बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • समाज
  • विवाहको तयारीमा रहेका प्रहरी जवान, जो कहिल्यै नफर्किने यात्रामा हिँडे

विवाहको तयारीमा रहेका प्रहरी जवान, जो कहिल्यै नफर्किने यात्रामा हिँडे

  • शुक्रबार, माघ २, २०७७
विवाहको तयारीमा रहेका प्रहरी जवान, जो कहिल्यै नफर्किने यात्रामा हिँडे

धनगढी —  कैलालीको थारु समुदायमा पनि यतिबेला माघी पर्वको रौनक छ। मिठा–मिठा परिकार खाएर एकआपसमा रमाईलो गर्दै शुक्रबारको दिनलाई नयाँ वर्षका रुपमा मनाइरहेका छन।

तर कैलालीको गौरीगंगा नगरपालिका–१० को भौसासुरको थारु वस्ती भने शोकमा डुबेको छ। सर्वत्र माघीको रौनक छाएका बेला भौसासुर गाउँ एक होनहार छोरा गुमाएको पीडामा छ यतिबेला।

यसवर्षको माघी पर्व र नयाँ वर्षले स्थानीय मेलाराम चौधरीको उज्यालो जीवनमा अँध्यारो ल्याइदिएको छ। उनका उज्याला सपनामाथि दैवले एकाएक लात हानिदिएको छ। जीवनको साहारा खोसेको छ।

हो, आफ्नो बुढेसकालको साहारा एक्लो छोरा जीवनलाई दैवले खोसेपछि मेलाराम अहिले एक्लै लडिरहेका छन। छोराले दख्दै गरेको उज्यालो संसारतिर फर्किदै उनी आफूलाई नै धिक्कार्न बाध्य छन।

तरपनि के गर्नू ! दैवले दिएको जति ठुलो चोट भएपनि सहनैपर्ने घडीमा उनी पुगेका छन। जिल्ला कारागार कार्यालय कैलालीमा प्रहरी जवान पदमा कार्यरत छोरा जीवनको मृत्युको खबर पत्यार लागेको थिएन मेलाराम र उनको परिवारलाई।

तर जब गौरीगंगाबाट उनी धनगढी उप–महानगरपालिकाको मनहेरा स्थित सडकखण्डमा निर्माणाधिन कल्भर्टमा छोरा लडिरहेको देखे। त्यसपछि त त्यो खबरलाई पत्याउँनैपर्ने बाध्यता उनी सामू खडा भयो।

जीवनका ठूलबुवाका छोरा दिपेन्द्र भन्छन्, ‘भाइले अप्रत्यासित छोडेर गएपछि काका बोल्न सक्ने अवस्थामा हुनुहुन्न। घरको एउटा मात्र साहारा थियो। ऊ तर दैवले सबै खुसी चुडेर लग्यो।’

दिपेन्द्रका अनुसार निकै सहयोगी र मिलनसार स्वभावका जीवनले करिब ६ वर्ष पहिले मात्र नेपाल प्रहरीको जागिर सुरु गरेका थिए। जिल्ला कारागार कैलालीमा कार्यरत उनी धनगढीमा डेरामा बस्दै आएका थिए।

घरपरिवारकै सहमति यसअघि नै मग्नी भइसकेकी युवतीसँगै धनगढीमा बसिरहेका चौधरीको आउँदो फागुनमा विवाह गर्ने तयारी थियो। तर अब चौधरीले त्यो तयारी कहिल्यै पूरा गर्न पाउने छैनन् र घरपरिवारले मग्नी गरेको युवतीसँगै विवाह गर्न सक्ने छैनन्।

किनकी उनी कहिल्यै नफर्किने यात्रामा हिडिसकेका छन। ‘फागुनमा भाइको विवाह गर्ने तयारी थियो। तर बिहीबारको दुःखद घटनाले त्यो सपना पनि अधुरै रह्यो,’ दिपेन्द्रले भने।

जीवन र युवती करिब १ वर्षदेखि सँगै बस्ने गरेका थिए। गौरीगंगा नगरपालिका–१० को महालक्ष्मी प्राथमिक विद्यालयका प्रधानाध्यापक समेत रहेका मृतक जीवनका बुवा मेलारामका अब दुई छोरी मात्र छन।

प्रहरीले जिवनले चलाउने मोटरसाइकल समेत कल्भर्टमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएकाले दुर्घटनाकै कारण उनको मृत्यु भएको हुनसक्ने बताएको छ।

तर उनको मृत्यु प्रकरणमा अन्य कोणबाट पनि अनुसन्धान गरिरहेको प्रहरी बताउँछ। यद्यपी अहिले नै दुर्घटना नै उनको मृत्युका कारण हो भनेर प्रहरीले ठोकुवा गरिसकेको अवस्था भने छैन। दिनेश खवरबाट

चर्चामा

सम्बन्धित समाचार