बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • देश
  • अछामको साँफेबगरमा जग्गा कित्ताकाट सुरु

अछामको साँफेबगरमा जग्गा कित्ताकाट सुरु

  • बुधबार, साउन ३, २०८०
अछामको साँफेबगरमा जग्गा कित्ताकाट सुरु

अछाम —  अछामको साँफेबगर नगरपालिकामा जग्गाको कित्ताकाट सुरु गरिएको छ। स्थानीय भू–उपयोग परिषद्ले आफ्नो क्षेत्राधिकारभित्रका जग्गाको भू–उपयोग क्षेत्र वर्गीकरण गरेपछि मालपोत कार्यालयले नयाँ आर्थिक वर्ष सुरु भएसँगै कित्ताकाट प्रारम्भ गरेको हो।

नगरपालिकाले आफ्नो क्षेत्रभित्रको जग्गा कृषि र गैरकृषिमा वर्गीकरण गरेर कित्ताकाटका लागि मालपोत कार्यालयमा सिफारिस गरेपछि कित्ताकाट सुरुवात गरिएको मालपोत कार्यालय अछामका प्रमुख शिवराज ढुङ्गानाले जानकारी दिए।
जग्गालाई कृषि र गैरकृषिमा गरेर आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल सिमसार, सार्वजनिक र सांस्कृतिक तथा पुरातात्त्विकमा वर्गीकरण गरिएको छ।

नगर क्षेत्रमा रहेको ४७.५२ वर्गकिलोमिटर जग्गा विभिन्न क्षेत्रमा वर्गीकरण गरिएको बताइएको छ। कित्ताकाट खुलेसँगै तोकिएको स्थानको जग्गाको भागबण्डा, किनबेच र बैङ्किङ कारोबारमा सहजता आएको स्थानीयको भनाइ।

स्थानीय तहका प्रमुख वा अध्यक्षको संयोजकत्वमा स्थानीय भू–उपयोग परिषद् गठन गरेर जग्गाको वर्गीकरण गर्ने प्रावधान छ। स्थानीय तहले जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाटको काम हुने बताइएको छ।

मङ्गलसेन नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका र पञ्चदेवल विनायक नगरपालिकाले पनि जग्गा वर्गीकरणको काम अघि बढाएको छ।

चर्चामा

सम्बन्धित समाचार