
बाजुरा–सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ। अर्थ मन्त्रालयले कर प्रोत्साहन उपहार सञ्चालन कार्यविधि स्वीकृत गरेसँगै कार्यान्वयनमा ल्याएको हो ।
कार्यविधि अनुसार अब हरेक दिन एक नेपाली लखपति र मासिक दुई जनालाई बम्परमा १०–१० लाख उपलब्ध गराईनेछ । कर तिर्ने दुई जनाले हरेक महिना गोलाप्रथाबाट महिनामा १०–१० लाख पाउने भएका हुन् ।
सरकारले जारी गरेको कार्यविधि अनुसार खरिद गर्दा प्राप्त हुने सक्कली बिलमा उल्लेख गरिएको बिल नम्बरकै आधारमा विजेता छनोट गरिनेछ। हालका लागि प्रत्येक महिनाको १६ गते र अन्तिम दिन गरी पाक्षिक रूपमा उपहार योजनाको नतिजा सार्वजनिक गर्ने व्यवस्था गरिएको छ।
मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका तथा एक सय रुपैयाँभन्दा बढीको कारोबारमा अनलाइन वा नगद भुक्तानी गरी बिल लिएका नागरिकहरू यो योजनामा सरिक हुन पाउनेछन्। १०० रुपैयाँभन्दा बढीको सामान किन्दा वा होटेल र रेस्टुरेन्टमा बिल भुक्तानी गर्दा सक्कली बिल लिनुपर्नेछ।
स्वः प्रयोजनका लागि नेपालभित्र एक पटकमा एक सय रुपैयाँ भन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्ने उपभोक्ता कार्यक्रममा सहभागी हुन योग्य हुनेछ । प्रत्येक महिनाको एक गतेदेखि सोही महिनाको मसान्तसम्म भएका विद्युतीय भुक्तानीबाट गरिएको खरिद तथा प्रणालीमा प्रविष्ट भएका बीजक सो महिनाको कार्यक्रममा समावेश गरिनेछ।
यस कार्यक्रममा सहभागी हुने प्रत्येक खरिद बीजक र विद्युतीय भुक्तानीबाट गरिएको खरिद बापत प्रणालीबाट एकवटा उपहार टिकट उपलब्ध हुनेछ ।
प्रणालीमा प्रविष्ट विवरणको प्रणाली मार्फत स्वचालित प्रमाणीकरण गरी योग्य बीजक तथा विद्युतीय भुक्तानीबाट गरिएको खरिदलाई कार्यक्रममा समावेश गरिनेछ । एक गते विजेता उपभोक्ता छनोट गर्दा अघिल्लो महिनाको सोह्र गतेदेखि सोही महिनाको मसान्तसम्म कारोबार भएको विवरण प्रणालीमा प्रविष्ट गर्ने उपभोक्ता मध्येबाट छनोट गर्नु पर्नेछ । विजेता उपभोक्ता छनोट गर्दा सोही महिनाको एक गतेदेखि पन्ध्र गतेसम्म कारोबार भएको विवरण प्रणालीमा प्रविष्ट गर्ने उपभोक्ता मध्येबाट छनोट गर्नु पर्नेछ ।
यस कार्यक्रमका सहभागी मध्येबाट स्वचालित प्रणाली मार्फत प्रत्येक दिनको लागि एकजना र पाक्षिक रुपमा एक जना बम्पर विजेता उपभोक्ता छनोट गर्नु पर्नेछ । विजेता उपभोक्ता छनोट गर्दा उच्चपदस्थ वा ख्यातिप्राप्त व्यक्ति, निकायका प्रतिनिधि र सञ्चार प्रतिनिधिलाई आमन्त्रण गर्न सकिनेछ । विजेता उपभोक्तालाई निजको मोबाइल नम्बर र इमेलको माध्यमबाट छनोट भएको जानकारी दिनु पर्ने कार्यविधिमा उल्लेख छ ।
यससम्बन्धी बिस्तृत जान्न कार्यविधि पढ्नुहोस्ः


