शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • आमा र छोरीलाई पाठेघर उपहार

आमा र छोरीलाई पाठेघर उपहार

  • आइतवार, बैशाख ५, २०७८
आमा र छोरीलाई पाठेघर उपहार

अलि दिनदेखि पिसाब फेर्न गाह्रो भइरहेको थियो। छिनछिनमै च्यापिरहने। कहिलेकाहीँ त दिक्क लागेर नछुनी हुँदा लगाउने टालो राखेर बस्थेँ।

जचाउन चाहिँ गइनँ। तल शर्मिला दिदीलाई पनि त्यस्तै हुने रहेछ। शनिबार जंगल जाँदा भनिथिन्, ‘उमेर पुगेपछि हामी आइमाईलाई यस्तै हो बड्डी।’

मलाई नि लाग्यो, सबैलाई हुने भनेपछि खासै ठूलो कुरा त होइन होला।

तर ज्याद्रै हुने रहेछ। के झोलिएको हो थाहा छैन। एकपटक बसेपछि उठ्न पहाडै उचाल्याजस्तो हुने। जिउभित्र जिउभन्दा भारी केही झुन्डिएजस्तो। कसैलाई भने पनि के भन्नू! धोती सारेर सासूलाई पिसाब फेर्नी ठाउँ देखाउन मिलेन। जचाउनु पनि कसरी! अहिले स्वास्थ्य चौकी गएपछि चार वर्ष दसैं खर्च पुग्ने पैसा एकैपटक लिन्छन्।

यसै त तीन दिन भइसक्यो बिस्तारामा बहाना पारेको। बूढा दिनभर झिँजिएर बस्छन्। बिहान भात खान दिँदा, भात छाडेर मलाई खालान् जस्ता आँखा बनाउँदै थिए। यस्तो रिसमा उल्टै जचाउने पैसा त सपनामा पनि नसोचे भयो।

बरू फेरि तिनै शर्मिला दिदीलाई भन्छु भनेर सोचेँ। यस्तो यस्तो भएको भनेर सुनाएको, बूढी त, ‘ओहो! आङ खसेछ स्यानी, चुरा राखे ठीक हुन्छ रे’ पो भन्छिन्।

लौ! पिसाब फेर्ने ठाउँमा चुरा कसरी राख्नु? भित्रै फुट्यो भने? चोट लागेर भित्रैबाट रगत चुहिन थाल्यो भने?

ओहो! सम्झिँदै टाउको घुमायो। डराएँ।

डरले अप्ठ्यारोलाई सजिलो नबनाउने रहेछ। धौ हुन छाडेन। केही सीप नलागेपछि घाँस काट्न जानुअघि भान्सा गएँ। दराजभित्र राखेको निलो पोलिथिन निकालेर धोएँ। धुँदा पोलिथिनको कच्याक-कच्याक आवाजले कानैलाई अप्ठ्यारो भयो। तै पनि लिएर चर्पी गएँ।

एउटा हातले चुकुल अड्याउँदै अर्को हातले बल्लतल्ल पट्याएर पिसाब फेर्ने ठाउँमा पोलिथिन कोचिदिएँ।

चर्पीको ढोका खोलेर निक्लिँदै थिएँ, म त काठमाडौं पो आइपुगेछु! कहाँ, अस्पतालको बेडमा पो छु! छेउमा फेरि बूढा छैनन्, अर्कै मान्छे छ! डाक्टरसँग कुरा गर्दै थियो ऊ!

मेरो पाठेघरको अपरेसन भएछ! भर्खर निकालेर फाल्यो रे!

सुन्नेबित्तिकै अब डाक्टरलाई धमिलो देख्न थालेँ। पोहोर भर्खर एउटा छोरो जन्मेको थियो। कति रहर थियो अर्को साल राजकुमारी भित्र्याउने। पापीहरूले राजकुमारी बस्ने दरबार नै निकालिदिएछन्। बेडको तन्ना मुठ्ठीले तान्दै रून थालेँ।

म छट्पटाएको देखेर डाक्टरसँग उभिएको मान्छे नजिकै आयो। आएर निधारमा माया गर्‍यो। उसको अनुहार हेरेको, रिसले पेटै मिचिक्क भयो। म उसलाई हुत्याएर बेडबाट ओर्लिएर भाग्न थालेँ।

नानाथरी कुरा खेल्न लागे मनमा- अब त केही काम गर्न सक्दिनँ होला। कति चाहिँ मान्छेले टोकसेको सुन्नुपर्ने हो! अफिस पनि छुट्छ पक्का। कहिलेदेखि अफिस गएकी छैन पनि थाहा छैन। चिटचिट पसिना आउन थाल्यो।

भागेर अस्पतालको कोठा बाहिर निस्केको, अनकन्टार राति रहेछ। रातभन्दा धेरै खै के चिजले अत्यायो, म भर्खर फालेको पाठेघर सम्झिँदै बाटैबाटो कुद्न थालेँ। मानौं मेरो पाठेघर बाटोमै कतै छ, खोज्दै हिँडे भने भेटिन्छ अनि म फेरि जिउमा राख्न सकिहाल्छु। त्यसपछि त जन्मिहाल्छे मेरी राजकुमारी।

खुब दौडिएँ। घन्टौं बितेजस्तो लाग्यो अनि एकछिन बाटो छेउमै बिसाएँ। आँसु अझै सकिएका रहेनछन्। फेरि बग्न लागे। रुँदारुँदै, रुँदारुँदै निदाएछु कुन बेला। एकछिन चकमन्न रात मात्रै सुनेँ।

निदाएकै बेला कता कता शंख बज्न थाल्यो। मान्छेहरू सानो आवाजमा भन्दै थिए-

‘लक्षण अलिअलि देखिँदै थाहा पाए त व्यायाम गरे पनि निको हुन्छ रे नि त!’

‘अँ, खै के-के चरण चरण हुन्छ रे। खासमा अत्ति ढिलो गरेर हो, नत्र यस्तो हुने नै थिएन!’

केको लक्षण, के गर्न ढिलो, मैले केही बुझिनँ। तर उनीहरूको कुरा अझै सुन्न मन थियो। कान ठाडा राखेरै सुतेकी थिएँ, विस्तारै आवाज साह्रै सानो आउन थाल्यो। कसैले मलाई उठाएर लगेजस्तो। खै कता लगे, मलाई धेरैबेर हल्लाएर हिँडिरहे। अलि पर पुगेपछि रोकिएछन्, हल्लिन बन्द भयो।

एकैछिन रोकिएका के थिए, जिउ त तातो हुन थाल्यो। उठ्न खोज्छु, सक्दै सक्दिनँ। तातो झन्झन् बढ्न थाल्यो। आत्था! पोल्यो। म जुरूक्क उठेँ। आँखा खुल्यो, पोल्न हरायो। ओहो! के भयो भर्खर? के देखेँ मैले? आत्तिएर जिउ छामेँ। टिसर्ट पसिनै पसिनाले भिजेछ। सपनाको आगोले पोलेर हो यतिका पसिना निकालेको?

आधा होसमै बाथरूम गएर मुख धोएँ। पछाडि सरेर एकछिन ऐना हेर्दै पेट छुन थालेँ। बाहिरबाट पेट छामेरै पाठेघर भेट्छु जस्तो! बच्चाको रहरै नभएको मेरो शरीरले कल्पना नै नगरेको बच्चा सपनामा गुमायो। सन्तान नचाहेकै भए पनि गुमेपछि चाहिँ माया लाग्ने रहेछ। एकछिन टोलाएर बेसिनमा हात अड्याउँदै सोच्न थालेँ- मेरो त झूटो डरको पसिनाले टिसर्ट मात्रै भिज्यो। देशभरी अहिले यही डरले कति चोली, कुर्ता, ब्लाउज, टिसर्ट अनि गाला निथ्रुक्कै छन् होला?

घर त सबैलाई सुरक्षा दिने न्यानो ठाउँ हो। तर कति घरभित्रका पाठेघर साँच्चै सुरक्षित छन् होला? अब म पूरै ब्यूँझिएँ। आउनुस्, सबै सँगै ब्यूँझिऔं।

नेपालमा हरेक वर्ष लगभग तीन हजार महिलाको शरीरमा जन्मिने पाठेघरको क्यान्सरले तीमध्ये करिब दुई हजार महिलाको ज्यान लिन्छ। नेपालका महिलालाई सबभन्दा बढी सताउने क्यान्सरमै पाठेघरको क्यान्सर पहिलो नम्बरमा आउँछ। यी रोग पत्ता लागेका आमाहरू मात्र हुन्। जचाउन अप्ठ्यारो लागेर, निःशुल्क उपचार हुन्छ भन्ने थाहै नपाएर, बाटो खर्चले तर्सिएर अस्पतालसम्म जान नपाएका अरू थुप्रै आमा छन्। अनि ती आमासँग मेरो छरिएको सपनाजस्तै थुप्रै कहाली लाग्दा भोगाइ छन्, जुन सुन्दा मात्रै पनि आङ सिरिंग गर्छ।

जसरी आमा बच्चा पाउने मसिन होइनन्, त्यसरी नै पाठेघर पनि केवल सन्तानलाई बास दिने घर होइन। यो आमाहरूको शरीरको अंग हो। हामीले आमा अनि आमाको कोखबारे कुरा गरेर संसार खायौं तर यो बिर्सिएछौं कि कोख भनेको त पाठेघर नै हो। त्यही पाठेघर जो सन्तान जन्मिएर गएपछि पनि खाली हुँदैन, उल्टो थुप्रै रोगको सम्भावनाले भरिएर बस्छ।

हामीलाई जीवन उपहार दिएको पाठेघरले जब आफूले उपहारमा रोग पाउँछ, तब बदला लिन आमालाई सताउन थाल्छ।यो रोग उपहार हामीले जानीजानी दिने होइन, हाम्रो बेवास्ताले दिने हो। बनिसकेका आमा, बन्न बाँकी आमा अनि आमा बन्नै नचाहे पनि जबर्जस्ती पाठेघर पाउने छोरी, कसैको पाठेघरले रोग उपहार पाओस् भन्ने चाहना कसैको हुँदैन।

तर के नचाहेर मात्रै पुग्छ? यी पाठेघरमा आउने रोग असाध्यै प्रतिस्पर्धी अनि दौडिन खप्पिस हुन्छन्। मौका पर्खेर बसिरहेका। हाम्रो सुरक्षा र हेरचाह कम हुनेबित्तिकै एउटा न एउटा रोग उपहार बनेर कुद्दै पाठेघर पुगिहाल्छ।

त्यसैले नचाहेर मात्रै नपुग्ने रहेछ। साँच्चै पाठेघर बचाउनु छ भने, उपहारको मुखौटा लगाएर पुग्ने रोगभन्दा पहिले हाम्रा आफ्ना उपहार त्यहाँ पुग्नुपर्छ। आउनुस्, सँगै उपहार खोजौं। चाँडै मातातिर्थ औंसी आउँदैछ, आमाको मुख हेर्ने दिन।

हुन त हामी आमालाई देवी भन्दै मन्दिरको मूर्ति जसरी पुज्नेहरू हौं। मूर्ति भनेपछि आमालाई पनि आफू ढुंगाजस्तै लाग्दो हो, आमा दुखेको सबै सहिदिन्छिन्। हाम्रो पालो, ‘सहनशील आमा महान’ भन्दै झन् सहन कर लगाइदिन्छौं।

तर मान्छेलाई जन्म दिने प्राणी देवी कसरी हुन्छिन्? देवीदेवता बस्ने घर पो पशुपतिजस्तो बलियो हुन्छ, भूकम्प आए पनि बाँचिरहन्छ। मान्छे बस्ने पाठेघर त मांसपेशी अलिकति नराम्ररी हल्लिँदैमा ढलिहाल्ने रहेछ। देवी भए पो पूजा गर्दैमा सब ठीक हुन्थ्यो, मान्छेलाई त अस्पताल लानुपर्छ।

आमालाई आमा बनाउने ठाउँ हो पाठेघर। यसपालिदेखि हरेक वर्ष आमाको मुख हेर्ने दिनमा बरू आमाको पाठेघरलाई अस्पतालको मुख देखाइदिऊँ न! मिठाइ, कपडा, गहनाको साटो यो उपहार कस्तो होला? यति उपहार पाए आमाको पाठेघरमा रोग कुद्न पाउँदैन। कसैगरी कुदिरहेको रहेछ भने पनि आमालाई सताउन पाउँदैन।

आमाहरू छोरी पनि हुन्। हुन त छोरीको बिहे हुनेबित्तिकै नाति/नातिनीको हतारो लगाइदिने बाआमालाई उसको यौनसम्बन्ध पापजस्तो लाग्न नहुने हो। बिहेअघि कुनै केटा मान्छेलाई ‘चुम्बन पनि नगर्नू है’ भनेकी छोरीले बिहेकै रात कोही केटासँग ‘सुत्न’ जानोस् भन्ने आश लाग्न नहुने हो।

तर हुन नहुने धेरै कुरा हुन्छन्। बाआमालाई छोरीले बिहेअघि यौनसम्बन्ध राख्ने त के, त्यसबारे कुरै नगरिदियोस् जस्तो लाग्छ। आफूले पचाउने कुरा पचाउन सकेनन् भन्दैमा बाआमालाई पापी भन्न पनि सकिँदैन। लौ बाआमा, ठीकै छ, त्यही नै सही। तर बिहेपछि त छोरीको यौनसम्बन्ध हुन्छ। कम्तीमा यति त मान्नुहुन्छ नि है? मान्नुहुन्छ मात्रै किन, चाहनुहुन्छ।

उसो भए अब छोरीको बिहे बजेटबाट १५ हजार रूपैयाँ छुट्याइदिऊँ। बिहेको बजेट नै १५ हजार छ भने सबै खर्च यसैमा लगाइदिऊँ। लगभग १५ हजार पर्ने खोप छ एउटा, ह्युमन प्यामिलोमा भाइरसविरूद्धको खोप।

यो खोप पहिलो शारीरिक सम्बन्ध हुनुअघि वा यो भाइरस संक्रमण हुनुअगावै २६ वर्षको उमेरसम्म लगाउन मिल्छ। यति एउटा खोपले मात्रै पाठेघरको मुखमा क्यान्सर हुने खतरालाई ८० प्रतिशत घटाइदिन्छ। अर्थात्, तपाईंको घरमा सुरक्षित हुर्किएकी छोरीको पाठेघरको सुरक्षा ८० प्रतिशत बढाइदिन्छ।

आफ्नो पाठेघर बोकेर अर्काको नयाँ घर जान लागेकी छोरीलाई योभन्दा सुन्दर उपहार अरू के हुन सक्छ? ती छोरी पछि आमा बन्ने-नबन्ने, उनको रोजाइको कुरा हो। तर छोरी र आमा भएकै कारण उनको ज्यान धरापमा नपरोस्, यति याद गर्नु बाँकी सबैको कर्तव्य हो।

हुन त पहिलो कर्तव्य राज्यको हो। तर राज्यले हतार गरेन भन्दैमा कुनै छोरीको ज्यानको मूल्य त घट्दैन। अब अन्तिम र सबभन्दा उत्तम उपहार। यो उपहार हामी आफूले आफैंलाई।

आज हामी कति धेरै यस्ता छोरी छौं जोसँग आफ्ना निर्णय अनि हक, दुवैको चाबी आफैंसँग छ। चाहेको दुनियाँ देख्न, मन लागेको गर्न चेत छ अनि हातमा आफैंले कमाएको पैसा पनि। त्यही कमाइबाट सपनाको घर बनाउन बैंकमा बचत समेत भइरहेको होला। तर घरमा त भोलि बस्ने हो। भोलि बाँच्ने हो। उसो भए आफूसँग आज बाँचिरहेको पाठेघरलाई बचाउन आजै खर्च किन नगर्ने? खर्च पनि होइन, आफूमाथि लगानी किन नगर्ने? आखिर आफूलाई भोलि दुःख पर्दा अरूले दुःख देखिदिने मात्रै हुन्। सहिदिने त होइनन्।

छाला सुन्दर, सफा, स्वस्थ बनाउन कति हजार खर्चिन्छौं हामी। छाला पनि हाम्रै हो, स्वस्थ रहोस्। तर देखिने छालाभन्दा नदेखिने पाठेघर झन् चाँडै चाउरी पर्ने रहेछ। हामी आफू सुन्दर रहन पनि खर्च गर्ने पक्का, तर पहिले रहिरहन खर्च गरौं न ल!

चर्चामा

सम्बन्धित समाचार