शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • थलारा पहिरो पीडितको बिलौना: हेलिकप्टर बाट आकासमा उड्दैँ समस्या समाधान हुदैँन

थलारा पहिरो पीडितको बिलौना: हेलिकप्टर बाट आकासमा उड्दैँ समस्या समाधान हुदैँन

  • शुक्रबार, कार्तिक ५, २०७८
थलारा पहिरो पीडितको बिलौना: हेलिकप्टर बाट आकासमा उड्दैँ समस्या समाधान हुदैँन

अर्थ जङ्ग शाही/बझाङ — प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबानले निम्त्याएको क्षति निरीक्षणका लागि सुदूरपश्चिमका प्रभावित जिल्ला पुगे ।

देउवा बझाङस्थित थलारा गााउँपालिकाको डिक्ला पनि जाने कार्यक्रम थियो । सोहीअनुसार स्थानीय रेडियोले प्रधानमन्त्री आउन लागेको जनाए । जसका कारण स्थानीयहरू प्रधानमन्त्रीलाई आफ्नो बेदना सुनाउने तयारीमा लगे ।

तर, निरीक्षणका लागि आएको देउवासहितको टोली पहिरो प्रभावित क्षेत्र थलाराको डिक्लाको निरीक्षण नगरी बैतडीको बाढी प्रभावित क्षेत्र सिगास गाँउपालिकाको ढुङ्गाड पुग्यो ।

काठमाडौंबाट सुर्खेत हुँदै डोटी, बझाङ, बैतडी, देउवाको गृहजिल्ला डडेल्धुरा, कञ्चनपुरमा बाढीपहिरो र डुबानले पुर्‍याएको क्षति निरीक्षण गरी देउवा नेतृत्वको टोली बेलुकी धनगढी फर्कने कार्यतालिका थियो ।

निरीक्षणका लागि तय भएको तालिकाअनुसार देउवाले सुरुमा डोटीमा जनप्रतिनिधि र स्थानीयसँग बाढी, पहिरो र डुबानबाट भएको क्षतिको बारेमा जानकारी लिए । डोटीपछि बझाङको सदरमुकाम चैनपुरमा सुरक्षा निकायसँग ब्रिफिङ लिएर बाढीले मानवीय क्षति गरेको क्षेत्र थलारा गााउँपालिकाको डिक्ला जाने कार्यक्रम थियो ।

प्रधानमन्त्री थलारा आउने भनेपछि आफ्नो पीडा सुनाउन पहिरो पीडितहरू त्रिभुवन मावि महेन्द्रधारमा पर्खेर बसे । गाँउमाथि हेलिकोप्टर आउँदा खुसी भएका डिक्लाबासी हेलिकप्टर अवतरण नभइ सिधै गएपछि भने निरास भए ।

विपद्को बेला गाँउमा आएका प्रधानमन्त्रीलाई आफ्नो पीडा सुनाउने उनीहरूको सपना अधुरै रह्यो । प्रधानमन्त्रीलाई नै आफ्नो पीडा सुनाउने इच्छा पूरा नभएको उनीहरू बताउँछन् ।

प्रधानमन्त्री आउने भनेपछि बिहानैदेखि कुरेर बसेको तर नआउँदा दुःख लागेको डिक्लाका नरे पार्की बताउँछन् । ‘बिहानै रेडियोमा प्रधानमन्त्री थलारा आउँछन् भन्ने समाचार सुनेको थिएँ । पहिरोमा सबै थोक गुम्यो । आमा, श्रीमती र तीन छोराछोरी गुमाएँ,’ पार्की भन्छन्, ‘चैनपुरमा जिल्लाका प्रमुखसँग छलफल गरेर थलारा आउँछन् भनेका थिए । सबै थोक गुमिसक्यो । आफ्ना दुःख सुनाउँला सोचेको थिएँ । तर, आएनन् ।’

प्रधानमन्त्रीलाई नै दुःख सुनाउन पाए केही राहत र क्षतिपूर्ति पाइन्छ कि भन्ने आशा लागेको उनी बताउँछन् । ‘तर, राहात र क्षतिपूर्ति त परको कुरा हाम्रो अवस्था के छ भनेरसमेत बुझ्न आएनन् । साह्रै दुःख लाग्यो ।’

बाबुबाहेक परिवारका सबै सदस्य गुमाएका कलक सार्कीको दुःखेसो पनि उस्तै छ । उनले घरका १८ जना गुमाएका छन् । ‘हुनेखानेका लागि सबै हुँदा रैछन् हाम्रा लागि कोही पनि नभएको महसुस भयो,’ उनी भन्छन् । पहिरोले विस्थापित गरेको तीन दिन भइसक्दा पनि राहत, क्षतिपूर्ति र बस्ती स्थानान्तरणका विषयमा कसैले चासो नदेखाएको उनको भनाइ छ ।

‘प्रधानमन्त्री आएपछि सबै समस्याहरू प्रत्यक्ष राखेर समाधान हुने आशा बोकेका पीडितहरूले आफ्नो दुःख सुनाउने मौका पाएनन्,’ शान्ति मावि पाराकाट्नेका शिक्षक मदन साँउद भन्छन् ।

चर्चामा

सम्बन्धित समाचार