काठमाडौं — नेपालमा कोभिड १९ विरुद्धको खोप अभियान बुधबारबाट सुरु हुँदैछ । ७७ वटै जिल्लाबाट एकैपटक हुने भनिएको अभियानको उद्घाटन भने भर्चुअल माध्यमबाट हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार बिहान १० बजे प्रत्येक जिल्ला अस्पतालबाट जुम कार्यक्रममा जोडिने र काठमाडौंबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले भर्चुअल रुपमा अभियानको उद्घाटन गर्ने योजना रहेको छ । अन्य देशहरुमाझैँ उच्च पदस्थ व्यक्तिहरुमार्फत् खोप उद्घाटन गर्ने कार्यक्रम भने नरहेको मन्त्रालय स्रोतले जनाएको छ ।
मंगलबार बेलुकासम्म सबै जिल्लामा खोप पुगिसक्ने
सोमबार दिउँसोसम्म प्रदेश ३ का अधिकांस जिल्लासँगै गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र प्रदेश १ को राजधानीमा खोप पुगिसकेको खोप सचिवालयले जनाएको छ । सुदूरपश्चिमका ९ वटै जिल्लामा मंगलबार साँझसम्म खोप पुगिसक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक तथा प्रदेश फोकल पर्सन डा. कृष्णप्रसाद पौडेलले बताए ।
प्रदेश राजधानीसम्म रेफ्रिजेरेटर भ्यानमार्फत् पुर्याइएको खोप जिल्लाहरुमा भने आईएलआरए भ्यानमा केल्डचेन बक्स राखेर ढुवानी गर्ने योजना रहेको छ । मोटरबाटो नपुगेको कर्णाली प्रदेशको हुम्लामा भने सुर्खेतबाट जहाजमा राखेर खोप लैजाने योजना रहेको छ ।
कहाँ कहाँबाट कसरी दिइन्छ खोप ?
पहिलो चरणमा कोभिड १९ विरुद्धको खोप देशभरका ३ सय वटा स्वास्थ्य संस्थाबाट प्रदान गरिँदैछ । काठमाडौं उपत्यकामा भने १० वटा अस्पताललाई खोप केन्द्र तोकिएको छ । खोप लगाउनेको सूची खोप सचिवालयले पुसको अन्तिम साता नै तयार परिसकेको छ । सम्बन्धित पालिकामार्फत् ३ लाख जना स्वास्थ्यकर्मीको नामावली तयार आइसकेको खोप विभाग प्रमुख डा. झलक गौतमले बताए ।
नेपाल सरकारले पहिलो चरणमा दिने तयारी गरेकोभन्दा बढी खोप भारतबाट आएपछि सफाइकर्मी र सुरक्षाकर्मीसहित जम्मा चार लाख ३० हजारको नामावली संकलन गरिसकिएको छ ।
यसरी दर्ता भएका व्यक्तिहरुको नामावली सम्बन्धित स्वास्थ्य संस्थामा टाँस गरिने र त्यसैका आधारमा खोप प्रदान गरिने स्वास्थ्य व्यवस्थापन तथा सूचना प्रणाली शाखा स्रोतले जनाएको छ । खोप लगाइसकेका व्यक्तिहरुलाई खोप कार्ड प्रदान गरिनेछ जसको एक प्रति सरकारले रेकर्डका लागि राख्नेछ ।
कहिलेसम्म सकिन्छ पहिलो चरणको खोप
माघ १४ गतेबाट सुरु गरिने खोप अभियान १८ गतेसम्म पहिलो डोज दिइसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । अहिले दिन लागिएको कोभिशिल्ड खोप सामान्यतया ४ हप्ताको फरकमा दुई डोज दिन सकिन्छ । नेपालमा एकमहिनाको फरकमा २ डोज दिने हालसम्मको योजना रहेको छ । खोपको पहिलो र दोस्रो डोजमा जति धेरै फरक भयो त्यति नै खोपको प्रभाव मूल्याङ्कन गर्न सजिलो हुने वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. बासुदेव पाण्डेको भनाइ छ ।
बाँकी ४० लाख डोज खोप कहिले
भारतबाट १० लाख डोज खोप नेपाल आइपुगेकै दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले थप खोप खरिदका लागि सबै तयारी पूरा भइसकेको जानकारी गराएका थिए । नेपालको जनसंख्याको ७२ प्रतिशत नागरिक कोभिड १९ को खोप लगाउने वर्गमा पर्दछन् । त्यसका लागि पहिलो चरणको खोप सकिएपछि थप ४० लाख डोज खोप आवश्यक हुने सरकारको अनुमान छ ।
थप खोप पहिलो चरणको अभियान नसकिँदै ल्याउने ल्याउने मन्त्री त्रिपाठीले बताएका छन् । आइतबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले यो अभियान नसकिँदै थप खोप ल्याइपुर्याउने प्रतिवद्धता व्यक्त गरे ।