शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • १६ वर्षीय छात्र दोषी ठहरिए कति हुन्छ सजाय ?

१६ वर्षीय छात्र दोषी ठहरिए कति हुन्छ सजाय ?

  • बिहिबार, फाल्गुन ६, २०७७
१६ वर्षीय छात्र दोषी ठहरिए कति हुन्छ सजाय ?

दोगडाकेदार गाउँपालिका ७ बैतडीकी १७ वर्षीय किशोरी भागरथी भट्टको हत्यामा संलग्न भनी सार्वजनिक गरिएका स्थानीय किशोर १८ वर्षभन्दा कम उमेरको पाइएको छ । यस्तो अवस्थामा के कसुरदारलाई पूरै सजाय हुन्छ त ? के अभियोग प्रमाणित भए उनी जेल जान्छन् त ? अहिले धेरैको चासोको विषय बनेको छ ।

तर आरोपितको जेल यात्राभन्दा पहिले उनको पृष्ठभूमि बुझौँ । भागरथी भट्टको बलात्कार र हत्यामा आरोपित किशोर दोगडाकेदार गाउँपालिका ७ चडेपानी गाउँकै विपन्न परिवारमा जन्मिएका व्यक्ति हुन् । उनको बुवा लामो समय भारतमा मजदुरी गरेर आफ्नो परिवार पाल्ने गर्थे । गत वर्षको लकडाउनदेखि भने उनी नेपाल फर्केर गाउँमै दैनिक ज्याला मजदुरी गरेर परिवारको पेट पालिरहेका थिए ।
आरोपित किशोर परिवारको जेठो सन्तान हुन् । दिनेशको परिवारमा बुवा, आमा, भाइ र दुईजना बहिनीहरु रहेका छन् । तर भाइ र दुबै बहिनीहरु सुस्त मनिस्थितिका छन् । काम गर्न सक्ने र पढेको व्यक्ति उनी मात्रै हुन् ।
स्थानीय विद्यालयमा रहेको लगतमा उनकोको जन्ममिति २०६१ फागुन १० गते रहेको छ । यसको मतलब दिनेश आउँदो फागुन १० गतेबाट १६ वर्ष पूरा भई १७ वर्षमा लाग्थे । विद्यालयका शिक्षकका अनुसार विद्यालयमा उनी पढाइमा औसत थिए ।
अब कुरा गरौँ उनको अपराध पुष्टी भए के सजाय हुन्छ ?

मुलुकी अपराध संहिता २०७४ मा बलात्कार र हत्या गरेको खण्डमा कस्तो सजाय हुने भन्ने उल्लेख छ । ऐनको दफा ४१ मा जबरजस्ती करणी गरी ज्यान मारेको घटनालाई जघन्य अपराध भन्दै यस्तो जघन्य अपराधमा संलग्न व्यक्तिलाई जन्मकैदको सजाय हुने कुरा उल्लेख गरिएको छ ।

ऐनको दफा ४१ को उपदफा (च) मा जबरजस्ती करणी गरी ज्यान मारेको घटनामा संलग्नलाई जन्मकैद हुने ब्यहोरा उल्लेख छ ।

त्यसैगरी ऐनको दफा ४२ मा जन्म कैदको गणनासम्बन्धी व्यवस्था छ । यस दफामा जन्म कैदको सजाय गणना गर्दा २५ वर्ष कैद सजाय हुने गरी गणना गर्नुपर्ने उल्लेख छ । तर कसुर गरेको व्यक्ति बालिग नभएको वा १८ वर्ष नपुगेको अवस्थामा भने सजाय कम हुने कानुनी व्यवस्था छ ।

मुलुकी अपराध संहिताको दफा ४५ मा बालबालिकालाई हुने सजायबारे उल्लेख छ । यस दफाको उपदफा ३ मा कसुर गरेको व्यक्ति १४ देखि १६ वर्षसम्मको भए कुल सजायको आधा र १६ वर्षभन्दा माथि १८ वर्षभन्दा कम भए कुल सजायको दुइतिहाई सजाय हुने उल्लेख छ ।

ऐनको यो दफालाई हेर्दा आरोपित व्यक्ति १५ वर्ष पूरा भइ १६ वर्षमा हिँडिरहेका छन् । ऐनमा १६ वर्षभन्दा कम भन्नुको अर्थ १६ वर्ष पूरा हुनुपर्ने हो वा १६ वर्षमात्रै लागेमा पनि सजाय दुई तिहाई हुनुपर्ने हो भन्ने स्पष्ट छैन । तर अधिवक्ता लोकेन्द्र वली भने आरोपित किशोर १६ वर्ष पूरा नभएको कारण सजाय आधा हुनसक्ने तर्क गर्छन् । यद्यपि अभियोजक (सरकारी वकिल) ले स्पष्ट उमेर खुलाइ सजायको मागदाबी गर्ने भएकाले आरोप पुष्टी भएमा दिनेश कम्तिमा पनि साँढे १२ वर्ष र बढीमा १६ वर्ष ८ महिना कैद सजाय भुक्तान गर्नुपर्ने हुनसक्छ ।

तर १८ वर्ष उमेर नपुगेको व्यक्तिलाई कारावासमा पठाउन नमिल्ने भएकाले यदि आरोप पुष्टी भएमा १८ वर्ष उमेर नपुग्दासम्म उनी बाल सुधारगृहमा रहनेछन् । १८ वर्ष पूरा भएपछि भने अदालतबाट अनुमति लिई बाँकी सजायको लागि जेल चलान हुनेछन् ।राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार