बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • देउता चढेको निहुँमा क्रुर यातना दिने पतिलाई २ वर्ष कैद

देउता चढेको निहुँमा क्रुर यातना दिने पतिलाई २ वर्ष कैद

  • आइतवार, मंसिर २६, २०७८
देउता चढेको निहुँमा क्रुर यातना दिने पतिलाई २ वर्ष कैद

दैलेख — पत्निलाई क्रुर यातना दिने एक युवकलाई २ वर्ष कैद सजाय तोकिएको छ। पत्निको शरीरमा तातो पानी र अगुल्टोले पोलेको कसुरमा ती युवकलाई दैलेख जिल्ला अदालतले २ वर्ष कैद, २० हजार जरिवाना, ५० हजार क्षतिपूर्ति र १२ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला गरेको छ।

भैरबी गाउँपालिका–५ गौरीसल्लाका २६ वर्षीय दीपक नेपालीलाई आफ्नी पत्नी २६ वर्षीया हस्तना नेपालीलाई पटक–पटकको घरेलु हिंसापछि ज्यानै जान सक्नेसम्मको कसुर ठहर गर्दै उक्त फैसला भएको हो। जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासबाट उक्त फैसला भएको श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए।

२०७८ साउन २१ गते राती दीपकले आफूलाई देउता आएको बाहनामा पत्नि हस्तना नेपालीको शरीरमा तातो पानी र अगुल्टोले पोलेको घटनामा जिल्ला प्रहरी कार्यालय दैलेखमा साउन २२ गते पीडित पक्षले दिएको उजुरीका आधारमा प्रहरीले साउन २२ गते नै पक्राउ गरेको थियो।

दैलेख जिल्ला अस्पतालमा तीन साता उपचार गरिएको पीडितको स्वास्थ्य अवस्था र निरन्तर घरेलु हिंसा हुँदै शरीर पोल्नेसम्मको घटना गराएको भन्ने प्रहरी अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले दैलेख जिल्ला अदालतमा २०७८ भदौ १६ गते ज्यान मार्ने उद्योगको अभियोग पेश गरेको थियो।

अभियोग सम्बन्धमा भदौ १६ गते नै भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट दिपकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो। शुक्रबार भएको फैसलाबारे पीडितको राहत र न्याय अनुभूतीमा राम्रो काम गरेको जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले बताए।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन एक जना घरेलु हिंसा पीडितले न्याय पाएकोमा आफूलाई खुशी लागेको कानूनी सहायता र उपचारमा सघाउँ पुर्‍याएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको महिला तथा बालबालिका सेवा केन्द्र, बाल हेल्पलाइन १०९८ का संयोजक रमा श्रेष्ठ बताउँछिन्।

हस्तना अहिले तीन वर्षकी छोरी मीना र ८ महिनाकी छोरी लक्ष्मीसहित माइतीघर ठाँटीकाँध गाउँपालिका–३ बिसालामा बस्तै आएकी छिन्। फैसलाको जानकारी पाएपछि सोचे जस्तै धेरै सजाय नभए पनि कसूर ठहर गरेकोमा खुसी लागेको हस्तनाले बताइन्।अन्रपुर्ण पाेष्टबाट साबार ।

चर्चामा

सम्बन्धित समाचार