शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • कमाई खाने जग्गा नदीले बगाएपछि ७६ परिवार विस्थापित

कमाई खाने जग्गा नदीले बगाएपछि ७६ परिवार विस्थापित

  • आइतवार, कार्तिक १६, २०७७
कमाई खाने जग्गा नदीले बगाएपछि ७६ परिवार विस्थापित

कमाई खाने जग्गा दोदा नदीले बगाएर बगर बनाएपछि लालझाडी गाउँपालिका–३ का बलराम राना मजदुरी गरी परिवारको भरणपोषणको गर्दै आएका छन् । तीन बिघा १५ कट्ठा जग्गा बाढीले बगाएपछि उनलाई अहिले परिवार पाल्नैका लागि परदेशिन बाध्य पारेको छ । “स्वामित्वको जग्गामा उत्पादन हुने अन्नले वर्षभरि खान पुग्दथ्यो”, उनले भने, “खानका लागि अन्न राखेर केही बेच्नसमेत हुन्थ्यो । यसबाट वर्षभरिको परिवारको खर्च चल्थ्यो । नदीले जग्गा बगाएपछि परिवार पाल्नकै लागि निकै सङ्घर्ष गर्नुपरेको छ ।” रानाजस्तै यस क्षेत्रका ७६ परिवारको ९६ बिघा लालपुर्जा भएको जग्गा नदीले बगाएर पूर्णरुपमा विस्थापित गरेको छ ।

विस्थापित भएका परिवार विभिन्न ठाउँमा शिविरमा बस्दै आएका छन् । विसं २०६४ मा नदीमा आएको बाढीले धेरै परिवारको उठिबास गराएको हो । यसपछि नदीले निरन्तररुपमा जग्गा कटानी गर्दै आएको छ । गाउँपालिका–३ को छोटी पर्सिया, डुङ्गा र नन्दगाउँसँगै बेलौरी नगरपालिका र पुनर्वास नगरपालिकाका गरी एक लाख ३२ हजार १७७ परिवार नदीको उच्च जोखिममा रहेका छन् । हालसम्म नदीले ऐलानी र लालपुर्जा भएको गरी १४५ परिवारको जग्गा बगाइसकेको छ । करिव ५० बिघा गौचर र स्थानीय सरस्वती माविको पाँच बिघा जग्गासमेत नदीले बगाएको छ ।

“नदीले जग्गा बगाएर बेघर बनाउन थालेपछि डेढ दशकदेखि सङ्घर्ष गर्दै आएका छौँ”, स्थानीय बलबहादुर केसीले भने, “तत्कालीन प्रमुख जिल्ला अधिकारीदेखि मन्त्रालयसम्म कैयौँ पटक फायल लगेर पुगे पनि आश्वासन पाइयो । नदीमा न त तटबन्ध नै बनाइयो ।” बाढीबाट विस्थापित भएका परिवारलाई पुनस्र्थापन गर्नसम्म चासोसमेत दिइएन । चुनाव जितेका तत्कालीन नेताको कैयौँ पटक पुनस्थापना र नदी नियन्त्रणका लागि तटबन्धको कुरा गर्दा हप्काइसमेत खानु परेको सम्झना उनीसँग रहेको छ । कहिले भूकम्पका कारण र कहिले कोरोना सङ्क्रमण फैलिएका कारण देखाएर पन्छिने कार्य मात्रै हुँदै आएको उनले गुनासो गरे ।

नदीमा केही वर्षअघि बन्न थालेको तटबन्ध केही स्थानीय बासिन्दाले मुद्दा गरेपछि रोकिएको छ । तटबन्ध निर्माणका लागि आएको रु नौ करोड बजेटसमेत गत वर्ष फिर्ता भएपछि स्थानीय नदी नियन्त्रणमा अवरोध हुँदा निकै चिन्तित छन् । स्थानीय तहसमेतले तटबन्ध निर्माणका लागि चासो नदिएको स्थानीय बासिन्दाको गुनासो छ । सर्वोच्च अदालत समेतले नदीमा तटबन्ध निर्माण गर्नका लागि बाटो खोलिदिएको छ । लालपुर्जा भएको जग्गामा तटबन्ध निर्माण गरिएको भन्दै केही व्यक्तिले जिल्ला अदालत हुँदै सर्वोच्च अदालतसम्म पुगेपछि अदालतले स्रेस्ता कायम भएको जग्गाको अवस्था हेरी क्षतिपूर्ति दिनुपर्ने र तटबन्ध निर्माण गर्दा आंशिक वा पूर्ण क्षतिको अवस्था हेरी तटबन्ध निर्माणको कार्य रोक्न नहुँने फैसला गरेको स्थानीय बासिन्दा बताउँछन् । दोदा नदीले हालसम्म दुःख मात्रै दिएको छ ।

नदीमा तटबन्ध निर्माण गरी यसबाट फाइदा लिनसक्ने अवस्था सृजना गरिनुपर्ने स्थानीय रमेश चौधरी बताउँछन् । “नदीमा तटबन्ध भएन भने जुनसुकै बेला पनि बग्ने अवस्था छ । नदी तटीय क्षेत्रका बस्तीका बासिन्दा हामी बर्सातका बेला अनिदो मै रात काट्न बाध्य छौँ”, स्थानीयवासी जनकबहादुर सिंहले भने, “असारको महिना लागेपछि रातिका बेला निद्रा लाग्दैन । बेला बेला नदीमा पानीको बहाव बढेको, घटेको हेर्नका लागि नजर लगाउनुपर्ने अवस्था छ । पानी पर्न थालेपछि परिवारसहित सुरक्षित स्थानमा जानुपर्ने बाध्यता नै छ । डेढ दशकदेखि यो प्रक्रिया निरन्तररुपमा चल्दै आएको छ । हिउँद लागेपछि मात्रै बस्तीमा आरामले बस्न पाउँछौँ ।”

“लोकतान्त्रिक गणतन्त्र आएपछि नदीमा तटबन्धसँगै विस्थापनमा परेका परिवारलाई पुनर्स्थापना हुन्छ भन्नेमा ढुक्क थियौँ । हालसम्म समस्या समाधान नहुँदा निकै चिन्तित बनाएको छ”, वडाध्यक्ष टीकाराम डगौराले भने, “चुनावी मुद्दासमेत नेताले तटबन्ध निर्माण र पुनर्स्थापनालाई नै बनाएका थिए । यतिको वर्ष बिते पनि सुनवाइ हुन सकेको छैन ।” “चुनाव हार्नेले त चासो दिने कुरै भएन”, उनले भने, “चुनाव जितेका हाल खबर बुझ्नसमेत यस क्षेत्रमा पुगेनन् । यो कहाँसम्मको अन्याय हो ।” वडाका टोलटोलबाट आएका तटबन्ध निर्माण र पुनर्स्थापना योजना गाउँपालिकामा पेस गरिँदासमेत सम्बोधन हुन नसककेको उनको भनाइ रहेको छ ।

स्थानीयवासी रामप्यारा चौधरी भन्छन्, “खानेपानी, सडक त परै जाओस् । नदीबाट सुरक्षा भए हुन्थ्यो । हाम्रो बासस्थान बचाई दिनोस् । मुख्य समस्या नदी नै हो । बर्सात हुँदा मन ढुकढुक हुन्छ । बाँच्ने अवसर जुराई दिनोस् ।” गाउँपालिकाका अध्यक्ष मदनसेन वडायक गाउँपालिकाको बजेटले मात्रै तटबन्ध निर्माण गर्नका लागि नपुग्ने भएकाले यसका लागि प्रदेशदेखि सङ्घीय सरकारलाई गुहार्नुपर्ने बताउँछन् । “नदीले बगाउनबाट बचेको बस्ती जोगाउनकै लागि तटबन्ध बनाउन रु १८ करोडभन्दा बढीको बजेट चाहिन्छ”, उनले भने, “यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने खानेपानी मन्त्रीलाई र प्रदेशका मुख्यमन्त्रीलाई भेटेर पटकपटक कुरा राखेको छु । अहिलेसम्म सुनुवाई भएको छैन ।”

वर्षौदेखि नदीमा तटबन्ध निर्माण र पुनर्स्थापना अगाडि नबढाइएपछि स्थानीय बासिन्दाले सङ्घर्ष समितिसमेत गठन गरेका छन् । समितिले बस्ती जोगाउनका लागि माग अघि सार्दै स्थानीय तहलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । दोदा नदीले पारेको समस्या र भविष्यमा पर्न सक्ने असर नियन्त्रणका लागि सङ्घर्ष गर्न स्थानीय रमेश चौधरीको संयोजकत्वमा १३ सदस्यीय सङ्घर्ष समिति गठन गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार