सोमवार, बैशाख ६, २०७८

अछामी ‘होरी’

  • आइतवार, चैत्र १५, २०७७
अछामी ‘होरी’

अछाम– रंगहरुको पर्व होलीलाई अछाममा विषेश तरिकाले मनाउने गरिन्छ। रंग, भाइचारा र सद्भावको रुपमा रहेको होली पर्वलाई अछामको महत्वपूर्ण पर्वको रुपमा पनि लिने गरिन्छ।

होरी अछामीहरुले परापूर्वकालदेखि नै मनाउँदै आएका छन्। होलीलाई यहाँको स्थानीय भाषामा ‘होरी’ भन्ने गरिन्छ। दसैं तिहारमा समेत घर नफर्किने स्थानीय यति बेला घर फर्किएर होरी खेलमा सहभागी हुने गर्दछन्।

यस अवसरमा जिल्लाका गाउँगाउँमा होरी खेल खेलिन्छ। आफन्त, इष्टमित्र, परिवारसँग सुमधुर भेटघाट हुने गर्दछ। यस क्षेत्रका बुढापाकाका अनुसार अछाममा करिब तीन सय वर्ष अघिदेखि होरी खेल्ने प्रचलनको प्रारम्भ भएको र करीब ४० वर्ष पहिले यसको पारम्पारिक गीतको लय स्थानीय जनजिब्रोमा बोलिने भाषामा गीतको रचना गरी स्थानीयकरण गरिएको थियो।

होरी खेलको पहिरन पनि विषेश प्रकारको हुन्छ। होरी खेल्ने पुरुषहरुले सेतो भोटो सहित जामा, पछाडि कुमदेखि खुट्टासम्म पुग्ने गरी पिठ्युमा एउटा सेतो चद्दर जस्तो पहिरिनु पर्छ। टाउकोमा पघरी बाध्नुपर्छ। त्यसैगरी आ–आफ्ना दिदी बहिनी, श्रीमती, आमाहरुले उनेर ल्याएका माला लगाइ दिने गर्दछन्। होरी खेल खेल्दै गर्दा बिचबाट एकजनाले लयात्मक देउडा गाउने गर्दछन् र त्यही गीतलाई खेलमा सहभागीहरुले गाउने गर्दछन्। होरी खेल प्रारम्भ गर्नुलाई ‘पैट्याउनु’ भनिन्छ।

हरेक वर्ष होरीमा देउडा गाउँदै आएका प्रभा धम्कोटका पूर्व प्रधानाध्यापक कुलबहादुर कुँवर लामो समयदेखि भेटघाट हुन नपाएका दाजुभाइ एकै ठाउमा भेला भएर भलाकुसारी गरी होरी खेल्ने गरिन्छ, त्यसैले पनि यो पर्वलाई निकै महत्वपुर्णरुपमा लिने गरेको बताउँछन्। उनले भने, ‘एक हप्ता अघिदेखि नै होरी खेल्ने गरिन्थ्यो र पुर्णिमाको दिन समापन हुन्थ्यो तर केहि वर्ष यतादेखि होरी खेल्ने प्राङ्गणमा छिटफुट रुपमा मात्र पुरुषहरु जामा लगाए खेल्न आउँछन्। पुरुषहरु जति रोजगारका लागि विदेशिएका छन् गाउँघरमा बुढापाका मात्र छन्। अबका युवाहरुले आफ्नो लोक संस्कृति जगेर्ना गर्नको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्छ।’

होरीमा गाइने देउडा रामायणबाट सुरु हुन्छ। यो खेल नेपालको चारधाम मध्येको एकधाम बैधनाथ धाममा महाशिवरात्रीको मेलाको भोलिपल्ट बिहान मन्दिरको प्राङ्गणमा देउडा खेली शुभारम्भ गर्दछन्। गाउँमा महाशिवरात्रीपछिको अष्टमीदेखि एकादशी तिथिको कुनै एकदिनमा आ–आफ्नो पट्कानीमा होरी सुरुवात गर्ने सल्लाह अनुसार खलिफाले त्यो दिनबाट बेलुका होरी खेल्ने प्राङ्गणमा बाजा ‘ढोल’ बजाउन थाल्छ। ढोल बज्न थालेछि खेल्ने र दर्शकहरु त्यहाँ भेला हुने गर्दछन्। गोलो घेरा बनाइ होरी खेल्ने गर्दछन्।

होरी खेलको उद्गम स्थल कुमाउ गढवाललाई मानिन्छ। वि.सं. १७५० को आसपासमा सोमवंशी राजा भान शाहले आफ्नी जेठी महारानीले आफ्नो माईत कुमाउ गढवालबाट राजाको तालमा होरी देउडा साथ खेलाउने जिताउरे दमाइ र होरीका गीतको वहि झिकाइ आफ्नो शितकालीन दरबार कालिमाटीगढी नजिकै रहेको प्रख्यात बैधनाथ मन्दिरको पूजा अर्चना गरी त्यहीं होरी खेल खेलाउने अभ्यास गराएका थिए। यसरी प्रारम्भ गरिएको होरी खेल हेर्न छरछिमेकका महिला पुरुष भेला भएर हेर्ने गर्थे, भने पुरुषहरु खेलमा सहभागी भइ अभ्यास गर्थे। यसप्रकार होरी खेल लोकप्रिय हुँदै बैधनाथको मन्दिर र महाराज भान शाहको दरबारको पट्कानीबाट सुरु भइ गाउँ-गाउँका पट्कानीमा पुग्यो । पछि अछामी संस्कृतिको अभिन्न अंग हुन गएको जानकार ध्वजबहादुर कुँवर बताउँछन्।

यो वर्ष भने अछाममा सामुहिक रुपमा होली खेल्न रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सामुहिक रुपमा होली खेल्न रोक लगाइएको जानकारी दिएको हो। दोस्रो चरणको कोरोना भाइरसको जोखिम बढ्दै गएकाले सामुहिक रुपमा होली खेल्न रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका अछामले जनाएको छ। तर विभिन्न गाउँ टोलमा भने सामुहिक होली खेल्ने क्रम चलिरहेको छ। पहाडी जिल्लाहरुमा फागु पुर्णिमाका दिन अर्थात आज र तराईका जिल्लामा भोलि होली मनाउने गरिन्छ। याे खबर गिता कुवरले अन्नपुर्ण पाेष्टमा लेखेकि छन् ।

चर्चामा

सम्बन्धित समाचार