बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • विचित्र संसार
  • बिस्कुट चाख्ने गज्जबको जागिर : वार्षिक तलब ६० लाख रुपैयाँ !

बिस्कुट चाख्ने गज्जबको जागिर : वार्षिक तलब ६० लाख रुपैयाँ !

  • बिहिबार, कार्तिक ६, २०७७
बिस्कुट चाख्ने गज्जबको जागिर : वार्षिक तलब ६० लाख रुपैयाँ !

हरेक मानिसको चाहना हुन्छ कि जीवनमा सजिलो जागिर पाइयोस् र तलब पनि मनग्गे होस् । तर सबैलाई सोँचेजस्तो जागिर कहाँ मिल्छ र ?

जसोतसो जागिर गरिरहेकाहरु धेरैले दिउसोको खाजा खाने समयमा बिस्कुट र चिया खाने गर्दछन् हाम्रो देशमा । अर्थात् जागिरेहरुका लागि बिस्कुट सबैभन्दा चल्तीको खाजाको रुपमा रहेको छ हामीकहाँ । तर यो दुनियामा एउटा यस्तो जागिर छ जहाँ काम गर्नुपर्ने भनेको केवल बिस्कुट खाने मात्रै हो । अर्थात् जागिरले बिस्कुट खाने बाहेक अरु कामै गर्नु पर्दैन । र, तलब पनि एक वर्षमा ६० लाख रुपैयाँ जति कमाइन्छ ।

हो, दुनियामा एउटा यस्तो कम्पनी छ जसले बिस्कुट चाख्ने कर्मचारीहरुको खोजी गरिरहेको छ । कम्पनीले उत्पादन गरेका बिस्कुट चाख्ने काममा खटिने कर्मचारीहरुले तलबको रुपमा वार्षिक ६० लाख रुपैयाँ बराबरको रकम पाउनेछन् ।

स्कटल्याण्डको बिस्कुट उत्पादक कम्पनी बोर्डर बिस्किटले कम्पनीका लागि मास्टर बिस्किटर पदको आवेदन माग गरेको छ ।

कम्पनीमा मास्टर बिस्किटर पदमा भर्ना हुनेको एकमात्र काम भनेको कम्पनीबाट उत्पादित बिस्कुटहरुको स्वाद चाख्नु हुनेछ । त्यसका लागि उसले वार्षिक ४० हजार ब्रिटिस पाउण्ड अर्थात् करीब ६० लाख रुपैयाँ तलब पाउनेछ ।

बिस्कुट चखुवा पदमा भर्ना गर्नका लागि कम्पनीले विशेष योग्यता तथा रुचि भएका कर्मचारीको खोजी गरिरहेको छ । उक्त पदमा आवेदन गर्नका लागि इच्छुक उम्मेदवारसँग बिस्कुटको स्वाद तथा बिस्कुट उत्पादनका विषयमा गहिरो जानकारी तथा रुचि हुनुपर्नेछ भने नेतृत्व कौशल र वार्तालापमा पनि पोख्त हुनुपर्नेछ ।

साथै बिस्कुट चखुवा पदमा छनोट हुनका लागि उम्मेदवारले ग्राहकसँग उत्कृष्ट सम्बन्ध कायम गर्नका लागि उत्तम उपाय समेत सुझाउनु पर्नेछ ।

कम्पनीका प्रबन्ध निर्देशक पल पार्किन्सका अनुसार उनले देशभरका मानिसहरुलाई आवेदनका लागि प्रोत्साहित गरिरहेका छन् । प्रारम्भिक छनोटमा परेका आवेदकहरुलाई अन्तरवार्ताका लागि बोलाइसकिएको पनि छ ।

कम्पनीका एमडी पार्किन्सका अनुसार उक्त बिस्कुट चखुवाको जागिर पूर्णकालीन हुनेछ । वार्षिक ४० हजार पाउण्ड तलबका साथै बिस्कुट चखुवाले वर्षमा ३५ दिनको विदा समेत पाउनेछ ।

पार्किन्सका अनुसार बिस्कुट चाख्ने यो जागिर जो कोहीका लागि पनि आफ्नो सपनालाई यथार्थमा परिणत गर्ने एक अविश्वसनीय अवसर हो ।

कम्पनीका हेड अफ ब्राण्ड सूजी कार्लाका अनुसार आफ्ना ग्राहकहरुका लागि सर्वश्रेष्ठ स्वाद तथा गुणस्तरयुक्त बिस्कुट उपलब्ध गराउन कम्पनी प्रतिबद्ध छ । सोही प्रतिबद्धतालाई मूर्तरुप दिनका लागि कम्पनीले मास्टर बिस्किटर पदमा कर्मचारी भर्ना गर्न लागेको हो ।

स्मरण रहोस् यसअघि क्याडबरी कम्पनीले सन् २०१९ मा यस्तै एउटा जागिर खुलाएको थियो । क्याडबरीले कम्पनीबाट उत्पादित चलकेटको स्वाद चाख्नका लागि चारजना चकलेट टेस्टर्सका लागि आवेदन माग गरेको थियो ।

–एजेन्सीको सहयोगमा

चर्चामा

सम्बन्धित समाचार