शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • कुकुर पाल्ने सोच छ? यस्तो छ प्रजातिअनुसार मूल्य

कुकुर पाल्ने सोच छ? यस्तो छ प्रजातिअनुसार मूल्य

  • शनिबार, कार्तिक २९, २०७७
कुकुर पाल्ने सोच छ? यस्तो छ प्रजातिअनुसार मूल्य

काठमाडाै–वर्षभरि तपाईं र घरको रक्षा गर्ने यी मायालाग्दा प्राणीलाई तिहारको दोस्रो दिन विशेष सत्कार गरिन्छ। हिन्दु धर्मकथाअनुसार भैरवको बहान मानिने कुकुरलाई हाम्रा महाकाव्यहरूमा पनि उत्तिकै स्थान दिइएको छ। ती महाकाव्यलाई ध्यान दिएर पढ्ने हो भने कुकुर र देवता बीचको मित्रता प्रष्टै झल्किन्छ।

यो निकट मित्रता आज पनि संसारभर कायम छ। घरको रक्षा गर्नु, चोरबाट खबरदारी गर्नु, प्रहरीलाई अपराधी पत्ता लगाउन सघाउनु र मान्छेको भावना महशुस गर्न सक्नु कुकुरको मुख्य खुबी हो। यसले मान्छे र कुकुरबीचको भावनात्मक सम्बन्ध झनै बलियो बनाएको छ।

कामले थकित भएर घर फर्कँदा तिनका चम्किला आँखा आफ्नो पर्खाइमा बसिरहेको हेर्ने चाहना कसको नहोला? आफू दुःखी हुँदा तिनका अनुहारले सबै पीडा भुलाइदिन्छ। कसैले साथ नदिँदा मनको विरह बिना प्रश्न सुनिदिने तिनै प्राणी हुन्छन्।

त्यसैले पनि कुकुरलाई किन ‘मानिसको मिल्ने साथी’ भनिएको सजिलै अनुमान लगाउन सकिन्छ। यिनै विशेषताको कारण घरमा कुकुर पाल्नेको संख्या बढ्न थालेको छ।

हाम्रा यी निकट जनावर मित्रबारे अन्य थुप्रै कुरा छन् जुन कतिपयलाई थाहा नहुन सक्छ। यिनका विभिन्न प्रजातिकै विषयमा पनि धेरैलाई ज्ञान छैन। हामीले घर–टोलमा देखिरहेका बाहेक बजारमा पाउने कुकुरका प्रजाति देखे–सुने पनि यिनका फरक विशेषताको बारेमा जान्नु पक्कै अलमल हुन्छ।

भौगोलिक रूपले भिन्नता देखिने भएकाले सबै जातका कुकुर एउटै देशभित्र पाउने सम्भावना हुँदैन। तर केही विदेशी कुकुरहरू यहाँ पाइन्छन् जो यहाँको वातावरणमा सहजै घुलमिल हुन्छ। तर आयातित कुकुरको मूल्य धेरै हुन्छ। तिनीहरूलाई विशेषता र सीपको आधारमा महँगो र सस्तो वर्गमा छुट्टाइएको हुन्छ।

के तपाईं घरमा यी प्यारा जनावर साथी ल्याउने सोच्दै हुनुहुन्छ? सोच्दै हुनुहुन्छ भने यसका प्रजातिबारे केही सामान्य जानकारी राख्दा राम्रो हुन्छ।

यस पटकको कुकुर तिहारमा हामी नेपाली बजारमा पाइने विभिन्न प्रजातिका कुकुर र तिनका मूल्यबारे चर्चा गर्दैछौं।

हिमालयन शिपडग

‘भोटे कुकुर’ को नामले चिनिने हिमालयन शिपडग हिमाली क्षेत्रतिर पाइन्छ। चिसो वातावरणमा आफ्नो जैविकी समायोजन गर्ने यी प्रजातिका कुकुर ‘मस्तिफ’ वर्गमा पर्छन्। यिनीहरू सचेत र बुद्धिमान हुन्छन्।

बथानमा हिँड्ने भएकाले यिनलाई भरपर्दो गार्डका रूपमा लिइन्छ। त्यसैले हिमालयन शिपडग विशेषगरी भेडाबाख्रामा नजर राख्न पाल्ने गरिन्छ। आफ्नो सक्रियता र बलियो शरीरको कारण भोटे कुकुर चर्चित छ।

यी विशाल, शक्तिशाली र साहसी कुकुर हुन् जसलाई बाहिरी व्यायामको आवश्यकता हुन्छ। ठूलो जीउडाल र बढी क्षेत्र ओगट्ने स्वभावका भएकाले यिनलाई दृढ मालिक चाहिन्छ। ३५ देखि ४५ केजीसम्म तौल हुने हिमालयन शिपडगको छाउराको बजारी मूल्य आठ हजारदेखि दस हजार रूपैयाँसम्म छ।

तिब्बटेन मस्तिफ

हिमालयन शिपडग जस्तै देखिने तिब्बटेन मस्तिफ पनि मस्तिफ वर्गमा पर्ने कुकुर हो। यो जातिको कुकुरको मूल्य भने अरुभन्दा महँगो छ।

नेपालमा नै पाइने तिब्बटेन मस्तिफ कुकुरको मूल्य ५० देखि ८० हजारसम्म छ। यदि कसैलाई बाहिरबाट आयात गर्नु परेमा त्यसको मूल्य दुईदेखि चार लाखसम्म पर्न सक्छ।

जर्मन शेफर्ड

जर्मन शेफर्ड जर्मनीमा उत्पन्न भएको मानिन्छ। ठूलो शारीरिक बनोट भएका यिनलाई सैन्य काममा बढी प्रयोग गरिँदै आएको पाइन्छ। ब्वाँसो जस्तो देखिने यी कुकुर आफ्नो शक्ति, आज्ञाकारिता र बुद्धिका कारण चर्चित छन्।

यिनीहरू प्रशिक्षण दिएको सबै काममा उत्कृष्ट भएकाले खोज–उद्धार, लागुऔषध परीक्षण, प्रहरी र आर्मी सेवामा संलग्न हुन्छन्। सुरक्षाको विषयमा अधिक सक्रिय हुने जर्मन सेफर्ड घरपरिवारको रेखदेख गर्न उपयोगी हुनसक्छ। नेपाली बजारमा यी प्रजातिका कुकुरको मूल्य पन्ध्र हजार रूपैयाँ छ। यो मूल्य जर्मन शेफर्डभित्र पर्ने अरु जात हरेर पनि फरक पर्न सक्छ।

एउटा शुद्ध जर्मन शेफर्ड जातको मूल्य भने ४० देखि ४५ हजारसम्म छ।

Image result for german shepherd

गोल्डेन रिट्रिभर

गोल्डेन रिट्रिभर मैत्री र कोमल स्वभावको कुकुर प्रजातिमा पर्छन्। पहिलोपटक स्कटल्याण्डमा देखा परेका यी कुकुर संसारभर चर्चित छन्। मान्छेसँगै जंगलमा शिकार गर्न जाने गोल्डेन रिट्रिभर अशक्तको सहायताको लागि पनि उत्तिकै लोकप्रिय छ। यिनलाई खोज अनुसन्धान र उद्धारको कार्यमा बढी संलग्न गराइन्छ।

दयालू र भरपर्दो हुनु यी प्रजातिको मुख्य विशेषता हो। त्यसैले बच्चासँग देखाउने धैर्य व्यवहारको कारण गोल्डेन रिट्रिभरलाई राम्रो पाल्तु जनावरको रुपमा मानिन्छ। यिनीहरू मान्छेप्रतिको समाजिकता, शान्तपन र इच्छुकताको लागि मूल्यवान छन्। बजारमा गोल्डेन रिट्रिभरको छाउराको मूल्य २५ हजार देखि ४५ हजार रूपैयाँसम्म छ।

Image result for golden retriever

लाब्रडोर

लाब्रडोर कुकुर ठूला गोल्डेन रिट्रिभर प्रजातिभित्र पर्छन्। यिनलाई ‘थेरापी डग’ को नामले पनि चिनिन्छ। प्रायः यी प्रजातिको कुकुरलाई अशक्त, दृष्टिविहीन र अटिजम भएकालाई सहायता गर्न प्रशिक्षण दिइएको हुन्छ। त्यसैले लाब्रडोर आफ्नो आज्ञाकारी, इमानदारी र चञ्चल स्वभावको कारण संसारभर चर्चित छ। एउटा सानो लाब्रडोरको नेपाली मूल्य बीस हजार देखि ३० हजारसम्म रूपैयाँ छ।

Image result for labrador

पग

पग अन्य सामान्य देखिने कुकुरभन्दा फरक र विशेष देखिन्छन्। यिनका साना शरीर, छोटो अस्पष्ट अनुहार र घुमाउरो पुन्टे पुच्छर नै मानिसलाई आकर्षित गराउने पक्ष हो। पहिलो पटक चीनमा देखा परेका यी प्रजातिको माग सबै देशमा छ। यिनलाई मिलनसार र कोमल स्वभावका कुकुर भनेर चिनिन्छ। नेपालमा सानो पगको मूल्य पन्ध्र हजार रूपैयाँबाट सुरु हुन्छ।

Image result for pug

डाल्माटियन

डाल्माटियन मध्यम आकारका कुकुर हुन्, जुन आफ्नो सेतो शरीरमा भएको सुन्दर कालो थोप्लाका कारण प्रख्यात छन्। यिनको उत्पत्ति क्रोएसियामा भएको मानिन्छ।

सन् १९६१ मा वाल्ट डिस्नीले ‘डाल्माटियन १०१’ नामक कार्टुन फिल्म बनाएको थियो। जसले डाल्माटियन प्रजातिका कुकुरको माग संसारभर व्यापक भयो। नेपाली बजारमा यिनको मूल्य दसदेखि बीस हजार रूपैयाँसम्म छ।

Image result for dalmatian

बक्सर

बक्सर जमर्नीमा विकसित कुकुरको प्रजाति हो। बलियो शरीर र सक्रिय स्वभावका कारण यी प्रजातिलाई पहिले शिकार गर्न प्रयोग गरिन्थ्यो। यिनीहरू ऊर्जावान् र चञ्चल हुनुको साथै बालमैत्री स्वभावका हुन्छन्।

बक्सर शारीरिक रुपमा बलियो हुने भएकाले यिनलाई पर्याप्त व्यायामको आवश्यकता हुन्छ। यस प्रजातिको मूल्य बजारमा १८ देखि ३५ हजार रूपैयाँसम्म छ।

Image result for boxer

जापानिज स्पिट्ज

हेर्दा सेतो हिउँको डल्लो देखिने यी प्रजातिका कुकुर सानोदेखि मध्यम आकारका हुन्छन्। जापानको नयाँ जातमा पर्ने यी कुकुर अनुकूल स्वभावका कारण संसारभर रुचाइन्छ। नेपालमा यिनको मूल्य सात हजार रूपैयाँ बाट सुरु हुन्छ।

Image result for japanese spitz

पोमेरानियन

सानो गुडिया जस्तै देखिने यो कुकुर पनि स्पिट्ज जातिमा पर्छ। यो कुकुरलाई जर्मन स्पिट्जको नामले पनि चिनिन्छ।

पोमेरानियन १८ औं शताब्दीदेखि लोकप्रिय मानिँदै आएको कुकुर हो। बेलायती रानी भिक्टोरियाले समेत त्यो समय एउटा पोमेरानियन कुकुर पालेकी बताइन्छन। जसले गर्दा यसको चर्चा झनै बढेको हो।

नेपालमा पनि केही समययता यो जातको कुकुर पाल्ने चलन बढिरहेको छ। बजारमा यसको मूल्य ३५ हजारबाट सुरू हुन्छ र जात अनुसार करिब ८० हजारसम्म पनि पर्न सक्छ।

हस्की

संसारको उत्तरी क्षेत्रमा पाइने यी सुन्दर कुकुर साइबेरियामा उत्पन्न भएको मानिन्छ। आफ्नो बुद्धि र सुन्दरताका कारण चर्चित हस्की प्रजाति आफूलाई चिसो वातावरणमा मात्र समायोजन गर्न सक्छन्। बजारमा यिनको जात अनुसारको मूल्य ३५ हजारदेखि एक लाखसम्म पर्छ।

Related image

यी महँगा कुकुरको मूल्य बजारअनुसार फरक पर्न सक्छ। अरू थुप्रै जातका कुकुर पनि यहाँ पाइन्छन्। कुकुर पाल्ने मोह छ तर पैसा खर्च गर्न मन छैन भने यस क्षेत्रमा काम गरिरहेका विभिन्न संघसंस्थासँग सम्पर्क गरेर कुकुर ‘एडप्ट’ गर्न सक्नुहुन्छ।अझै जनावरप्रेमी हुनुहुन्छ भने बाटामा रुमलिएको छाउरालाई आफ्नो साथी बनाउनु राम्रो विकल्प। #साभार सेताेपाटि

चर्चामा

सम्बन्धित समाचार