔषध बितरण भइरहेको पाइएको छ । आइतबार दिउँसो सुजन हेयर कटिङ पसलबाट लागुऔषध र पसल सञ्चालक पक्राउ गरेसँगै यस्तो रहस्य खुल्न आएको हो ।
सुजन हेयर कटिङ सेन्टरका सञ्चालक सुर्जन धामीले प्रहरीसँगको बयानका क्रममा चैन मेडिकलले ट्रामाडोल लगायतका लागुऔषध बिक्री वितरण गरिरहेको खुलेको हो । प्रहरीले यो बयानका आधारमा न्यु चैन मेडिकलका सञ्चालक प्रविन मण्डललाई पनि पक्राउ गरि जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेर अनुसन्धानको लागि हिरासतमा राखेको जनाएको छ ।
यस्ता औषधी गम्भीर विरामी तथा घाइतेलाई प्रयोग गरिने भए पनि बझाङ लगायत सुदूरपश्चिमका युवाहरुले नशाको माध्यमबाट लागुऔषधका रुपमा प्रयोग गर्दै आएका छन् । बझाङमा पनि पछिल्लो समय यस्ता लागुऔषध प्रयोगकर्ता बढिरहेका छन् ।
घरका अभिभावक र प्रहरीलाई छलेर बझाङका विभिन्न फार्मेसीबाट कारोबार गरेर कुलतमा फसेका युवाहरुले लागुऔषध प्रयोग गरिरहेको प्रहरीले जनाएको छ । यस्ता कुलतमा फसेका धेरै युवाहरुले अहिले मेडिकलवालाले नदिए आक्रमणमा समेत उत्रिने गरेका छन् । केही समय अघि मात्रै जयपृथ्वी अस्पतालमा यसै विषयमा चिकित्सक माथि कुटपिट भएको थियो । लागुऔषध प्रयोगकर्ता १५ वर्षदेखि ३५ वर्षसम्मका बेरोजगार युवाहरु रहेको प्रहरीले बताएको छ ।
अहिले यस्ता प्रयोगकर्ताहरु विशेष गरि पानकोट पुल पारी एक्लै बसेर नशा लिइरहेको अवस्थामा भेटिने गरेको गोलाई र पडेशका स्थानीयहरु बताउँछन् । बझाङमा अनुगमन नहुने हुँदा लागुऔषधको खुलेयाम बिक्री वितरण भइरहेको छ । घरमा पनि अभिभावकहरु व्यस्त हुने भएकाले आफ्ना छोराछोरीहरुको खासै वास्ता नगर्ने गरेका कारण युवाहरु लागुऔषधको लतमा फसिरहेका छन् । यस्ता लागुऔषध प्रयोगकर्ताबाट विभिन्न अनैतिक कार्य र हिंसात्मक गतिविधि पनि बढ्दै गइरहेका विभिन्न अध्ययनले देखाएको छ ।
