शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • मकैबारीमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

मकैबारीमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

  • बुधबार, बैशाख २२, २०७८
मकैबारीमा मृत भेटिएकी महिलाको पहिचान खुल्यो

२२ वैशाख, विराटनगर — मोरङको रतुवामाई नगरपालिका– ६ स्थित मकैबारीमा मृत अवस्थामा भेटिएकी महिलाको पहिचान खुलेको छ । आइतबार अर्धनग्न अवस्थामा मृत भेटिएकी महिलाको मंगलबार पहिचान खुलेको हो ।

मृतक महिला मोरङ कानेपोखरी–१ होक्लाबारी घर भएकी ३२ वर्षीय सरिता सोरेन रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

उनका अनुसार बुवा धनुस सोरेनले छोरीको सनाखत गर्दै शव बुझेर लगेका छन् । ‘मृतक महिलाको पहिचान खुलेको छ, बुवाले सनाखत गरे,’ डिएसपी राईले भने, ‘पोष्टमार्टम रिपोर्टपछि थप विषय खुल्छ, अनुसन्धान जारी छ ।’

उनका अनुसार सरिताका श्रीमानको दुई वर्षअघि निधन भएको थियो । उनी कानेपोखरी गाउँपालिका–२ मा रहेको कृषि फर्ममा काम गर्थिन् । उनका एक छोरा पनि छन् ।

शुक्रबार बिहेमा जाने भन्दै उनले फर्मबाट बिदा लिएकी थिइन् । आइतबार उनको शव भेटिएको थियो । भैंसीलाई घाँस काट्न गएका स्थानीय रामप्रसाद भण्डारीले मकैबारीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

महिलामाथि बलात्कार भए/नभएको विषय पोष्टमार्टम रिपोर्ट आएपछि खुल्ने डिएसपी राईले बताए । पहेँलो कुर्ता र कालो ट्राउजर लगाएकी महिलाको घाँटी र अनुहारमा निलडाम छ । उनले लगाएको कपडा च्यातिएको र सुरुवाल पनि सुर्किएको अवस्थामा शव भेटिएको थियो । घटनास्थलमा स्क्रयाच नभएको रिचार्ज कार्ड पनि भेटिएको थियो ।

घटनाको अनुसन्धानका लागि प्रहरीले ‘ट्रयाकर डग’को प्रयोग गरेको थियो । तालिमप्राप्त कुकुर मकैबारीस्थित घटनास्थलबाट भित्री सडक हुँदै गाउँसम्म पुगेको थियो । महिलाको पहिचान खुलेका कारण थप विषय चाँडै खुल्ने डिएसपी राईले बताए ।

चर्चामा

सम्बन्धित समाचार