शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • नागरिकता प्रकरणमा सुब्बा र खरिदार धरौटीमा रिहा

नागरिकता प्रकरणमा सुब्बा र खरिदार धरौटीमा रिहा

  • सोमवार, जेष्ठ ८, २०८०
नागरिकता प्रकरणमा सुब्बा र खरिदार धरौटीमा रिहा

राजविराज– भारतीय नागरिकलाई नेपाली नागरिकता दिएको आरोप लागेका जिल्ला प्रशासन कार्यालय सप्तरीका नायव सुब्बा सुशील कर्ण र खरिदार संजिबकुमार साह आइतबार धरौटीमा रिहा भएका छन्।

सप्तरी जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्गनामको आदेश अनुसार सप्तरीको राजविराज नगरपालिका-८ का कर्ण र सुरुङ्गा नगरपालिका-८ का
साह २५ हजार रुपैयाँ धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा भएका हुन्।

यसअघि शुक्रबार खडक नगरपालिका-१० घर भएका जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत किशोर कुमार राम ५० हजार रुपैयाँ धरौटी राखेर पुर्पक्षका लागि तारेखमा रिहा भएका थिए।

कर्मचारीहरूका अनुसार स्थानीय वडा अध्यक्षको सिफारिस, सरजमिन मुचुल्का, विद्यालयको प्रमाण र अन्य प्रमाणका आधारमा बुवा-छोरा नै देखिए पछि नागरिकता बनाइ दिएको बताएका छन्।

बिहीबार नागरिकताका लागि सिफारिश गर्ने वडा अध्यक्ष उदितनारायण यादव एक लाख रुपैयाँ तथा सरजमिन मुचुल्कामा बसेका स्थानीय राधेश्याम यादव २५ हजार रुपैयाँ धरौटी राखी रिहा भएका थिए।

त्यसअघि नेपाली नागरिकता लिने भारत घर भएको भनिएका सतिश यादव र उनलाई छोरा बनाएर नागरिकता दिलाउने राजविराज नगरपालिका-११ का सूर्यनारायण यादव एक-एक लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए। सूर्यनारायणले नाती नाता पर्ने सतिशलाई छोरा बनाई गत फागुन २१ गते जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नागरिकता दिलाएको आरोप छ।

नक्कली नागरिकता बनाएको यस प्रकरणमा जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीयवासी गरी २८ जनामाथि अभियोगपत्र दायर छ। फरार रहेका बाँकी २१ जना आरोपितहरू पनि पालैपालो अदालतमा हाजिर हुने उनीहरूका कानुन व्यवसायीहरूले जानकारी दिएका छन्।

पक्राउ पुर्जी जारी भएकोमा राजविराज नगरपालिका-११ का वडासचिव हरिनारायण यादव, मोरङको विराटनगर महानगरपालिका-४ घर भई जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत सुरज नेपाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी सहायक निरीक्षक सर्लाहीको हरिपुर नगरपालिका- ७ का महेन्द्र चौधरी, प्रहरी सहायक हवल्दार सर्लाहीको गोडैटा नगरपालिका- १२ का नारायणकुमार महतो, प्रहरी जवान महोत्तरीको बर्दिवास नगरपालिका-११ का रामईश्वर मण्डल, राजबिराज नगरपालिका-११ का वडा सदस्य दशरथ यादव रहेका छन्।

यसैगरी सो वडाका नारायण प्रसाद यादव, प्रभु यादव, रामकिसुन यादव, बिराजी यादव, देबु यादव, रामदेव साह, कप्लेश्वर यादव, आसो देवी यादव, देवकृष्ण यादव, शत्रुधन प्रसाद यादव, कुशेश्वर प्रसाद यादव, रामदेव यादव, राम किसुन यादव, चुल्हाई यादव र भुवनेश्वर प्रसाद यादवविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। साभार

चर्चामा

सम्बन्धित समाचार