शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सहरमा भन्दा गाउँमा किन बढी चट्याङ पर्छ ?

सहरमा भन्दा गाउँमा किन बढी चट्याङ पर्छ ?

  • बुधबार, असार ८, २०७९
सहरमा भन्दा गाउँमा किन बढी चट्याङ पर्छ ?

वर्षायाममा चट्याङ कहिले र कहाँ पर्छ टुंगो हुँदैन । त्यसैले चट्याङबाट कसरी जोगिने भन्ने कुरामा खासै सतर्कता अपनाएको पाइँदैन ।

जबकि चट्याङले बर्सेनि मान्छेको ज्यान लिने गरेको छ । गृह मन्त्रालयको तथ्यांकमा २०७७ वैशाखदेखि २०७९ जेठ ३० गतेसम्म चट्याङका ५१५ घटना भएको अभिलेख छ । त्यसमा १५२ जनाले त ज्यान नै गुमाएका छन् । यस अवधिमा चट्याङबाट ८९२ घरपरिवार प्रभावित भएका छन् भने २४ वटा घरमा पूर्ण क्षति पुगेको छ ।

चट्याङले मानिस मात्र होइन, चौपायाको पनि ज्यान लिने गरेको छ । यसपालि चट्याङबाट २५ वटा गोठमा क्षति पुगेको छ भने एक हजार ६९ चौपाया मरेका छन् । गृह मन्त्रालयका अनुसार चट्याङबाट यस अवधिमा करिब २ करोड ९९ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

चट्याङको याम

खासगरी वर्षायाममा चट्याङको जोखिम बढी हुन्छ । पानीझरी र हुरीबतासको समयमा चट्याङ पर्छ । विज्ञहरुका अनुसार प्रि–मनसुनमा बढी चट्याङ पर्छ । चैत, वैशाख र जेठ महिनामा चट्याङको भय बढी हुने बताइन्छ । मध्य वर्षायाममा भने चट्याङको भय अलि कम हुन्छ ।

मौसमविद् वरुण पौडेल ।
कसरी पर्छ चट्याङ ?

चट्याङ एक किसिमको विद्युतीय चार्ज हो । जब विपरीत दिशाबाट बहेको बादल आपसमा जुध्न पुग्छ, त्यहाँ विद्युतीय झट्का पैदा हुन्छ । त्यसबाट आगोको मुस्लो निस्किन्छ ।

चट्याङ परेको बखत देखिने बिजुली र ध्वनि त्यही हो । चट्याङ पर्दा विद्युतीय चार्ज ४० देखि ६० हजार माइलसम्म फैलिएको हुन्छ ।

वायुमण्डलमा एक किसिमको बादल हुन्छ, जसलाई मौसमी भाषामा ‘कुमोलो निम्बस’ भनिन्छ । कुमोलो निम्बस बादलबाट उत्पन्न हुने विद्युतीय डिस्चार्ज नै चट्याङ हो, जसको असर बेलाबखत धर्तीसम्म आइपुग्छ ।

नेपालको कुन भेगमा बढी चट्याङ पर्छ ?

नेपालको पूर्वी र मध्यपहाडी भूभागमा बढी चटयाङ पर्छ । अहिलेसम्मको अध्ययनले चट्याङको प्रभाव चुरे क्षेत्रमा बढी देखिएको छ । बंगालको खाडी नजिक रहेका नेपाली भूगागमा बढी चट्याङ परेको देखिन्छ । चुरेको पूर्वदेखि पश्चिमसम्म नै मानवीय क्षति पनि धेरै हुने गरेको छ । मकवानपुर जिल्लामा चट्याङको जोखिम उच्च देखिएको छ । यद्यपि बारम्बार चट्याङ पर्ने जिल्ला भने झापा र मोरङ हुन् ।

जोखिमबाट बच्ने उपाय

चट्याङ पर्नु भन्दा अघि कालो बादल मडारिने, हावाहुरी चल्ने, अघिपछिको मौसम भन्दा बेग्लै मौसम हुने गर्छ यस्तो बेलामा सकेसम्म घरभित्रै बस्नुपर्छ ।

खेतबारीमा काम गर्दै वा जंगलमा घाँस दाउरा गर्न जानुभएको छ भने रुखमुनि ओत लाग्नु हँुदैन । बिजुलीको पोल र टावरको मुनि पनि बस्नु हुँदैन । किनकि त्यसमा सजिलैसँग चट्याङ पर्ने सम्भावना हुन्छ ।

चट्याङमा हुने विद्युतीय ऊर्जा अग्लो ठाँउ तथा चिसोमा आकर्षित हुने भएकाले खुल्ला जमिनमा निहुरिएर बस्नुपर्छ । विद्युतीय उपकरण जस्तै टेलिभिजन, तार भएका फोन लगायतका उपकरणलाई चलाउनु हुँदैन । विद्युतीय उपकरणको मेन स्वीच बन्द गर्नुपर्छ ।

पानीबाट बच्नु एकदमै राम्रो हुन्छ । नुहाउने, पौडी खेल्ने गरिरहेको भए तुरुन्तै बाहिर आउनुपर्छ, किनकि पानीले विद्युतीय ऊर्जालाई आकर्षित गर्छ । घर निर्माण गर्ने बेलामा घरका छतमा लाइटिङ रड जडान गर्नुपर्छ । यसले चट्याङ रडमा परी विस्तारै जमिनमा बग्छ ।

सहरमा भन्दा गाँउमा किन चट्याङका घटना बढी ?

सहरमा घरको माथि दूरसञ्चार टावर तथा चट्याङ प्रतिरोधी लाइटिङ रडको व्यवस्था गरिएको हुन्छ । त्यसमा चट्याङ रोक्ने अर्थिङ सिस्टम जडान हुन्छ । चट्याङ अग्लो स्थानमा आकर्षित हुन्छ ।

सहरका घरमा तामाको तारको अर्थिङ सिस्टम जोडिएको हुन्छ । चट्याङ यसैमा ठोकिन्छ त्यसले आफ्नो ऊर्जा नष्ट गर्छ । तर गाँउघरमा यस्तो व्यवस्था हुँदैन, जसकारण गाउँ घरमा चट्याङ बढी पर्ने सम्भावना हुन्छ । अनलाइनखबरबाट साभार । 

चर्चामा

सम्बन्धित समाचार