बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • २७ वर्षीया महिलाको १७ वर्षीय किशोरसँग प्रेम, आफन्तले थाहा पाएपछि बलात्कारको मुद्दा !

२७ वर्षीया महिलाको १७ वर्षीय किशोरसँग प्रेम, आफन्तले थाहा पाएपछि बलात्कारको मुद्दा !

सहमतिको यौनसम्बन्ध ‘बलात्कार’ नहुने भन्दै अदालतले दियो सफाई

  • सोमवार, असार १३, २०७९
२७ वर्षीया महिलाको १७ वर्षीय किशोरसँग प्रेम, आफन्तले थाहा पाएपछि बलात्कारको मुद्दा !

२०७७ साल फागुन १९ गते कास्की जिल्ला अदालतमा जबरजस्ती करणीको एउटा मुद्दा दायर भयो । एक बालककी आमासमेत रहेकी २७ वर्षीया महिलाले १७ वर्षका किशोरलाई प्रतिवादी बनाएर दिएको जाहेरीको आधारमा सरकार वादी भएर किशोरविरुद्ध अदालतमा मुद्दा परेको थियो ।

१७ वर्षका किशोरले फ्रुटीमा नशालु पदार्थ मिसाएर खान दिई आफूलाई बलात्कार गरेको भन्दै जाहेरी दिई प्रहरी प्रतिवेदनका आधारमा चलेको बलात्कारसम्बन्धी मुद्दा करिब एक वर्षपछि फैसला भयो । कास्की जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले किशोर र महिलाबीच आपसी सहमति मै शारीरिक सम्बन्ध कायम भएको देखिएको भन्दै उमेर पुगेकी महिलासँग आपसी सहमतिमा भएको सम्बन्धलाई बलात्कार भन्न नमिल्ने ठहरमात्र गरेन, प्रतिवादी किशोरलाई सफाई दियो ।

हालसालै प्रमाणीकरण भएको उक्त फैसलाको पूर्ण पाठमा उमेर पुगेकी महिलाले उमेर नै नपुगेका किशोरसँग आपसी सहमतिमा राखेको शारीरिक सम्पर्क बलात्कार हुन नसक्ने भन्दै वादीको अभियोग दाबी नपुग्ने ठहर गरिएको छ ।

यस्तो थियो घटना

पोखराका १७ वर्षीय किशोर राजेश सुनार (परिवर्तित नाम) टिभी मर्मतको काम गर्थे । टिभी मर्मतकै काम गर्ने क्रममा एकदिन आफ्नो साथी सविन नेपालीले एउटा टिभी बिग्रेको छ, गएर हेरिदिनुपर्‍यो भनेको कारण साथीसँगै नीता नेपाली (परिवर्तित नाम)को घरमा गए । नीताको घरमा गएर बिग्रेको सामसुङ कम्पनीको टिभी बनाएर फर्किए । टिभी बनाइसकेपछि फेरि पनि बिग्रेको समयमा बोलाउनुपर्छ भनी नीताले नै राजेशको मोबाइल नम्बर मागिन् । राजेशले आफ्नो नम्बर दिएर घर फर्किए ।

टिभी बनाएर फर्किएको भोलिपल्टदेखि नीताले राजेशलाई कहिले के, कहिले के बहानामा फोन गरिरहन थालिन् । २७ वर्षको उमेर (तत्कालीन समयमा) पुगी एक बच्चाको आमासमेत रहेकी नीताले राजेशसँग माया प्रेमको कुरा गर्न थालिन् । १७ वर्षको उमेर भए पनि विवाह गरिसकेका राजेशले पनि नीतासँग माया प्रेमकै कुरा गर्न थाले । मोबाइलमै उनीहरुबीच माया प्रेमको कुराकानी हुन थाल्यो र भेटघाटसमेत हुन थाल्यो । उनीहरुबीच शारीरिक सम्पर्कको कुरासमेत भयो । किशोर र महिलाबीच शारीरिक सम्पर्क राख्ने सहमति भएपछि किशोर नीताको महिलाको घरमा टिभी बनाउने नाममा जान थाले ।

पति वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका कारण २०७७ माघ १२ गते नीताले राजेशलाई आफ्नै घरमा आफूसँगै राखिन् । नीताकै घरमा गएर राजेश महिलासँगै बसेको कुरा महिलाका आफन्त तथा छरछिमेकले थाहा पाए । यो कुरा थाहा पाएलगत्तै महिलाका आफन्त र छरछिमेकले सो कुरा वैदेशिक रोजगारीमा गएका उनका पतिलाई समेत बताइदिए ।

पतिले श्रीमतीको व्यवहारबारे जानकारी पाएलगत्तै श्रीमतीलाई फोन गरेर के भएको हो भनी सोधे । नीताले उक्त किशोर टिभी बनाउने मान्छे भएको र टिभी बनाउन आएको तर नबसेको जिकिर गरिन् । यद्यपि रात सँगै बसेको र भोलिपल्ट मात्रै गएको कुरा छिमेकीले थाहा पाएपछि नीता त्यहाँ बस्न नसक्ने अवस्थामा पुगिन् ।

त्यसपछि नीताले राजेशलाई नै फोन गरेर ‘हामी दुईको सम्बन्ध छिमेकी, आफन्त र पतिले थाहा पाए, अब यहाँ बस्न नसक्ने भयो, मलाई विवाह गरेर अन्तै राख भनिन् । तनाबमा आएका राजेशले पनि ‘जिम्मेवारी’ लिँदै नीतालाई पोखरा महानगरपालिका १३ काहुँखोलामा रहेको एक घरमा कोठा भाडामा लिएर राखिदिए ।

२०७७ माघ १५ गते राजेश र नीता दुवैजनाले केही सामान किनी काहुँखोलास्थित भाडामा लिइएको घरमा गए र श्रीमान श्रीमतीकै हैसियतामा बसे । कोठा सरेर बसेकै दिन उनीहरुले त्यहीँ खाना बनाएर खाए । त्यसको भोलिपल्ट बिहान ७ बजे राजेश दैनिक कामकाजका लागि त्यहाँबाट निस्किए । त्यही क्रममा राजेशलाई नीता घरबाट हराएकी छन् भनेर फोन आयो । उनको खोजी भइरहेको कुरा फोनबाट थाहा पाएपछि राजेशले नीतालाई पनि सो कुराबारे बताए । त्यसपछि नीता पनि घर जान्छु भनेर राजेशसँगै निस्किइन् । राजेशले नीतालाई पृथ्वीचोकमा लगेर छाडे । अनि राजेश र नीता आ–आफ्नै घरमा गए ।

राजेशले नीतालाई लिएर गएको हल्ला राजेशको परिवारमा पनि फैलिइसकेको थियो । राजेश र नीता फोनमा बोल्ने गरेको कुरा राजेशको आमालाई पनि थाहा थियो । राजेश घरमा पुग्नेबित्तिकै आमाले त्यसबारे सोधेपछि राजेशले सबै कुरा बताइदिए । त्यसपछि राजेश उक्त दिनभर घरमै बसे । त्यसको भोलिपल्ट राजेशकी आमाले काहुँखोलामा रहेको डेराकोठामा गएर नीता र राजेशका लागि लिइएको सबै सामान लिएर घर गइन् । घरधनीले यो सामान किन लगेको भन्दा मेरो छोराले अर्काकी श्रीमती लिएर बसेछ, त्यही थाहा भएर यो सबै सामान घर लैजान लागेको उनले बताइन् ।

त्यसको भोलिपल्ट अर्थात् माघ १७ गते नीताले राजेशको आमासँग कुरा गरेर ‘तपाइँको छोराले मसँग एक लाख रुपैयाँ लिएर गएको छ र कोठाको सामान किन्दा अर्को एक लाख १५ हजार खर्च भएको कारण २ लाख १५ हजार दिनुहोस्’ भनेकी थिइन् । तर राजेशको आमाले उक्त रकम नदिने भनेपछि नीताले केही व्यक्तिहरुलाई पठाएर जबरजस्ती २ लाख १५ हजार दिनुपर्छ भनी कागज बनाए । जबरजस्ती २ लाख १५ हजार दिनुपर्ने भनी कागज बनाएपछि राजेशको परिवार नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीको क्रान्तिकारी युवा सङ्गठनका कास्की जिल्ला अध्यक्ष राजकुमार सुनारसँग गुहार माग्न पुगे । सुनारले दुवै पक्षलाई बोलाएर छलफल गराउने प्रयास गरे पनि नीता छलफलमा उपस्थित भइनन् । बरु नीताले प्रहरी कार्यालयमा राजेशविरुद्ध जबरजस्ती करणीको कसुरमा जाहेरी दिइन् ।

यस्तो छ नीताको जाहेरीको सार संक्षेप :

मिति २०७७।१०।१६ गते दिनको १२ः३० बजेको समयमा जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १३ काहूँखोला स्थितमा कानूनको विवादमा परेका बालक परिवर्तित नाम, थर २०७७।०७८ कास्की–३३ ले मैले निजसँग लिन भएको रकम दिने बाहाना बनाइ मलाई फ्रुटी खान दिएर म बेहोस भएपश्चात् जबरजस्ती करणी गरेको हुँदा निजलाई पक्राउ गरी कारबाही गरिपाऊँ ।

नीताको जाहेरी लगत्तै प्रहरीले राजेशलाई पक्राउ गर्‍यो । प्रहरीसँग बयान गर्ने क्रममा राजेशले आफूहरुबीच प्रेम सम्बन्ध रहेको कारण आपसी सहमतिमै यौन सम्बन्ध राखेको बयान दिए ।

राजेशले अधिकारप्राप्त अधिकारीसमक्ष दिएको बयान यस्तो छ :

मैले टिभी मर्मतको काम गर्दै आएकोमा सविन नेपालीमार्फत परिवर्तित नाम, थर २०७७ पोखरा ७६ को घरमा गएकोमा निजको टिभी समेत बनाइ फर्किएपछि निजको र मेरो फोनमा कुराकानी हुने क्रममा माया प्रेमको कुरा हुन्थ्यो भने शारीरिक सम्पर्क गर्ने कुरासमेत फोनमा नै भएकोले मिति २०७७।१०।१२ गते निजलाई भेट्नको लागि निजकै घरमा गएको थिएँ । निजलाई भेटेको निजको आफन्तले देखेपछि निजलाई तैँले केटा बोलाइ घरमा राखेको भनी निजको पतिलाई समेत नहुँदो कुरा लगाइदिएपछि पीडितले म घरमा बस्न सक्ने अवस्था भएन, तपाईंले कोठा खोजीदिनुहोस्, म पोखरा आएर दुःख गरेर खान्छु भनेको हुँदा मैले पोखरा बोलाएकोमा मिति २०७७।१०।१५ गते दिउँसो मलाई भेट्नको लागि आफ्नो नाबालिग छोरासहित आएपछि काहूँखोला नवदुर्गा टोलमा रहेको श्रीकला नेपालीको घरमा आइ श्रीकला नेपालीलाई भेटगरी कोठा खोजेर खाना पकाउन चाहिने सामान र कपडासमेत किनेर कोठामा बिस्तारासमेत लगाइ सुत्ने क्रममा राती पीडित र मबीच सहमतिमा एकपटक करणी लेनदेन भएको थियो । त्यसको भोलिपल्ट बिहान करिब ७ उठेर म घर जान लाग्दा पीडित हराएको भनी निजको आफन्तले निजलाई खोजतलास गरेका भन्ने थाहा भएको र पीडितले म पनि घर जान्छु भनेकीले मैले निजलाई मोटरसाइकलमा राखेर ल्याई पृथ्वीचोकमा छाडेर म घरमा गएको हुँ । त्यसपछि निज मेरो सम्पर्कमा आइनन् । म र पीडित फोनमा बोल्ने गरेको कुरा मेरो आमा समेतले थाहा पाई मलाई गालीगलौज गरी सोधखोज गरेकोमा मैले सबैकुरा बताएको हुँ । मेरो आमाले तिमीहरू बसेको कोठा देखाउ भनेर कोठामा लगेपछि आमाले कोठामा भएको सबै सामान लगेर घरमा राख्नु भएको हो । आमाले पीडितको नम्बर लिएर कुरा गर्दा पीडितले तपाईंको छोराले म बाट रु एक लाख लिएको छ, सोसहित कोठामा सामान किन्दा खर्च भएको रकम मलाई दिनुहोस् भनी नचिनेका मानिसहरू समेत लिएर गई भेटगरी जबरजस्तीरूपमा रु दुई लाख १५ हजार दिनुपर्छ भनी कागज गराएर सहीछापसमेत गराएका थिए । जबरजस्ती कागजमा सहीछाप गराएकोले निजहरूलाई बोलाएर छलफल गरिदिनुहोस् भनेर मौखिक निवेदन गरेपछि राजकुमार सुनारले पीडितलाई फोन गरेर छलफलको लागि बोलाउनु भएको थियो तर पीडित उपस्थित नभएकीले छलफल हुन पाएको थिएन । सोही क्रममा पीडितले मेरो विरुद्ध प्रहरी कार्यालयमा जबरजस्ती करणी मुद्दामा उजुरी दिएपछि मलाई प्रहरीले पक्राउ गरी ल्याएका हुन् । मैले निजलाई जबरजस्ती करणी गरेको होइन ।

त्यसो त जुन घर भाडामा लिएर उनीहरु एक रात बसेका थिए, सोही घरकी धनी श्रीकला नेपालीले पनि कोठा भाडामा लिन आउँदा उनीहरुले आफू श्रीमान श्रीमती भएको बताएको र उनीहरु बस्दा पनि आनन्दसँग बसेको देखेको, हो हल्ला गरेको कुनै आवाज नसुनेको र उनीहरुले सँगै बसेर खानासमेत पकाएर खाएको कारण जबरजस्ती करणी भएकोबारे कुनै जानकारी नभएको बयान दिएकी छन् ।

यसरी २७ वर्षकी महिला १७ वर्षका किशोरसँग प्रेममा परी आपसी सहमतिमै यौनसम्बन्ध राख्ने क्रममा किशोर र महिला नजिकिएको कुरा महिलाको परिवार र छिमेकीले थाहा पाएपछि उनीहरु छुट्टै कोठा लिएरसमेत बसे । त्यसरी छुट्टै कोठा लिएर श्रीमान् श्रीमतीकै हैसियतमा बसिसकेपछि पनि किशोरविरुद्ध महिलाका परिवारका दबावमा जबरजस्ती करणीको मुद्दा दायर भयो । मुद्दा दायरलगत्तै किशोरलाई पुर्पक्षका लागि थुनामा पठाइयो ।

२०७७ साल माघ १६ गते जबरजस्ती करणी गरेको भनेर दिइएको जाहेरीका आधारमा कास्की जिल्ला अदालतमा २०७७ फागुन १९ गते दर्ता भएको जबरजस्ती करणीको मुद्दामा कास्की जिल्ला अदालतले २०७८ माघ १३ गते उक्त वारदात जबरजस्ती करणी नभएर सहमतिकै शारीरिक सम्बन्ध भन्दै बलात्कारको मुद्दाबाट राजेशलाई सफाई दिएको छ । न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले आफूभन्दा १० वर्ष कम उमेरका किशोरलाई रकम सापटी दिएको र किशोरले नशालु पदार्थ खुवाई बलात्कार गरेको कुरा अपत्यारिलो रहेको भन्दै सफाई दिएका छन् । २०७९ जेठ २७ गते प्रमाणीकरण गरिएको उक्त फैसला हालसालै सार्वजनिक गरिएको छ । फैसलाको ठहर खण्डमा लेखिएको छ,

‘जाहेरी दरखास्त बेहोरा हेर्दा कानूनको विवादमा परेका बालकले आफ्नो घरको टिभी मर्मत गरिदिएको, आफ्नो फोन नम्बर पाइ फोनबाट जिस्क्याउने, अश्लील कुरा गर्ने भएपनि आफूले रुपैयाँ एक लाख सापटी दिएको, सो कुरा विदेशमा रहेका पतिले थाहा पाएको, मिति २०७७।१०।१६ मा काहूँखोला चोकमा रहेको डेरा/कोठामा सापटी रकम फिर्ता लिन गएको, खाजा खाने भनी कोठामा राखी गिलासमा फ्रुटी खान दिई तिमी र म पति/पत्नी भई बसौँ भनेको सम्झना छ, मेरो सतित्व लुटिसकेका रहेछन्, आफ्नो Samsung TV फुटालिदिएका भनी लेखाएको बेहोरा र कानूनको विवादमा परेका बालकले अनुसन्धानमा गरेको बयान हेर्दा यी २७ वर्षकी जाहेरवाली विवाहित र बच्चाकी आमा भइसकेकीले नाबालिगलाई रकम सापटी दिएको, काहूँचोकस्थित कोठामा गएको भनी स्वीकार गरेको तथ्य घटनाविवरण कागज गर्ने श्रीकला नेपाली बकपत्र गर्न नआए पनि जाहेरवाली र कानूनको विवादमा परेको बालकको १० वर्षको अन्तरको उमेरावस्था, श्रीकला नेपालीको घटनाविवरण कागज, कानूनको विवादमा परेका बालकको अनुसन्धानमा भएको कागज हेर्दा यी पीडित भनिएकी जाहेरवाला र कानुनको विवादमा परेका बालकबीच टिभी मर्मत गर्ने सिलसिलामा भेट भई फोन नम्बर आदाप्रदान भई मायाप्रेमका गफ हुने क्रममा सहमतिमा जाहेरवालाको कोठामा करणी लेनदेन भएको, त्यसपछि छरछिमेक पतिले विदेशमा थाहापाई आफूलाई समस्या परेको भनी श्रीकला नेपालीको घरमा पति/पत्नी भई कोठा खोजी बसेको घटनाक्रम हेर्दा कानूनको विवादमा परेका बालक र जाहेरवालीबीच आपसी सहमतिमा नै शारीरिक सम्पर्क भएको भन्ने अनुमान प्रमाण ऐन, २०३१ को दफा ७(ग) अनुसार पनि अदालतले गर्न सक्ने नै भयो । अदालतको अनुमानलाई खण्डन गर्न प्रमाण पुर्‍याउनु पर्ने प्रमाणको भार वादी नेपाल सरकारलाई भएकोमा ऐ. दफा २९ अनुसार त्यस्तो प्रमाण पुर्‍याउन सकेको पनि पाइएन ।’

तसर्थ नाबालिग कानुनको विवादमा परेका बालकले आफूलाई जबरजस्ती करणी गर्‍यो भनी निजभन्दा १० वर्ष जेठी विवाहित, बच्चाकी आमा जाहेरवालीले दिएको जाहेरी बेहोरा अपत्यारिलो देखिई सो लाई पुष्टिगर्ने स्वतन्त्र प्रमाण ‘प्रमाण ऐन, २०३१’ को दफा २५ अनुसार अभियोजन पक्षबाट पेस हुन नआएकोले कानुनको विवादमा परेको बालकले अनुसन्धान अधिकारीसमक्ष गरेको बयान अनुसार सहमतिमा नै करणी लेनदेन भएको देखिएकोले उमेर पुगेको महिलाले सहमतिमा भए/गरेको करणी अपराध संहिता, २०७४ को दफा २१९ को परिभाषाभित्र पर्न नसक्ने भएकोले अभियोग दाबी पुग्न नसक्ने ठहर्छ ।

यस मुद्दामा अदालतले जबरजस्ती करणीको झूठो जाहेरीमा पीडित भनिएकी महिलालाई कुनै सजाय ठहर नगरेपनि प्रतिवादी बनाइएका किशोरलाई भने सफाई दिएका छन् । उमेर पुगेकी महिलाले उमेर नै नपुगेका किशोरसँग आपसी सहमतिमै करणी लेनदेन गरेको कुरालाई बलात्कार भन्न नमिल्ने भन्दै किशोरलाई सफाई दिने ठहर गरेका हुन् ।राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार