शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • केरा व्यवसायमा रमाउँदै भट्टराई : १२ वर्षको निरन्तर प्रयासले बने सफल व्यवसायी

केरा व्यवसायमा रमाउँदै भट्टराई : १२ वर्षको निरन्तर प्रयासले बने सफल व्यवसायी

  • मङ्लबार, चैत्र २४, २०७७
केरा व्यवसायमा रमाउँदै भट्टराई : १२ वर्षको निरन्तर प्रयासले बने सफल व्यवसायी

चितवन, चैत २३ गते– रत्ननगर १४ जयमंगलाका कृषक वेदप्रसाद भट्टराई केराको व्यवसायिक खेती गर्ने चितवनका दश कृषक मध्येमा गनिनुहुन्छ । जागीरे जीवनबाट विश्राम लिएर आफ्नै व्यवसायिक यात्रामा निस्कनुभएको उहाँ १२ बर्षमा सफल व्यवसायिक कृषक बन्नुभयो ।

व्यवस्थापनमा स्नातक गर्नु भएका भट्टराईले पूर्वी नवलपरासीको गैंडाकोटमा रहेको नमूना आवासीय माविमा शिक्षण पेशा शुरु गर्नुभयो । त्यसपछि अक्सफोड कलेज, रोयल सेन्चुरी होटलको एकाउण्टेन हुँदै नर्थ प्वाइन्ट एकेडेमीमा शिक्षण एवम् व्यवस्थापन सम्हाल्दै जागिरमा राम्रै अनुभव सङ्गाल्नुभयो । जागीर राम्रै थियो । जागिरकै क्रममा आफ्नो एक विघा जमिनमा केरा खेती पनि शुरु गर्नुभयो । त्यही साइड पेशा यतिखेर उहाँको प्रमुख आम्दानीको माध्यम बनेको छ । आफ्नो बारेमा उहाँले भन्नुभयो, “हामीले नै स्थापना गरेको बोडिङ्मा म राम्रै भूमिकामा थिए, सहायक प्राचार्य र व्यवस्थापकीय भूमिकामा पनि थिएँ । सामान्यतया जागिर र कमाइ पनि राम्रै थियो । तर पनि मलाई चित्त बुझेन केही गर्नुपर्छ भन्ने लाग्यो । त्यसमा पनि नेपालमा कृषिभन्दा अन्य पेशा सहज छैन भन्ने हेतुले यही पेशा सम्हालेँ । यतिवेला म सन्तुष्ट छु ।” शुरुआतको वर्ष राम्रै आम्दानी हात लागेपछि उहाँलाई जागिरले भन्दा कृषिकर्मले आकर्षित ग-यो । उहाँ भन्नुहुन्छ, “आफुले लगाएको केरा खेती र पहिलो पल्टकै आम्दानीले मलार्ई छुट्टै प्रकारको आनन्द प्राप्त भयो । त्यसैले पनि मैले यो पेशालाई चाहेर नचाहेर पनि छोड्न सकिनँ ।”

चितवनका दश सफल केरा उत्पादक व्यवसायीमध्ये उहाँको नाम पनि आउने गरेको छ । यतिवेला आफ्नो र भाडामा लिएको जमिन गरी उहाँले २२ बिघा जमिनमा केरा खेती गर्नुभएको छ ।
जागिर छोडेर केरा खेतीतर्फ लाग्दा धेरै साथीहरुले कसैले के भन्ने कसैले के भन्ने गरेर हतोत्साहित पारेको र केही समय त दोधारमा परेको सुनाउँदै केराबारीतर्फ देखाउँदै उहाँले भन्नुभयो, “दृढ इच्छाशक्ति र लगातारको कडा मेहनतको फल हो यो ।” कृषि पेशा र जागीर भनेको फरक फरक विषय रहेछ । उहाँले त्यतिवेला आफुलाई जागिर छोडेर राम्रो गरिनस भनेर भन्नेहरु अहिले मेरो सफलता देखेर केटोले ठीकै निर्णय गरेको रहेछ भन्ने गरेको प्रसङ्ग सुनाउनुहुन्छ उहाँ । हुन त जहाँ पनि लगनशील नभइ सफलता हात लाग्दैन तर पनि कृषिकर्म प्राकृतिक विपत्तिले क्षति हुने र बन्द हड्तालले बिक्रीमा असर पार्ने व्यवसाय भएकाले पनि अरुभन्दा बढी संवेदनशील हुने उहाँको अनुभव छ । त्यसैले कृषिकर्ममा लाग्नेहरुलाई उहाँले अनुरोध गर्नुभयो, ‘राम्रो उत्पादन भयो, ब्यापार राम्रो भयो भनेर मात्तिने र उत्पादन राम्रो भएन, भएको उत्पादन पनि बिक्री गर्न सकिएन भनेर आत्तिने प्रवृत्ति सबैभन्दा घातक छ । त्यस्तो भयो भने यो व्यवसायलाई टिकाइराख्न सकिंदैन । घाटालाई पूर्ति गर्ने कुनै उपाय रहँदैन् ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र कृषि ज्ञान केन्द्रबाट प्राविधिक सहयोग, एक गाउँ एक उत्पादन जस्ता कार्यक्रमले चितवनको केरा व्यवसायले फड्को मारेको उहाँको अनुभव छ । यतिवेला आफ्नो फार्म नार्क र कृषि तथा वनविज्ञान विश्वविद्यालयको अनुसन्धान थलो जस्तै बनेको उहाँले बताउनुभयो । यसले आफूलाई सिक्ने अवसर मिलेको उहाँको भनाइ छ । पछिल्ला दिनहरुमा जमिनको खण्डीकरणको कारण यस ब्यवसायको भविस्य संकटमा पर्न थालेको बताउनुहुन्छ उहाँ ।

कृषि ज्ञान केन्द्र चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत राजन ढकालका अनुसार चितवन जिल्लामा तीन हजार दुई सय हेक्टर अर्थात चार हजार आठ सय बिघा क्षेत्रफलमा केरा खेती गरिएको छ । जिल्लाबाट बार्षिक प्रति हेक्टर २४ मेट्रिक टन केरा उत्पादन हुने गरेको छ । चितवन जिल्लामा सात सय जनाभन्दा बढी कृषकले व्यावसायिक केरा खेती गरेका छन् । चितवनको केरा काठमाण्डौं, पोखरालगायत बाग्मती र गण्डकी प्रदेशका अधिकांश शहरहरुमा पुग्ने गरेको छ । चितवनमा केरा, धान, तरकारी, माछा र माहुरीको जोन छन् ।

चर्चामा

सम्बन्धित समाचार