
काठमाडौँ- नेपालमा यसवर्ष मनसुन अवधिमा ८८ दशमलब पाँच प्रतिशत वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको अवधि जुनदेखि सेप्टेम्बर महिना अर्थात् चार महिनाको अवधिमा सरदरभन्दा कम वर्षा भएको छ ।
नेपालमा मनसुन अवधिमा सरदर एक हजार चार सय ७२ मिलिमिटर वर्षा हुने गरेकामा यसवर्ष मनसुन अवधिमा एक हजार तीन सय तीन मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् सुदर्शन हुमागाईँले आँकलन गरेअनुसार यस वर्षको मनसुन सरदरभन्दा कम वर्षा भएको बताए ।
उनका अनुसार सरदरभन्दा कम वर्षा हुने आँकलन गरिए पनि जोमसोममा दुई सय दस दशमलव सात मिलिमिटर वर्षा भएको छ, जुन सरदरको एक सय ३३ दशमलव पाँच प्रतिशत हो ।
त्यस्तै काठमाडौँमा एक हजार दुई सय ८३ मिलिमिटर वर्षा भएको छ । जुन सरदरको एक सय नौ प्रतिशत हो । काठमाडौँमा मनसुन अवधिमा सरदर एक हजार एक सय ७६ दशमलव चार मिलिमिटर वर्षा हुन्छ ।
त्यसैगरी ओखलढुङ्गामा एक हजार चार सय ९२ दशमलव एक मिलिमिटर वर्ष भएको छ, जुन सरदरको एक सय ७ प्रतिशत हो । यसपाली जनकपुरमा सरदरको आधा हाराहारी वर्षा भएको छ । यस वर्ष छ सय ३७ दशमलब एक लिलिमिटर वर्षा मापन गरिएको छ । जनकपुरको सरदर वर्षा एक हजार एक सय ९५ दशमलब आठ मिलिमिटर हो ।
