शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • बढ्न थाल्यो पर्यटकीय चहलपहल

बढ्न थाल्यो पर्यटकीय चहलपहल

नियामक निकाय भने अन्यौलमा

  • बिहिबार, साउन १४, २०७८
बढ्न थाल्यो पर्यटकीय चहलपहल

काठमाडौं — मंगलबारबाट चितवनको सौराहामा जंगल सफारी खुला भएको छ । सौराहामा अब हात्ती, जिप सफारीसँगै डुंगा शयर पनि खुलेको छ । यी सेवा मध्य वैशाखबाट बन्द भएका थिए ।

त्यही बेला बन्द भएको पोखराको फेवातालमा गत साताबाट डुंगा संचालन शुरु भएको छ । आधा मात्र यात्रु राखेर डुंगामा सामाजिक दूरी कायम गर्न भनिएको छ ।

नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा)का अध्यक्ष अच्युत गुरागाई देशभरका राष्ट्रिय निकुन्ज पर्यटकको लागि खुला भएको बताउँछन् । उनका अनुसार, पदयात्रा र हिमाल आरोहणमा स्थानीय तहहरुको प्रतिबन्ध पनि हटेको छ । ‘आन्तरिक पर्यटकीय गतिविधि चलायमान हुन थालेको छ’, गुरागाई भन्छन् ।

सरकारले निषेधाज्ञा खुकुलो पार्दै लगेपनि क्वारेन्टिन बाहेकको प्रयोजनमा होटेल-रेष्टुरेन्ट खुला गर्ने निर्णय गरेको छैन । र पनि, बिदाका दिन राजधानी आसपासका होटेल-रेष्टुरेन्टमा पाहुना भरिभराउ हुन थालेको छ ।

होटेल संघ नेपाल (हान)का सदस्य युवराज श्रेष्ठ उपत्यका नजिकका गन्तव्यहरुमा सम्बन्धित स्थानीय तहहरुको समेत सहजिकरणमा व्यवसायिक चहलपहल बढेको बताउँछन् । उपत्यकाका होटेलहरु भने सुनसान छन् ।

कोरोना महामारीको पहिलो र दोस्रो लहरले नराम्रोसँग थला पारेको आतिथ्य उद्योग धरासायी हुन लागेकोले पनि स्थानीय तहहरुले अवरोध हटाउन थालेका छन् । पर्यटन विभागका अनुसार यो वर्षायाममा घ्युन हिमाल (प्रथम) आरोहण गर्न पनि एक टोलीका चार जनाले अनुमति पाएका छन् ।

होमस्टेले थाले सेवा

होमस्टेहरुले घोषित रुपमै पाहुना राख्न थालेका छन् । काभ्रेको वेथानचोकस्थित माउण्ट महाभारत होमस्टे एण्ड रिट्रीटले साउन १७ गते सेवा खोल्ने जनाएको छ । यो होमस्टेले खोप लगाएका वा पीसीआर रिर्पोट नेगेटिभ भएका पाहुनालाई बिलमा १० प्रतिशत छुटसहित स्वागत गर्ने नीति लिएको छ।

नगरकोट सामुदायिक होमस्टले पनि सेवा सुचारु गरेको छ । कोरोना भाइरसको सम्भावित प्रसार रोक्न आवश्यक सबै सुरक्षा सावधानी अपनाएर सेवा खुला गरेको होमस्टेका अध्यक्ष सुरज बास्तोलाले बताए ।

यातायात सुरु हुँदा अन्य व्यावसायलाई सहज हुन थालेको छ । सरकारले हवाई यातायात पूर्ण क्षमतामा खुला गरेको छ । विमान कम्पनीहरुले टिकटको मूल्य घटाएर यात्रु आकर्षित गर्न थालेका छन् ।

यति एयरलाइन्सले आफ्नो मोवाइल एप र वेवसाइटबाट टिकट काट्दा प्रोमो कोड प्रयोग गर्दा सस्तो टिकट पाइने ‘यति सस्तो अफर’ जारी राखेको छ । काठमाडौं-पोखरा, काठमाडौं-सिमरा, काठमाडौं-विराटनगर, काठमाडौं-नेपालगन्ज र काठमाडौं-भद्रपुर रुटमा लागू यो अफर १६ साउनसम्म रहने कम्पनीले जनाएको छ ।

अन्य विमान कम्पनीहरुको पनि यात्रु आकर्षित गर्ने आ-आफ्नै प्याकेज छन् । यस्ता अफरले आन्तरिक पर्यटन बजारमा चहलपहल बढाउन सहयोग गरेको छ ।

खोप बढाउन माग

नाट्टाका अध्यक्ष गुरागाई अब सरकारले पर्यटन व्यवसायी र कर्मचारीलाई प्राथमिकतामा राखेर खोप दिनुपर्ने बताउँछन् । यसले आन्तरिक मात्र नभएर बाहृय बजारमा समेत नेपाल सुरक्षित रहेको सन्देश जाने उनको भनाइ छ । उनी भन्छन्, ‘नेपाल सुरक्षित रहेको सन्देशले पर्यटन व्यावसायमा तरंग ल्याउँछ ।’

वर्षायाममा नेपालमा पर्यटन व्यवसाय सुस्त नै हुने गरेको थियो । त्यसकारण व्यवसायीले यो बेला धेरै अपेक्षा गरेका छैनन् । अहिले व्यवसाय सञ्चालनमै राखेर नेपालमा पर्यटन खुला भएको सन्देश दिनु नै महत्वपूर्ण हुने गुरागाईं बताउँछन् ।

उनका अनुसार, खोप अभियान तीव्र बनाएका यूरोप र अमेरिकी मुलुकहरुले पर्यटक आकर्षित गर्न थालिसकेका छन् । अब नेपालले पनि यस्तो सन्देश प्रवाह गर्न थाल्नुपर्ने गुरागाईं बताउँछन् ।

व्यवसायीको माग र दबाबकाबीच नियामक निकायमा भने आगामी दिनमा पर्यटन क्षेत्र कसरी अगाडि बढ्छ भन्नेमा अन्यौल नै छ । पर्यटन मन्त्रालय नेतृत्वविहीन छ ।

आर्थिक वर्ष २०७८/७९ शुरु भएको १३ दिन नाघिसक्दा नेपाल पर्यटन बोर्डले बजेट बनाउन सकेको छैन । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. धनन्जय रेग्मी आगामी आवको बजेट र कार्यक्रम कस्तो आउँदैछ भनेर ठ्याक्कै भन्न सकिने अवस्था नरहेको बताउँछन् ।

चर्चामा

सम्बन्धित समाचार