शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • छोरीको हत्या गरेको आरोपमा एक जनालाई जन्मकैद

छोरीको हत्या गरेको आरोपमा एक जनालाई जन्मकैद

  • बुधबार, बैशाख १५, २०७८
छोरीको हत्या गरेको आरोपमा एक जनालाई जन्मकैद

सप्तरी — छोरीको हत्या आरोपमा सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले सोमबार जन्मकैद सजायको फैसला गरेको छ।

जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।

सूचना अधिकारी बुढाथोकीका अनुसार घटनालगत्तै फरार रहेकी मृतककी आमा ४३ वर्षीया पवनदेवी बडहीको हकमा भने मुद्दा मुल्तबीमा राखिएको छ।

बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको २०७५ साल माघ १४ गते हत्या भएको आरोपमा प्रहरीले तुरन्तलाललाई ०७५ साल माघ १५ गते पक्राउ गरेको थियो। मृतकको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा घरमा भेटिएपछि इलाका प्रहरी कार्यालय कडरबोनाले तुरुन्तलाललाई पक्राउ गरेको थियो।

आमाबुबा नै आरोपित रहेको देखिएपछि घटनास्थलको अनुसन्धानपश्चात् प्रहरी प्रतिवेदनका आधारमा ०७५ साल माघ १६ गते इलाका प्रहरी कार्यालय कडरबोनाले उजूरी दर्ता गरेको थियो।

भारतमा विवाहिता दिदीका देवरसँग प्रेम गरिरहेकी सरिताले घरपरिवारले मञ्जुरी नदिए पनि प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि बुबाआमाले सरितालाई कुटपिट गरेको स्वीकारेका छन्। कुटपिट गरेको स्वीकारे पनि हत्या भने अस्वीकार गर्दै आएका छन्। जिल्ला अदालतको आदेशमा आरोपित तुरन्तलाल ०७५ साल फागुन ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।

चर्चामा

सम्बन्धित समाचार