शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • छोरा बाबा खोई भन्छ, म कहाँबाट ल्याउँ ?

छोरा बाबा खोई भन्छ, म कहाँबाट ल्याउँ ?

  • शुक्रबार, कार्तिक २१, २०७७
छोरा बाबा खोई भन्छ, म कहाँबाट ल्याउँ ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गुटगत झगडामा मारिएका मुकेश चौरसियाको मृत्यु भएको १३ दिन बितेको छ । पूर्वसभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएपछि आन्दोलन रोकिएको छ तर, निश्पक्ष छानविन भएर न्याय पाउनेमा शंका छ ।

पति वियोगको शोकमा रहेकी सुनिता चौरसियाले आफूलाई सम्हाल्न सकेकी छैनन् । ४ वर्षको छोराले जब बाबा खोई ? भन्छन्, उनी भक्कानिन्छिन् र आँसुको धारा खस्छन् । ‘के–के सोचेका थियौं, सबै बर्वाद बनाईदिए’ सुनिताले अनलाइनखबरसँग भनिन्, ‘चार वर्षको छोराले बाबा खोई भनेर सोध्छ, म कहाँबाट ल्याउँ ? ’

मुकेश, नेकपाको पर्सा जिल्ला कमिटी सदस्य र विन्दवासिनी गाउँपालिका सचिव थिए । विन्दवासिनी–२ बहुअर्वाभाठामा सिमेन्ट र इट्टाले बनाएको पुरानो घरमा उनीहरु बस्दै आएका थिए ।

मुकेश र सुनिताका एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ । छोरा एबीलाई डाक्टर बनाउने मुकेशको सपना थियो । बाबु, तिमी ठूलो भएपछि के बन्ने भनेर सोध्दा उनी पनि ‘डाक्टर’ भन्छन् । तर डाक्टर बनाउने सपना देख्ने बुबा आफ्नै पार्टीका नेताकार्यकर्ताबाट मारिएको उनलाई थाहा छैन ।

६ कात्तिकमा प्रसौनी भाठामा आयोजना गरिएको कार्यक्रममा केपी शर्मा ओली र प्रचण्ड–माधव गुटबीच झडप भयो । झडपमा केही मानिस घाइते भए । मुकेशको टाउकोमा चोट लागेको थियो र, उपचारका क्रममा ७ गते उनको मृत्यु भयो ।

भाइ महेशका अनुसार घरको सम्पूर्ण खर्च मुकेशले नै धानेका थिए । महेश चार वर्षको हुँदा नै उनका बुबा वितेका थिए । महेश र उनका भाइलाई हुर्काउने, बढाउने, शहरमा राखेर पढाउने र घरको सबै खर्च जोहो गर्ने मुकेश नै थिए ।

प्रहरीले न्याय दिनेमा आशंका

अप्ठ्यारो परेकाहरुलाई आफूले सकेको सहयोग गर्ने भएकाले मुकेश गाउँमा लोकप्रिय थिए । त्यहीका कारण तत्कालीन संविधानसभा सदस्य राजकुमार गुप्ता, मुकेशलाई आफ्नो पक्षमा पार्न चाहन्थे । मुकेशले गुप्ताका गलत गतिविधिको विरोध गर्थे । गुप्ताले घरमा बोलाउँदा भेट्न जाँदैनथे । पार्टी कार्यालयमा भेटौं भन्थे ।

आफ्नो अनुुकुल नभएपछि गुप्ताले प्रत्यक्ष अप्रत्यक्ष रुपमा मुकेशलाई धम्की पनि दिन थालेका थिए । मुकेशलार्ई ‘ज्यान प्यारो छ कि छैन ?’ भनेर धम्की आउँथ्यो ।

स्थानीय तहको निर्वाचनमा मुकेश वडध्यक्षका प्रत्यासी थिए । उनकै कारण चुनाव हार्नुपरेको भन्दै गाउँपालिका अध्यक्षका प्रत्यासी लक्ष्मण चौरसिया पनि रुष्ट बनेका थिए ।

त्यसैले मुकेशको ज्यान लिने गरी भएको झडपको घटना योजनाबद्ध भएको आशंका परिवारका सदस्यहरुको छ । गुप्ताको घरबाट दुई जना आरोपी पक्राउ गर्नु र अन्य आरोपीहरु उनी निकटस्थ हुनुले पनि उनीमाथि शंका बढेको छ ।

घटनापछि प्रहरीले पनि गुप्ताविरुद्ध उजुरी लिन मोनन । उजरी दर्ता गर्न समेत आन्दोलन गर्नु परेकाले प्रहरी प्रशासनमाथि समेत चौरसिया परिवारकोविश्वास डगमगाएको छ । ‘उजुरी दर्ता गरेर छानविन गर्नुपथ्र्यो, त्यसपछि दोषी निर्दोष छुट्याउने हो’ महेशले भने ‘प्रहरीले सहयोग नगरेको अनुभूति भएको छ । अब उनीहरुले निष्पक्ष न्याय दिन्छन् भनेर कसरी आशा गर्ने ?’

प्रहरीले दोषीलाई कानुनी कठघरामा ल्याएर न्याय दिलाओस् भन्ने उनीहरुको माग छ । मुकेश पत्नी सुनिता भन्छिन्, ‘हामीलाई न्याय चाहियो । न्याय दिलाईदिनुस् ।’

झडपको भिडियो फुटेज, पक्राउ परेकाहरुको बयान लगायतका आधारमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गंगा पन्त प्रहरीले घटनाबारे मिहिन ढंगले अनुसन्धान गरिरहेको बताउँछिन् । ‘अनुसन्धानमा जुनजुन प्रक्रिया अपनाउनुपर्ने हो, त्यसरी नै काम भइरहेको छ’ उनले भनिन् ‘अनुसन्धानपछि गुनासो आउन दिँदैनौं, ढुक्क हुनुस् ।’

अनुसन्धानका क्रममा दोषी ठहरिएका कसैलाई पनि प्रहरीले उन्मुक्ति नदिने उनको दाबी छ । अनलाइन खवरबाट

चर्चामा

सम्बन्धित समाचार