मङ्लबार, जेष्ठ २६, २०८३
  • होमपेज
  • कोशी प्रदेश
  • रास्वपा सिरहा अधिवेशनमा कुटाकुट

रास्वपा सिरहा अधिवेशनमा कुटाकुट

  • मङ्लबार, जेष्ठ २६, २०८३
सेयर गर्नुहोस् :
रास्वपा सिरहा अधिवेशनमा कुटाकुट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिरहा जिल्ला अधिवेशनमा नेतृत्व चयनको विषयलाई लिएर दुई समूहबीच कुटाकुट भएको छ। झडपमा र्‍यापिड एक्सन टिमका जिल्ला प्रमुख दिनेश थापासहित केही व्यक्ति घाइते भएका छन् ।

जिरोमाइलस्थित अधिवेशन स्थलमा सोमबार दिउँसो सभापति चयन प्रक्रियाबारे उत्पन्न विवादले उग्र रूप लिएपछि स्थिति नियन्त्रणबाहिर पुगेको हो। घटनाका क्रममा र्‍यापिड एक्सन टिमका सदस्यको सर्ट च्यातिएको र औँला समेत भाँचिएको जनाइएको छ।

अधिवेशनमा सभापतिका लागि सुभाष यादव, रामसोगारथ यादव र वर्तमान सभापति हरि मैनाली आकांक्षी रहेका थिए। रामसोगारथ यादव सर्वसम्मत नेतृत्व चयन हुनुपर्ने पक्षमा देखिएका थिए भने सुभाष यादव र हरि मैनालीले निर्वाचनमार्फत नेतृत्व चयन हुनुपर्ने अडान लिएका थिए । यही मतभेदले दुई समूहबीच तनाव चुलिएको हो ।

घटनापछि स्थिति असहज बनेपछि पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार बिहान ९ बजेसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरेको छ।

आयोगका प्रमुख भुवन केसी ले जारी गरेको विज्ञप्तिमा सिराहा जिल्लाको अधिवेशनमा देखिएको तनाव र सुरक्षा अवस्थालाई ध्यानमा राख्दै तत्कालका लागि निर्वाचन प्रक्रिया रोकिएको उल्लेख गरिएको छ।

विज्ञप्तिअनुसार जिल्ला सभापति हरि मैनाली र अन्य नेताहरूसँग भिडियो संवादपछि परिस्थिति केही सहज भएको जनाइएको छ। सहमति र समझदारीपछि स्थगित गरिएको निर्वाचन प्रक्रिया भोलि बिहान ९ बजेदेखि पुनः सञ्चालन गर्ने निर्णय गरिएको छ।

निर्वाचन आयोगले सबै पक्षलाई शान्त, मर्यादित र सौहार्दपूर्ण वातावरणमा प्रक्रिया सम्पन्न गर्न आग्रह गरेको छ।

चर्चामा

सम्बन्धित समाचार