शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • मायाप्रेमको वियोगान्त कथा-“पच्चीस गते”

मायाप्रेमको वियोगान्त कथा-“पच्चीस गते”

  • आइतवार, कार्तिक १४, २०७८
मायाप्रेमको वियोगान्त कथा-“पच्चीस गते”

मैयाँ पढ्दै छ। बिएडमा। गुञ्जन गैरसरकारी सँस्थामा काम गर्दागर्दै कार्यक्रम समयावधी सकिएर बेरोजगार भएको एक वर्ष भयो। र ऊ अर्को सँस्थामा नाम निकालेर सदरमुकाम आएको छ आज गाउँबाट। बेलुकीको समय खाना खाइसकेर सानो खटियामा बसेका छन्, मैयाँ र गुञ्जन। आज दुवै जना खुसी छन्। हराएको चिज पाए जस्तो भान छ दुवैमा। नहोस् पनि कसरी? मैयाँ र गुञ्जनको भेट लामो समयको अन्तरालमा भएको छ। यी दुवै जना प्रेममा डुबेका छन्, चारपाँच वर्ष पहिले देखि। निकै उत्सुक र कौतुहल मुद्रामा छन् आज उनीहरू। आज कोठामा अरु कोही छैनन्। मैयाँका भदया/भदै घर गएका छन्। दाजु कामको सिलसिलामा काठमाडौं। कोही नभएको मौकामा गुञ्जन आफ्नै प्रेमीकासँग ढुक्क बस्न पाएको छ कोठामा।
लिईसो, हजुरले जागिर पाएको उपलक्ष्यमा यो उपहार। अब डायरी किन्नु पर्दैन। विशेष कुरा यसैमा लेखे हुन्छ। म आज निकै खुसी छु लामो समयपछि फेरि जागिर पाइसेकोमा। निकै उत्साहित हुँदै मैयाँ बोली।
खुबै सरकारी जागिरमा नाम निकाले जस्तो, डायरी त सँस्थाले दिइहाल्थ्यो नि! भै’गो पर्दैन…
त्यस्तो होइन। मैले खुसीमा पो दिएकी हुँ हजुरलाई। उपहार हो जस्तोसुकै भएपनि स्वीकार्य होस्। गुञ्जनको कुरो काट्दै मैयाँ बोली।
हस्, हुन्छ देऊ। आफ्नो मनमुटुमा बसेको मान्छेले दिएको विषै स्वीकार्छु भने यो झन किन नस्वीकार्नु मैले? बरु यही डायरीमा हाम्रो प्रेम कहानी लेख्छु है? जुन कहानी अमर बनोस्। दुनियाँले पढोस् हाम्रो कहानी। मुस्कुराउँदै गुञ्जनले कालो रङको गाता भएको डायरी समात्दै बोल्यो। पहिला डायरीमा त्यसपछि मैँयाको गालामा एक-एक चुम्मा दियो गुञ्जनले।
मैयाँको अनुहार नै बदलियो। एक चुम्माले थप चमक दियो। एकअर्कालाई हेर्दै दुवै जना हाँसेर अंगालोमा बाँधिए ।
अनि कति वर्षको कार्यक्रम रहेछ सँस्थाको?
तीन वर्ष मात्र ।
सेवा सुविधा के-कस्तो छ….
सबै राम्रो छ। बेसिक स्यालरी, फिल्ड भत्ता,रिचार्ज सबै गरेर चालीस नाग्छ कि ! नियुक्ति पत्र आए तिम्रै हातमा हुनेछ।
ए ए ……..,मैयाँ सोचमग्न भइ।
के सोचेकि? लाटी टोलायौ त?
हाम्रो बारे सबैले थाहा पाइसकेका छन्। दाजुलेपनि सोध्दै होइसिन्थ्यो अस्ति। मैले त केही भन्नै सकिन। विएड पासपछि बिहे सोचुला भनेक छु। कोमल हातले गुञ्जनका खस्रा गाला सुमसुम्याउदै बोली मैयाँ। विचरा गुञ्जन चिसो याममा गाउँघरको कामले गर्दा फुस्रो र खस्रो शरीरमा आएको छ।
ठिक त भनिछौ तिमीले। यो उमेरमा दादाले तिम्रो चिन्ता गर्नु राम्रो हो। हुर्किएकी बहिनी नबिग्रीउन् भन्ने सोच होला।
त्यो त हो। तर….मैयाँ अंगालोमा कसिदै बोली ।
के तर? झर्किएर गुञ्जन बोल्यो।
दाजुले मलाई अन्तै दिइसियो भने…। मैयाँ।
जाने नि पोइला। मैयाँको निधारमा ओठ जोड्दै गुञ्जन बोल्यो।
म त यो सिउँदोमा हजुरको बाहेक कसैको सिंदुर भर्ने छैन कस्सम! बरु यसै बस्न किन नपरोस्।
धत्, यति पढेले खेकाले पनि यस्तो कुरा गर्ने होर? समयले हामीलाई अलग गरिहालेपनि मन बुझाउनु पर्छ लाटी। भनिन्छ नि “पाउनु मात्रै माया होइन, गुमाउनु पनि माया नै हो।” पहिला तिमी आफ्नो काम पूरा गर। पछिको कुरा पछि सोचौंला। मैले अहिले नै बिहेको बारे सोचेको छैन। तर, तिमी मात्र मेरी हौ र मेरी नै रहनेछौ।
हस्, मेलो राजा ।
बरु सुतौं। भोलि बिहानै हाकिमलाई भेट्नु छ ।

मैयाँले विएड पास गरि। राम्रै अंक ल्याएर। गुञ्जन सँस्थाको हाकिम भयो। समय राम्रै बित्दै थियो। गुञ्जन र मैयाँले बिहे गर्ने तयारी गर्दै थिए। अब छिट्टै बिहे हुनेवाला थियो यो जोडीको। तर, मैयाँको हात मगनीको लागि तराईबाट खबर आएछ। केटा सरकारी जागिरे अरे। तराई भने त दाजु हुरुक्कै। बहिनीको लागि राम्रै कुरो आएको। सरकारी जागिरे केटो, तराईको बसाई, खानदानपनि राम्रो। मैयाँको घरमा सबै फुरुङ्ग। बहिनीलाई नसोधी हात दिएछन् तराईवासीलाई। अब मैयाँ निकै धर्म संकटमा परी। गुञ्जनलाई भने तनाब बढ्यो। अहिलेसम्म इमानदारी बनी र पढी मैयाँले। गुञ्जनले मैयाँको हात मागेरै बिहे गर्ने बिचार गरेको थियो। अफसोच अब ढिलो भइसकेको थियो। केही वर्षपहिले गुञ्जनले भनेको उखान “…….गुमानु पनि माया हो” सत्य साबित भयो।
मैयाँ…,मलाई अझै याद छ राति-राति सानो खटीयामा म, तिमी, भदै नानी र भदया बाबु बसेर चोर पुलिस खेल खेलेको। मलाई लाग्थ्यो चोर पुलिस खेलमा तिमीलाई रानीको चिट्ठा परोस् र मलाई राजाको। सोचेजस्तो चिट्ठापनि कहिल्यै परेन। बरु तिमीलाई राजा मलाई रानी धेरै पल्ट पर्थ्यो। जो भाग्यमा लेखेकै छैन भने त्यो खेल खेल्दापनि चिट्ठामा नपर्दो रहेछ….सायद अब यो नै हाम्रो अन्तिम भेट हो । तिम्रो खुसी मेरो खुसी हो। जाऊ तराई नै। बिहे गर। त्यहाँ तिमीलाई आनन्द हुन्छ। अब यस्तो लाग्न थालिसक्यो म आज आफ्नै श्रीमतीलाई अन्माएर पठाउँदैछु अर्काको साथ। तिमीलाई सुख मिल्छ भने म सम्हालिएर बाँच्न सक्छु तिमी बिनापनि। मैयाँको हात मुसार्दै र रुदै बोल्यो गुञ्जन।
…….,मैयाँपनि रुन थाली सुक्क…सुक्क…।
मैयाँ मेरो चिन्ता नगर। मैले तिमीसँग, तिमीले मसँग जिउने जीवन जिइसकेका छौँ, यत्रो दस-दस वर्ष मायाजालमा परेर। अब तिम्रो बिहेपनि फिक्स भइसक्यो। पच्चीस गते मंसिर। भगाएर लैजाउँ भनेपनि तिम्रो माइतीको इज्जतको सवाल छ। नभागौं हाम्रो माया अधुरो….।
हजुर बिना म कसरी रहन सक्छु? प्लिज केही त गरिसो? बरु कतै एकान्तमा जाऔँ भागेर…
मैयाँ यसो नगरौं। झन समस्या हुन्छ। कमसेकम घरको इज्जतको लागि भएपनि सोचौं प्लिज..मैयाँ।
ठिक छ। हजुरलाई मभन्दा घरको इज्जत ठूलो भयो भने मेरो भन्नुपनि केही छैन। हजुरको यस्तै गवार सोचाइले गर्दा त हो, हामी छुटेर बस्नुपर्ने अब। परेलीका डिल छाड्न लागेका आँसुका ढिका पुछ्दै निकै कड्किएर बोली मैयाँ।
मैयाँ….म अवाक छु। मजबुर छु। तिम्रो माइतीको इज्जत र प्रतिष्ठाको लागि। हो म गाउँले हुँ। गवार छु। सोचेको थिएँ तिम्रो दाजुले हाम्रो कुरा बुझ्नुहुन्छ। तर, भइदियो ठिक उल्टो म के गरुँ मैयाँ म के गरुँ? सपना त तिमीसँगै जिउने मर्ने देखेको थिएँ। मेरो भाग्य नै खोटो छ। धिक्कार छ मेरो भाग्यलाई।
धिक्कार छ मेरो भाग्यलाई। कारुणिक क्रन्दनमा टाउकोमा हातले हिर्काउदै बोल्यो गुञ्जन।
अब पश्चातापको रापमा जलेर केही हुन्न। पुर्पुरोमा ठोकेर, भाग्यलाई धिक्कारेर केही हुनेवाला छैन। बरु हजुर पनि केटी खोजिसो बिहे गरि…
अँ.. त्यति सजिलो छ केटी खोज्नलाई? तिमीलाई पाउन कति संघर्ष गर्नु पर्यो थाहा होला नि! भै’गो म बिस्तारै सोचुला। मेरो चिन्ता नगर। बिहेको अग्रिम शु..भ…काम….ना! के थाहा पछि भन्न पाइएला नपाइएला। भक्कानिदै गुञ्जन बोल्यो।
मैयाँ घोप्टो परेर खुब रोइरही।
मंसिर पच्चीस गते । बिहेको दिन बधाई दिन भनेर गुञ्जनले फोन गर्यो तर, फोन ब्यस्त छ भन्छ कारण मैयाँले गुञ्जनको नम्बर कालो सूचीमा राखेकी थिइ सदाका लागी। धुमधाम भयो बिहे मैयाँको। नयाँ घरबार जमाइ तराईको राम्रो कुल खानदानको केटासँग। मुटुमाथी ढुङ्गा राखेर सम्हालिन बाध्य भयो गुञ्जन। अबको बाँकी जीवन मैयाँकै याद, सम्झना र अतीत सम्झिएर बाँच्ने प्रणय गरेर कुमारै बस्ने निर्णय गर्यो सधैंका लागि गुञ्जनले।

चर्चामा

सम्बन्धित समाचार