बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • ग्रिस दुर्घटना : दुई जनाको शव सरकारी खर्चमा नेपाल पठाइने, अन्यको टुंगो छैन

ग्रिस दुर्घटना : दुई जनाको शव सरकारी खर्चमा नेपाल पठाइने, अन्यको टुंगो छैन

  • मङ्लबार, पुस २०, २०७८
ग्रिस दुर्घटना : दुई जनाको शव सरकारी खर्चमा नेपाल पठाइने, अन्यको टुंगो छैन

वार्सिलोना — टर्कीबाट अवैध रुपमा ग्रिस जाँदा मंसिर पहिलो साता गाडी दुर्घटनामा परेर मृत्यु भएका चार नेपालीमध्ये दुई जनाको शव नेपाल पठाउन सरकारले खर्च व्यहोरेको छ ।

दुर्घटनामा भिमेश्वर नगरपालिका-६ दोलखाका ३० वर्षीय राजु लामा र गौरीगंगा नगरपालिका-४ कैलालीका ३७ वर्षीय लक्ष्मण सापकोटाको शव नेपाल पठाउने खर्च सरकारले व्यहोरेको हो । उनीहरू श्रम स्वीकृति लिएर टर्की आएकाले श्रमिक कल्याणकारी कोषको रकम प्रयोग गरेर शव नेपाल पठाउने प्रक्रिया अघि बढेको नेपाली राजदूतावास भियनाले जनाएको छ ।

आमाछोदिङमो गाउँपालिका-३ रसुवाकी २१ वर्षीया शर्मिला भनिने रमिला घले र घिरिङ गाउँपालिका-५ तनहुँका ओम भनिने उम बहादुर थापामगरको शव पठाउने खर्च भने व्यहोरिएको छैन । उनीहरु विना श्रम स्वीकृति अवैधानिक बाटो हुँदै ग्रिस पुगेको भन्दै खर्च नव्यहोरिएको हो । त्यसैले उनीहरुको शव नेपाल पठाउनेबारे टुंगो लागेको छैन ।

चारै जनाको शव डेढ महिनादेखि ग्रिसको टिचिङ हस्पिटल अफ आलेक्सएन्ड्रोपोलीमा राखिएको छ । शव नेपाल पठाउन जनही ३ हजार ८ सय युरो खर्च लाग्ने अनुमान छ ।

२ जनाको खर्च ग्रिस पठाइसक्यौं : भियना राजदूतावास

श्रम स्विकृति लिएर आएका दुई जना मृतकको शव नेपाल पठाउन लाग्ने खर्च ग्रिस पठाइसकेको अष्ट्रियामा रहेको नेपाली राजदूतावास भियनाले जनाएको छ ।

‘दुई जना टर्कीसम्म श्रम स्विकृति लिएर आउनुभएको हुँदा उहाँहरुको शव पठाउन नेपाल सरकारले खर्च उपलब्ध गराएको छ,’ नेपाली राजदूतावास भियनाका कार्यवाहक राजदूत डा. ईला मैनालीले भनिन्, ‘सम्भवतः आज नै फ्लाइट बुक हुन्छ । शव निकाल्ने प्रक्रिया भइरहेको छ ।’ बाँकी दुई जना (रमिला घले र उम बहादुर थापा)का लागि नेपाली समुदायले एनआरएनबाट पैसा उठाउँदै गरेको भन्ने सुनिएको उनले बताइन् ।

टर्कीदेखि ग्रिससम्म त चारै जना अवैधानिक रुपमा आएका थिए, खर्च व्यहोर्ने विषयमा किन भिन्नता भएको हो ? भन्ने  जिज्ञासामा कार्यवाहक राजदूत मैनालीले भनिन्, ‘कम्तिमा दुई जना श्रम स्वीकृति लिएर टर्कीसम्म आएको हुँदा श्रम मन्त्रालयले नै शव फिर्ता पठाउन रकम सबै व्यहोर्छ । बाँकी दुई जना वर्क परमिट नलिइकन अवैधानिक रुपमा आएको बुझियो । त्यस्तो केशमा रकम उपलब्ध गराउने प्रावधान छैन ।’

उनले मृतकका अन्य दुई परिवारले पनि आर्थिक अभाव रहेको भन्दै शव पठाइदिन अनुरोध गरिरहेको बताइन् । ‘हामीले एनआरएनका प्रतिनिधिहरुलाई पनि अनुरोध गरेका छौं । उहाँहरुले अलि-अलि रकम उठाउँदै छौं भन्नु भएको छ । तर रकम पुग्ने/नपुग्नेबारे निश्चित छैन ।’ कार्यवाहक राजदूत मैनालीले भनिन् ।

शव पठाउन अझै दुई हप्ता लाग्छ : पोखरेल

ग्रिस नेपाल सोसाइटीका संस्थापक अध्यक्ष कृष्ण पोखरेलले शव नेपाल पठाउन अझै दुई हप्ता लाग्ने बताएका छन् ।

विगत २५ वर्षदेखि ग्रिसमा बस्दै आएका पोखरेललाई शव नेपाल पठाउने प्रक्रियाका सहयोग गर्न भन्दै नेपाली राजदूतावास भियनाले अख्तियारी प्रदान गरेको छ । ‘दूतावासले पठाएको डकुमेन्ट अंग्रेजीमा छ । त्यो कागजलाई ग्रिस भाषामा अनुवाद नगरी काम बन्दैन । सरकारले तोकेको ठाउँमा समय लिएर पहिले त्यो डकुमेन्ट तयार हुनुपर्छ । त्यो काम अघि बढिसकेको छ,’ पोखरेलले भने ।

उनले चारैजनाको शव एकैपटक पठाउनको लागि सहयोग गर्न सबैमा अनुरोध गरेका छन् । ‘श्रम गरेको भन्दै राजदूतावासबाट दुईवटा शवको खर्च मात्रै प्राप्त भएको छ । बाँकी दुई शवका लागि झन्डै ८ हजार युरो अपुग छ । एजेन्सीले पनि एक/दुई दिन बरु ढिला भए पनि चारैजनाको शव एकै पटक पठाउन सुझाव दिइरहेको छ,’ उनले थपे ।

‘हामीले डकुमेन्ट बुझाएपछि चार वटै शव प्राप्त हुन्छ । त्यसपछि नेपाल पठाउन नसकेमा बाँकी दुई शवलाई प्राइभेटमा राख्नु पर्ने हुन्छ । चार्ज पनि बढ्दै जान्छ,’ पोखरेलले भने, ‘एकैपटक गर्ने हाम्रो कोसिस हो । रकम उठाइँदै छ भन्ने त सुनिन्छ । तर कहाँ कति रकम उठेको छ । अहिलेसम्म केही पनि खुलस्त छैन ।’

सरकारबाट भेदभाव भयो : एनआरएनए टर्कीका अध्यक्ष घिसिङ

एनआरएनए टर्कीका अध्यक्ष उज्ज्वल कुमार घिसिङ्ले एउटै घटनामा परी मृत्यु भएका दुईजनाको शव पठाउन सरकारले खर्च व्यहोरेको र अन्य दुई जनाको नव्यहोरेर भेदभाव गरेको बताए ।

‘सवै जना अवैधानिक रुपमा नै टर्कीदेखि ग्रिसका लागि गएका हुन् । दुई जनाको जिम्मेवारी लिने, अन्यको नलिने यो नेपाल सरकारको भेटभाव हो,’ अध्यक्ष घिसिङ्ले भने, ‘नियमकै कुरा गर्ने हो भने त ग्रिसमा श्रम स्वीकृति लिएर त कोही पनि आएको होइन । टर्की छाडेपछि सबै अवैधानिक नै भए । सबैलाई समान हुनुपर्थ्यो ।’

सरकारले आˆनो निर्णय सच्याएर चारै जना नेपालीको शव एकैचोटी पठाउन अध्यक्ष घिसिङ्ले अनुरोध गरे । ‘यो अवैध रुपमा हिँड्ने क्रममा भएको दुर्घटना हो । मृतकका सवै परिवारको पीडा उही नै हो,’ उनले भने ।

एनआरएनए टर्की, ग्रिस, इटाली कतै पनि रकम संकलन सुरु भएको जानकारी आफूलाई नभएको भन्दै घिसिङ्ले भने, ‘अहिलेको स्थितिमा यी मुलुकहरुमा झन्डै ८ हजार युरो संकलन हुने अवस्था देखिंदैन । हामीले एनआरएनए केन्द्रलाई अनुरोध गर्ने हो । पैसा नभई शव उठ्ने अवस्था छैन । यसका लागि धेरै ढिला नगर्न सबैमा अनुरोध छ ।’

परिवारबाट सहयोगको अपिल

सरकारले खर्च गरेर शव नपठाउने भएपछि मृतक ओम बहादुरका छोरा मिलन थापा र मृतक रमिला घलेका दाई विरबल घलेले आर्थिक सहयोगको लागि अपिल गरेका छन् ।

परिवारको आर्थिक स्थिति दयनीय भएको हुँदा सहयोग गरिदिन युरोपमा रहेका नेपाली संघसंस्था र एनआरएनए समक्ष उनीहरुले अपिल गरेका हुन् ।

गत सातादेखि नै मृतकका परिवारले एनआरएन केन्द्रदेखि संघसंस्थाहरु समक्ष अपिल गरेपनि हालसम्म रकम संकलन हुन सकेको छैन ।

यता एनआरएनए केन्द्रीय पदाधिकारीहरु अधिवेशन, आरोप प्रत्यारोप र प्रचारप्रसारमा नै व्यस्त देखिएका छन् । नेपाल शव पठाउन सहयोगको त परको कुरा, घटनामा चार नेपालीको मृत्यु हुँदा समेत एनआरएनएले दुःख व्यक्त गर्दै समवेदना प्रकट गर्न समेत भ्याएन ।

अवैध रूपमा टर्कीबाट ग्रिस छिर्न खोज्दा मंसिर पहिलो साता भएको गाडी दुर्घटनामा मृत्यु भएका चार नेपालीको पहिचान दुई साताअघि मात्रै खुलेको हो । ग्रिस प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मा मृतकको फोटो राखेको थियो । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा पुगेर मृतकका परिवारले फोटोमार्फत शवको पहिचान गरेपछि सनाखत भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार