शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाचार
  • नाम्चेबजारकी हाकिमलाई सेवाग्राहीले सोध्छन्- मेडम, हजुर कहिलेसम्म बस्नुहुन्छ ?

नाम्चेबजारकी हाकिमलाई सेवाग्राहीले सोध्छन्- मेडम, हजुर कहिलेसम्म बस्नुहुन्छ ?

  • बिहिबार, बैशाख २१, २०८०
नाम्चेबजारकी हाकिमलाई सेवाग्राहीले सोध्छन्- मेडम, हजुर कहिलेसम्म बस्नुहुन्छ ?

प्रकाश सि‌ंह/नाम्चेबजार (सोलुखुम्बु)– ‘मेडम हजुर कहिलेसम्म बस्नुहुन्छ ?’ खुम्बु पासाङल्हामु गाउँपालिका-५ की ल्हाक्पा डोपा शेर्पाले सीमा प्रशासन कार्यालय, नाम्चेकी कार्यालय प्रमुख सुजनकुमारी बर्देवालाई प्रश्न गरिन् ।

‘तपाईंहरुको माया भए म अझै बस्छु नि आमा,’ बर्देवाले हाँस्दै उत्तरसँगै प्रश्न थपिन्, ‘कहिलेसम्म बस्ने भनेर मलाई किन सोध्नुभएको हो नि ?’

‘तपाईं यहाँ बस्दा हामीले धेरै सेवा र सहयोग पाएका छौं, नागरिकता बनाउन सदरमुकाम जानु परेको छैन्, अन्य काम पनि यतैबाट भएको छ, तपाईं गए त हाम्रा समस्या पहिला जस्तै हुन्छ भनेर नि, मेडम’, शेर्पाले उत्तर दिइन् ।

तर शाखा अधिकृत सुजनले पहिलो पटक यस्तो प्रश्न सुनेकी होइनन् । यहाँ सेवा लिन आउने अधिकांशको प्रश्न त्यही हुन्छ, ‘मेडम, कहिलेसम्म बस्नुहुन्छ ?’

६ महिने छोरा काखी च्यापेर २२ महिनाअघि ३ हजार ४४० मिटरको उचाइमा नाम्चे पुगेकी उनका साथमा ६ वर्षको जेठो छोरा पनि छन् । अहिले ८ वर्ष पुगेका जेठो छोरा नाम्चैमै २ कक्षामा पढ्छन्
कार्यालयमा सेवा लिन पुगेकी खुम्बु पासाङल्हामु गाउँपालिका- ४ की याङ्जिन शेर्पाले कार्यालय प्रवेश गर्ने वित्तिकै सुजनलाई खादा लगाइदिइन्, ‘तपाईंलाई सधैंभरि यही कार्यालयमा देख्न पाइयोस् ।’

याङ्जिनका अनुसार महिला कार्यालय प्रमुख भएपछि महिलाहरुले कार्यालयमा आएर खुलेर आफ्ना कुरा राख्न पाएका छन्, समयमा सेवा पाएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भएर २२ महिनाअघि नाम्चे पुगेकी सुजनले रात दिन नभनी काम गरेको स्थानीय बासिन्दा बताउँछन् ।

नागरकिता बनाउनका लागि दिनभरि हिँडेर आएका सेवाग्राहीलाई कार्यालय समय सकिएपछि पनि नागरिकता दिने गरेकी छन् ताकि भोलिपल्ट बिहान सखारै उनीहरु घर फर्कन सकुन् । ‘उहाँलाई अफिस समयमा मात्र काम गर्नुपर्छ भन्ने मतलब हुन्न, सेवाग्राही आएमा राति पनि सेवा दिनुहुन्छ’, खुम्बु पासाङल्हामु गाउँपालिका- ५ का वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पा भन्छन् ।

यो कार्यालयमा खरिखोला र गोरक्सेबाट समेत सेवा लिन आउँछन् । नाम्चेबाट त्यहाँ पुग्न ३ दिनसम्म लाग्छ । ‘टाढा टाढाबाट सेवा लिन आउने गर्छन्, नाम्चेमा बस्न खान पैसा हुँदैन’, सीमा प्रशासन कार्यालय प्रमुख बर्देवा भन्छिन्, ‘त्यसैले रात बिहान नभनी उनीहरुको काम गरिदिन्छु ।’

बर्देवामा जागिरेभन्दा पनि सेवा गर्नुपर्छ भन्ने भावना रहेकाले जनतामाझ भिज्न सकेको वडाध्यक्ष शेर्पाको बुझाइ छ ।

बर्देवा कार्यालय प्रमुख बनेर आउनुअघिसम्म सीमा प्रशासन कार्यलयमा शाखा अधिकृत नभेटिने समस्या सधैं थियो । तर उनी आएपछि हाकिम नभएर काम नबनेको अनुभव कसैले पनि गर्नु नपरेको स्थानीयबासिन्दा बताउँछन् ।

सुजन पुग्नु पहिला यो कार्यालयले हातले लेखेर नागरिकता दिने चलन थियो । उनले २०७८ असारदेखि प्रिन्ट नागरिकता दिन सुरु गरिन् । गत असोजदेखि अनलाइन सिस्टम राखेर नागरिकता दिइरहेको उनले बताइन् ।

२०७० सालमा शाखा अधिकृत भएकी बर्देवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गृह मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हुँदै सीमा प्रशासन कार्यालय नाम्चे पुगेकी हुन् । ६ महिने छोरा काखी च्यापेर २२ महिनाअघि ३ हजार ४४० मिटरको उचाइमा नाम्चे पुगेकी उनका साथमा ६ वर्षको जेठो छोरा पनि छन् । अहिले ८ वर्ष पुगेका जेठो छोरा नाम्चैमै २ कक्षामा पढ्छन् ।

नाम्चे सरुवा भएको थाहा पाउनेवित्तिकै आफन्तले उनलाई नजाऊ भनेका थिए । ‘मेरो सरुवा भएपछि साथीभाइ र आफन्तले नजाऊ महिला मान्छे भनेर रोक्न खोजेका थिए’, बर्देवाले भनिन्, ‘दुर्गम, अझ हिमाली क्षेत्रको भूगोल र जनजीविका बुझ्नै पर्छ भन्ने लागेर म खुसी साथ यहाँ आएको हुँ, ६ महिनाका बच्चा छ जान्नँ भनेको भए, मैले अन्तै रोजेको ठाउँमा सरुवा पाउँथे नि ।’

बर्देवाका श्रीमान सुवास नेपाली नेपाल प्रहरीमा छन् । श्रीमान्, परिवार र आफन्तको माया र सद्भावले आफूले हिमाली क्षेत्रमा काम गर्न पाएको उनी बताउँछिन् । कार्यालयमा नायब सुब्बा सम्झना रोकाया र २ जना कार्यालय सहयोगी छन् । कम्प्युटर अपरेटर र खरदार पद रिक्त छ ।

चर्चामा

सम्बन्धित समाचार