शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • साहित्यिक पुरस्कारमा सधैं रडाको

साहित्यिक पुरस्कारमा सधैं रडाको

  • शनिबार, अशोज १७, २०७७
साहित्यिक पुरस्कारमा सधैं रडाको

काठमाडौं । हालै पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मानको विषयमा नेपाली साहित्य बजारमा विवादका कुरा आएका छन् । पद्मश्री साहित्य पुरस्कारको दाता संस्थाले आफ्नै मूल्यांकनका आधारमा ‘हंस’ उपन्यासका लागि सञ्जीव उप्रेतीलाई पुरस्कृत गर्ने निर्णय गरेर उप्रेतीले मञ्जुरी दिएपछि पुरस्कारको घोषणा भयो ।

त्यस्तै मोदनाथ प्रश्रितले पनि पद्मश्री साधना सम्मान ग्रहण गर्ने मञ्जुरी दिएका थिए । तर, पुरस्कारको घोषणा भएपछि उपन्यासकार उप्रेतीले प्रश्रितसँग एउटै मञ्चमा पुरस्कार ग्रहण गर्न नसक्ने भनेपछि विवाद शुरु भयो र पुरस्कृत दुवै प्रतिभाले वक्तव्यवाजी गर्न थालेपछि अन्ततः खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान पुरस्कार नै रद्द गर्ने निर्णयमा पुग्यो । यो लेखको उद्देश्य यस पुरस्कार अस्वीकारको विषयमा विश्लेषण गर्नु नभई साहित्यिक क्षेत्रका पुरस्कारका विवाद र अस्वीकारको विषयमा चर्चा गर्नु हो ।

नेपालमा निजी क्षेत्रको सबैभन्दा पुरानो र प्रतिष्ठित पुरस्कार मदन पुरस्कार हो । वर्षभरि प्रकाशित नेपाली भाषाको उत्कृष्ट ग्रन्थलाई मदन पुरस्कार प्रदान गरिन्छ । हुन त मदन पुरस्कार सामान्यतया साहित्यिक पुस्तकहरुले नै पाउने गरेका छन् । त्यसैले कतिपयले मदन पुरस्कार साहित्यिक कृतिले पाउने पुरस्कार हो भनेर गलत बुझेको र यही गलत बुझाइकै आधारमा मदन पुरस्कारको आलोचना भएको पनि पाइन्छ ।

बेला–बेलामा मदन पुरस्कारको विषयमा विवाद आउने गरेको छ । जस्तो, वि. सं. २०४१ सालमा कञ्चन पुडासैनीले ‘प्रत्यागमन’ काव्यका लागि मदन पुरस्कार पाउँदा पृष्ठ संख्याको आधारमा त्यसलाई पुस्तक मान्न सकिँदैन, यो पुस्तिका मात्र हो भनेर विवाद भएको थियो ।

सरुभक्तले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले बर्सेनि आयोजना गर्ने नाटक महोत्सवमा भाग लिएर पुरस्कृत हुँदा आफ्नो टोलीका सदस्यहरुले खोजेजस्तो पुरस्कार नपाएको भन्दै वहिष्कार गरेका थिए । पछि उनी त्यही प्रज्ञा प्रतिष्ठानको सदस्य बने
‘पल्पसा क्याफे’ ले मदन पुरस्कार पाउँदा प्रकाशन मितिको विवाद भएको थियो । उपन्यासमा प्रकाशन साल ईस्वी सम्वत राखिएको तर ईस्वी संवतले विक्रम सम्वतको दुई वर्षको आधा–आधा कालखण्डलाई समेट्ने भएकोले यो विवाद आएको थियो तर पछि मुद्रकले प्रकाशन मिति अघिल्लो साल नै भएको स्पष्टिकरण दिएपछि यो विवाद सामसुम भयो ।

तर, मदन पुरस्कार आजसम्म कसैले अस्वीकार गरेको घटना छैन । जगदीश शम्शेर राणाले पुरस्कार ग्रहण गरिसकेपछि प्राप्त रकम गुठीलाई नै फिर्ता दिएका थिए, त्यो अस्वीकार थिएन ।

साझा प्रकाशनबाट २०२५ सालदेखि प्रदान गरिंदै आएको ‘साझा पुरस्कार’ २०३९ मा दुई ग्रन्थ जनकलाल शर्माको ‘हाम्रो समाज एक अध्ययन’का लागि र मदनमणि दीक्षितको ‘माधवी’लाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको थियो । पुरस्कार घोषणापश्चात् दीक्षितले दुई भिन्न प्रकृतिको पुस्तक भएकाले आफूले आधा पुरस्कार नलिने भन्दै लिएनन् । जनकलाल शर्माले मात्र पुरस्कार ग्रहण गरे ।

संयुक्त राष्ट्र संघको आव्हानमा सन् १९७५ मा नेपालमा पनि अन्तरराष्ट्रिय युवा वर्ष मनाउन गठित राष्ट्रिय समितिमा कमल थापा अध्यक्ष थिए । उनकै सोच र पहलमा ‘युवा वर्ष मोती पुरस्कार’ स्थापना भएको थियो । चालिस बर्ष सम्मका युवाले पाउने सो पुरस्कारप्रति अद्यापि आकर्षण छ ।

शुरुका केही वर्ष एकल रुपमा यो पुरस्कार दिने गरिएता पनि पछिल्लो समय यो संयुक्त रुपमा दिने पुरस्कार जस्तो हुन पुग्यो । २०४८ सालको युवा वर्ष मोती पुरस्कारमा ठूलो विवाद भयो । नरेन्द्रराज प्रसाईं र किशोर पहाडीलाई संयुक्त रुपमा दिने घोषणा गरेपश्चात् किशोर पहाडीले आफूले नरेन्द्रराज प्रसाईंसँग सो पुरस्कार नलिने भन्दै अस्वीकार गरे ।

यसको कारण राजनैतिक आस्था थियो । किशोर पहाडी जुझारु प्रजातन्त्रवादी थिए भने नरेन्द्रराज प्रसाईं राजा र राजतन्त्रका हिमायती । पहाडीले पुरस्कार वहिष्कार गरे लगत्तै प्रजातन्त्रवादी लेखकहरुको संस्था मार्फत चालिसौं साहित्यकारहरुले संयुक्त बक्तब्य निकालेर समर्थन गरे ।

उता नरेन्द्रराज प्रसाईंले आफूलाई ‘थ्रेट’ आएको भन्दै ‘मेरो मोती पुरस्कार’ भन्ने लेख नै लेखे र पछि सोही शिर्षकमा पुस्तक प्रकाशित गरे । पुरस्कारको विवाद र वहिष्कारको सन्दर्भमा किशोर पहाडी र नरेन्द्रराज प्रसाईंको यो प्रकरण निकै चर्चित घटनाको रुपमा साहित्यिक जगतमा आज पनि चर्चा हुने गर्छ ।

मोती पुरस्कार मोमिला र रामप्रसाद ज्ञवालीलाई संयुक्त रुपमा दिइने निर्णय हुँदा पनि ज्ञवालीले वहिस्कार गरेका थिए । यसरी बेला बखत मोती पुरस्कारमा विवाद आउने गरेको छ । मोती पुरस्कारमा यदाकदा उमेरको विषयलाई लिएर पनि विवाद आउने गरेको छ ।

साहित्यकारले अस्वीकार गर्दा पुरस्कार, सम्म्मान नै बन्द भएका घटना पनि छन् । वानेश्वरका केही उत्साहित साहित्यकार तथा साहित्य प्रेमीहरुको समूह ‘प्रतिभा समूह’ले वर्षेनी एक अग्रज साहित्यकारलाई अभिनन्दन तथा एक युवालाई प्रतिभा सम्मान दिने गरेका थियो । रकम राशी विनाको अभिनन्दन, सम्मान भएपनि यसबाट सम्मानित हुन पाउँदा साहित्यकारहरु गर्व महशूस गर्थे ।

एक वर्ष सो समूहले अग्रज कथाकार परशु प्रधानलाई अभिनन्दित गर्ने निर्णय गर्यो । तर प्रधानले रकम विनाको यो फोश्रो अभिनन्दन वेकार छ भनेर वक्तव्य निकालिदिए । त्यसपश्चात् सो प्रतिभा समूहले अभिनन्दन र सम्मानको कार्यक्रम नै सदाको लागि बन्द गरिदियो ।

साहित्यकार सरुभक्तले नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले बर्सेनि आयोजना गर्ने नाटक महोत्सवमा भाग लिएर पुरस्कृत हुँदा आफ्नो टोलीका सदस्यहरुले खोजेजस्तो पुरस्कार नपाएको भन्दै वहिष्कार गरेका थिए । रोचक कुरा के भने, पछि उनी त्यही प्रज्ञा प्रतिष्ठानको सदस्यको रुपमा पदासिन हुन पुगे ।

हाल बन्द भएको सिताराम प्रसाईंको साहित्यिक पुरस्कार जनवादी साहित्यकार श्याम प्रसादले स्वीकार गर्दा पनि विवाद भएको थियो । तर श्यामप्रसादले स्वच्छ मनले साहित्यकारलाई कसैले पुरस्कृत गर्छ भने त्यो स्वीकार्न सकिन्छ भनेर स्पष्टिकरण दिएका थिए ।

भारतमा पनि साहित्यिक पुरस्कार अस्वीकारका घटना र विवादहरु भइरहन्छन् । प्रख्यात् हिन्दी साहित्यकार धर्मवीर भारतीले केडिया समूहको पुरस्कार ग्रहण गरेकोमा धेरैको आपत्ती थियो । किनभने पुरस्कार दाताको परिवारलाई मजदूर नेताको हत्याको आरोप लागेको थियो । तर त्यो आरोप लाग्नु अघि नै पुरस्कार घोषणा भएको थियो ।

भारतीले दातालाई सीबीआईले सफाइ दिएमात्र पुरस्कार स्वीकार गर्ने बताए । जब सीबईआईले सो हत्यामा केडिया परिवारको संलग्नता नरहेको बतायो, तब उनले पुरस्कार ग्रहण गरेका थिए ।

विश्वका विभिन्न मुलुकमा पुरस्कार अस्वीकार–वहिष्कार भएका छन् । पुरस्कार खोसिएका घटना पनि भएका छन् । विश्वमा सबैले चासो दिने नोवेल पुरस्कार पनि अस्वीकार गरिएको यौटा घटना छ । सन् १९६४ मा फ्रान्सका विश्वविख्यात अस्तित्ववादी दार्शनिक, चिन्तक साहित्यकार जाँ पाल सार्त्रले नोवेल पुरस्कार अस्वीकार गरेर विश्वमै पुरस्कार अस्वीकारको कीर्तिमान राखेका थिए ।

आफ्नो दार्शनिक चिन्तन अनुसार उनले कुनै पनि पुरस्कार कहिल्यै स्वीकारेनन् । उनले राज्यवाट पनि कुनै सेवा सुविधा लिएनन् । स्वास्थ उपचारका लागि सरकारी सहयोगको आग्रह आउँदा पनि उनले स्वीकारेनन् । सार्त्रको देहान्तपछि राज्यले अन्त्येष्टिका लागि सहयोग गर्ने प्रस्ताव गर्दा उनका परिवारका निकटतमहरुले पूरै अस्वीकार गरेका थिए ।

हुन त १९५८ मा वोरिस पास्तरनाकले पनि नोवेल पुरस्कार ग्रहण गरेनन् । तर, त्यसको कारण सरकारी दवाव थियो, लेखकको अस्वीकृती थिएन ।

यस हिसावले हेर्दा साहित्य र साहित्यकार रहुन्जेल साहित्यिक पुरस्कार रहिरहने, पुरस्कार अस्वीकारका घटना–विवाद पनि चलिनै रहने देखिन्छ । अनलाइन खवर

चर्चामा

सम्बन्धित समाचार