शनिबार, कार्तिक ६, २०७८
  • होमपेज
  • समाज
  • दसैं : पारिवारिक सम्मिलनको पर्व

दसैं : पारिवारिक सम्मिलनको पर्व

  • शुक्रबार, अशोज २९, २०७८
दसैं : पारिवारिक सम्मिलनको पर्व

चाडपर्वका सन्दर्भमा हामी समृद्ध छौँ। वर्षभरिकै लागि असङ्ख्य पर्व, अनेकौँ व्रत र उत्सवहरू उल्लेख भएको पात्रो हामी दिनहूँ पल्टाउँछौँ, हेर्छौँ। प्रत्येक तिथि कुनै न कुनै दैवीशक्तिको आराधना, उपासनाका निम्ति समर्पित छन्। सप्ताहका प्रत्येक दिनका लागि पनि अधिष्ठाता देवताको उपासना र व्रतको नियम व्यवस्थित भई परम्पराका रूपमा रहिआएको छ। केही चाड एक दिनका निम्ति हुन्छन् भने केही दुई वा सोभन्दा बढी दिनसम्म मनाइन्छन्। ज्योतिषीय कालगणनामा आधारित रहेर समयक्रममा ती पर्व आउँछन्। हामी मान्छौँ–मनाउँछौँ। र, पुनः पृथ्वीले सूर्यका वरिपरी एउटा फन्को मारुञ्जेललाई हामी ती पर्वबाट पाएको ऊर्जा, उत्साह र आनन्दलाई लिएर बीचमा पर्ने अन्य चाड मनाउँदै स्वधर्म र स्वकर्ममा समर्पित हुन्छौँ।

यसै क्रममा यस वर्ष पनि तिथिअनुसार आश्विन महिना लागेसँगै हामीले पितृपक्षमा आफ्ना दिवङ्गत माता–पिता र पुर्खालाई स्मरण गर्‍यौँ। श्रद्धाभाव निवेदन गर्दै श्राद्ध गर्‍यौँ। महालयपछि महिनाको उज्यालो पक्ष आरम्भ भयो। र, सँगसँगै सुरु भयो मालश्रीको सुमधुर धुन। गाउँ–गाउँमा, मन्दिर र शक्तिपीठहरूमा ईश्वरीय शक्तिलाई देवीको रूपमा, नारीशक्तिका रूपमा आराधना गर्ने पावन नवरात्र पर्व आरम्भ भयो। नौवटा अहोरात्रभरी देवीका विविध रूपको उपासना गरेपछि नेपाली मन–आगन विजयादशमीका निम्ति सुसज्जित भइसकेको छ।

विजयादशमीको मौलिक नेपाली स्वरूप
वर्षभरी चारवटा नवरात्र मनाइन्छन्। हामीले चाहिँ प्रत्यक्ष चिनेका दुईवटा नवरात्रलाई मुख्य रूपमा मनाउने गरेका छौँ। एउटा चैत्रमा ‘वासन्तिक नवरात्र’ र अर्को आश्विनमा ‘शारदीय नवरात्र’। नवीन संवत्सर आरम्भसँगै सुरु हुने वासन्तिक नवरात्रका विशेषता हुन् चैत्रशुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ र नवमीका दिन श्रीरामनवमी। यी पर्व विश्वभरी नै छरिएका हिन्दूहरूले उल्लासपूर्वक मनाउने गरेका छन्।

शारदीय नवरात्र पनि वैश्विक पर्व नै बनिसकेको छ। विश्वमा जहाँजहाँ हिन्दूहरू उपस्थित छन्, कुनै न कुनै रूपमा नवरात्र मनाउँछन्। कतै नौ दिनपर्यन्त नियमपूर्वक व्रत बस्ने परम्पराले विशेषता पाएको छ भने कतै उल्लासमय उत्सव, नृत्य, पूजन आदिले। कतिपय ठाउँमा ऋतुअनुसारका परिकार पनि पर्वसँग जोडिएका हुन्छन्।

नेपाली जनमानसका लागि दसैँ उपासना र उत्सवको मिश्रणका रूपमा आउँछ। यसलाई नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाडका रूपमा गणना गरिन्छ। बडादसैँ पनि भनिने यस पर्वमा दुर्गा भवानीको पूजन मुख्य कृत्य हो भने दशमी तिथिबाट पूर्णिमापर्यन्त मान्यजनबाट टीका र जमरा ग्रहण गर्नु प्रमुख विशेषता हो।

मुख्यतः घटस्थापनाका दिन शक्तिपीठ, स्थानीय मठ–मन्दिर अथवा घरमै पनि शुद्ध माटोमा जौ र विविध धान्य रोपण गरी जमरा राख्ने प्रचलन विशेषतः हामी नेपालीहरूमा रहेको छ। यद्यपि, भारतवर्षमा अन्यत्र पनि यवरोपणम् भनी ‘जयन्ती’ मार्ने परम्परा पाइन्छ। तर, त्यो विजयादशमीका दिन गरिने अपराजिता पूजा एवं दुर्गा विसर्जनसम्म मात्र सीमित रहेको देखिन्छ। अर्थात् जसरी हामी नेपालीहरू नौ दिनसम्म अँध्यारोमा उमारी पूजन गरिएको जयन्तीलाई दसैँका दिन दुर्गा भवानीको प्रसादका रूपमा शिरोधार्य गर्दछौँ त्यसरी हिन्दूधर्मावलम्बीमै पनि अन्य कुनै समुदायले गरेको पाइन्न।

टीकाको नेपालीपन
जमरासँगै दसैँको विशेषता टीका पनि हो। रातो अबिर र दहीमा मुछिएको अक्षता होस् अथवा सेतै अक्षता— दसैँको आशीर्वादका रूपमा निधारमा टीका लगाउने परम्परा विशुद्ध नेपाली हो। यस्तो परम्परा अन्य कुनै पनि समुदायमा देखापर्दैन अथवा भए पनि गौण छ। दशमीमा सुरु भएको टीका–जमरा र आशीर्वादको क्रमले शरद् पूर्णिमासम्म निरन्तरता पाउँछ।

पारिवारिक सम्मिलनको पर्व
‘मातृदेवो भव, पितृदेवो भव, आचार्य देवो भव’ इत्यादि भन्दै उपनिषद्ले निर्देश दिएका छन्— माता–पिता एवं गुरुजन र अतिथि समेतलाई देवस्वरूप ठानी पूजा गर्नू। उपनिषद्को यो उपदेशलाई नेपाली समाजले मानौँ अक्षरशः शिरोधार्य गरेको छ। ती मान्यजनलाई सम्मान गर्नु नित्यकर्म नै हो, तथापि विजयादशमी यसका निम्ति एउटा निमित्त पनि बनेको छ। वर्षभरिको व्यस्ततालाई केही दिन विश्राम दिएर, दसैँमा हामी आफ्ना मान्यजनको दर्शनका लागि उनीहरू भएको ठाउँमै पुग्छौँ। श्रद्धा र प्रेमको प्रतीक केही कोसेली पुर्‍याउँछौँ। हँसिलो मुहार लिएर टीका र जमरासहित मायाले भिजेको आशीष् थाप्छौँ। सम्मान र स्नेहको यो आदान–प्रदान औपचारिकता मात्र होइन, यसमा हाम्रो मन जोडिएको हुन्छ।

दायित्वको गह्रौँ भारी बोकेर घर–परिवारको आवश्यकता पूरा गर्न कतिपय परिजन टाढिएर बस्न बाध्य हुन्छन्। तर, वर्षभरिमा दसैँ नै त्यो अवसर बन्दछ जब ती परिजन पनि घर आउँछन्। चारो बटुल्न उडेकी चरी गुँडमा फर्किएझैँ व्यवसायका निम्ति परपर पुगेका घरका सदस्य घर फर्किन्छन्।

एकल परिवारको अवधारणाले अहिले आफ्नो जरा राम्रै गरी गाडिसकेको छ। ‘सानो परिवार, सुखी परिवार’ भन्ने धारणा बोकेर कतिपय दम्पति आफ्ना बालबालिकालाई लिएर ‘मूलघर’बाट टाढा बस्न रुचाउँछन्। कतिपयका लागि यो बाध्यता पनि हो। यता, आफ्नो जीवनको ऊर्जाशील समय गाउँमै व्यतित गरेका घरका ज्येष्ठ सदस्य भने आफ्नै घरको तुलसी मोठतिर सिरानी पारेर प्राण जाओस् भन्ने भाव मनमा राखी गाउँघरमै बस्दैआएका हुन्छन्। स्थिति कस्तो बनिदिन्छ भने, झाँगिएका ती वर–पीपलको शीतल आश्रयबाट परिवारका नवीन पुस्ता चाहिँ वञ्चित भइरहेका हुन्छन्। जे जस्तो परिस्थितिका कारणले भए पनि टाढिएर बस्न बाध्य भएका ती नाति–नातिनाले आफ्ना हजुरबुवा–हजुरआमाको माया पाउन पनि दसैँ नै कुर्नुपरेको पाइन्छ। दसैँको शारदीय याममा कुलका गौरव र कुलाका सौरभ दुबैको सुखद् सम्मिलन हुने गर्दछ। यसर्थ, दसैँ नियास्रो मेट्ने अवसर बनेर पनि आएको हुन्छ अधिकांश नेपाली जीवनमा। भौतिक तथा मानसिक रूपमा नजिक रहँदा उत्पन्न हुने आत्मीयताको सुदृढ जगमा नै मायाको त्यो सबल खाँबो ठड्याउन सजिलो हुन्छ जसका भरमा परिवाररूपी भवनको निर्माण मनःपूर्वक गर्न सकियोस्।

दसैँ, आफन्तबीच चिनजान बढाउने सुअवसर पनि हो। वंशज र वैवाहिक सम्बन्धका कारण जोडिएका नातागोतासम्म पुग्ने, सद्भाव आदानप्रदान गर्ने अवसरका रूपमा दसैँको भूमिका महत्त्वपूर्ण रहेको देखिन्छ। यस स्वर्णिम समयमा ध्यान दिनै पर्ने कुरा चाहिँ के छ भने हामीले आफ्ना बालबालिकालाई सम्बन्धको चिनारी (यथा— काका–काकी, मामा–माइजु, फुपू–फुपाजु, सानिमा–सानाबा आदि भनेर) नेपाली अथवा आफ्नो मातृभाषामै दिनसके सुनमा सुगन्ध थपिने छ।

उपसंहार
चाडपर्वलाई सामूहिक रूपमा मनाउने परम्परा नौलो होइन। कयौँ पर्वलाई पारिवारिक जमघटको अवसरका रूपमा पनि हामीले हाम्रा अग्रज, हाम्रा पूर्वजबाट सांस्कृतिक सम्पदाकै रूपमा पाएका छौँ। परिवारको महत्त्व दर्शाउन, पारिवारिक सम्बन्धलाई दृढता प्रदान गर्न र सम्मान, स्नेह एवं आशीर्वादको क्रमलाई निरन्तरता प्रदान गर्नमा यस्ता पर्व सहायक सिद्ध भइआएका छन्। हस्तान्तरणको यो क्रम यथावत चलिरहेको छ। हामीले पायौँ, र हामीभन्दा पछिका पुस्तालाई हामी सुम्पँदै पनि छौँ। यद्यपि, के मनाउने, कसरी मनाउने मात्र नभएर हामीले ती पर्व र परम्पराको जरा, तिनको उद्भव र विकासको क्रम पनि चिनाउन–जनाउन सके त्यसको फलश्रुति झनै उन्नत, झनै सुखद् बन्नेछ। यसतर्फ पनि हामीले ध्यान दिन आवश्यक छ। दसैँ यस्तै सुखद् पर्व हो।

दसैँ समस्त नेपालीहरूको महान चाड हो। यसको गरिमा र महिमालाई मनमा राखी हामीले यसलाई मनाउनुपर्छ। यो उत्सव हो। हामीले मनाउने उत्सवले हामीलाई हाम्रो ‘उत्स’, हाम्रो मूल उद्गमसँग जोड्ने गर्दछन्। हामीले कति सजग बनेर मनाउँछौँ त्यसैमा भरपर्दछ। हाम्रा धार्मिक–सांस्कृतिक एवं सामाजिक महत्त्वका चाड–पर्व मनाइँरहँदा ती पर्वले दिने सन्देशलाई ऊर्जाका रूपमा आत्मसात् गर्न सकिरहेका छौँ वा छैनौँ त्यसतर्फ पनि हाम्रो ध्यान जान आवश्यक छ। उत्सवप्रिय हामीले दसैँ–तिहार आदि सबै पर्व यस्ता सुकर्म गरी मनाऔँ जसले यी चाड–पर्वको महत्ताले विस्तार पाओस् र यिनको गरिमामा आँच नआओस्। श्रद्धा–भक्तिसँगै सद्भावको सौन्दर्य सर्वत्र छाओस्।

बडादसैँ सबैका निम्ति प्रेरक, सुखद् र मङ्गलमय बनोस्। साभार अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार