शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित

स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित

  • बिहिबार, पुस ८, २०७८
स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित

काठमाडौं — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको छ ।

आसन्न निर्वाचनका लागि कर्मचारीहरुको भूमिका झन् बढ्ने भएकाले कर्मचारीहरुको सरुवा रोकिएको हो ।

मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार पछि फेरि उपयुक्त समयमा अन्तर स्थानीय तहमा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको हो । संघले स्थानीय तहमा पठाएका प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर लगायतका कर्मचारीहरुको सरुवा भने नरोकिएको उनले बताए ।

मन्त्रालयले जारी गरेको सूचनामा लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको उल्लेख छ ।

यसअघि मन्त्रालयले आवश्यकता र प्राथमिकताका आधारमा अर्को व्यवस्था नभएसम्मका लागि स्थायी नियुक्त कर्मचारीहरुलाई कामकाजमा खटाउँदै आएको थियो ।

२०७६ सालमा संघीय लोक सेवा आयोगको परीक्षा पास गरी नौ हजार कर्मचारी स्थानीय तहमा भर्ना भएका थिए । प्रदेश लोक सेवा आयोग गठन नभइसकेकाले त्यतिबेला संघीय लोक सेवा आयोगले परीक्षा लिएर नियुक्तिका लागि सिफारिस गरेको थियो ।

यसरी सिफारिस भएका कर्मचारीहरुलाई पारिवारीक समस्या र अपायक परेको लगायतका कारण सम्बन्धित स्थानीय तहको स्वीकृतिमा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा गरिंदै आएको थियो । सरुवा माग गर्दै निवेदन दिएका करिब १६ सय २० कर्मचारीहरुको अन्तर स्थानीय तहमा सरुवा गरिएको थियो ।

त्यसपछि पनि सरुवा माग गर्दै मन्त्रालय दैनिक दुई दर्जन हाराहारीमा निवेदन दिने क्रम जारी थियो । यसबाट स्थानीय तहको सेवा प्रवाह नै प्रभावित भएको मन्त्रालय स्रोत बताउँछ ।

स्थानीय तहको सेवा प्रभावित भएको र निर्वाचन पनि नजिकिएकाले अन्तर स्थानीय तह कर्मचारी सरुवा स्थगित गरिएको मन्त्रालयका अधिकारीहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार