शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • किसान लागे परम्परागत खेतीमा

किसान लागे परम्परागत खेतीमा

  • मङ्लबार, अशोज ६, २०७७
किसान लागे परम्परागत खेतीमा

निमेन्द्र शाही —  बाबु बाजेले परम्परागत खेतीबाली लगाएर वर्षभरि खान पुर्‍याउँथे, हामीले माटोसुहाउँदो खेतीको साटो आधुनिक बिउको प्रयोग गरेर खेती गर्दा वर्षभरि खान पनि पुग्दैन । अहिले बाँझो जग्गामा पुरानै खेती लगाउन बिउ खोज्नुपरेको छ ।’ यो भनाइ स्वामीकार्तिक खापर गाउँपालिका–५, जेराका वीरेन्द्र शाहीको हो ।

स्वामीकार्तिक गाउँपालिका–३ का पदमबहादुर शाहीको भनाइ पनि वीरेन्द्र शाहीकाे भनाइसँगै मिल्दोजुल्दो छ । उनी भन्छन्, ‘पुर्खाले खान लाउन आफैँ उब्जाउँथे । कसैको हात थाप्नुपरेको थिएन । बिउ आफ्नौ स्थानीय प्रयोग गर्ने गरेका थिए । बाहिरको बिउ ल्याएका थिएनन् । आफ्नो बारीमा जे फल्यो, त्यही खाएर जीवन बिताएका थिए । हामी त्यो छोडेर सेता चामलका पछाडि लाग्यौँ । त्यसैले पेटभरि खान माटोसुहाउँदो बाली नै लगाउनुपर्ने रहेछ भन्ने चेत खुलेको छ ।’

स्वामिकार्तिक–४ का डम्मर महतारा स्मरण गर्छन्, ‘हामीले थाहा पाउँदासम्म सिँचाइ नहुने ठाउँमा कपास खेती हुन्थ्यो । कपासको दानाबाट तेल र त्यसको पिनाको दाल तथा कपासबाट लगाउने कपडा बुनिन्थ्यो । रातभरि चर्खा चलाउँथे कपडा किन्न कतै जानु पर्दैन थियो । अहिले विदेशी कपडामा निर्भर हुन थाल्यौँ र सबै कुरामा अरुकै भरमा बाँचेका छौँ । हामीले लगाउने कपासको बिउ पनि पाउनै मुस्किल छ अब त ।’

जिल्ला कृषि विकास कार्यालय बाजुराले दिएको जानकारीअनुसार जिल्लामा ९ दशमलव २१ प्रतिशत जमिन मात्रै खेतीयोग्य छ । सिञ्चित क्षेत्र १ दशमलव ४२ प्रतिशत मात्र छ । अर्थात् खेतीयोग्य जमिनमध्ये पनि ७ दशमलव ७९ प्रतिशतमा सिँचाइको सुविधा छैन ।

पछिल्लो समय परम्परागत बालीहरू नलगाउँदा खाद्य संस्थानले वितरण गर्ने सेतो चामलको भर पर्नुपरेको छ । त्यस कारण बाजुरा जिल्लामा हरेक वर्ष ११ हजार मेट्रिकटन खाद्यान्न अभाव हुने गरेको छ । जिल्लामा नेपाल खाद्य संस्थानलगायतका निकाय र व्यापारीहरूले ल्याउने खाद्यान्न अपुग हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराकाे तथ्यांक छ ।

जिल्लामा पोषणको स्थिति झनै कमजोर छ । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले भने, ‘पाँच वर्षमुनिका ४१ दशमलव १७ प्रतिशत बालबालिका कुपोषणबाट प्रभावित छन् । साथै जिल्लाको १४ प्रतिशत जनसंख्याको आयु ४० वर्षभन्दा कम छ । जलवायु परिवर्तनले सुक्खा, खडेरी, बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपका कारण खाद्य तथा पोषण सुरक्षामा चुनौती आएको छ ।’

त्यस कारण पनि बाजुराका कृषक परम्परागत रैथाने खेतिबालीतर्फ फर्किन लागेका हुन् ।

रैथाने बालीको खेती सुरु
आधुनिकताको होड चलिरहेका बेला बाजुराका उच्च हिमाली क्षेत्रमा ४० वर्षकै लामो खडेरीले बाली सबै सुकेपछि स्थानीय कृषकहरूले परम्परागत अन्न बालीहरूको बिउ बाहिरबाट खरिद गरेर लगाउन सुरु गरेका छन् । यस वर्ष लगाएको फापरले सोचेजति उत्पादन दिएको छ ।

जिल्लाको सबैभन्दा बढी खडेरी प्रभावित वाई, जुकोट, साप्पाटा, रुगिन, गोत्री, बाँधु, कोटिला जगन्नाथ, कोल्टीलगायत गाउँमा फापरखेती गरिएको थियो । फापरखेती गर्ने कृषकहरू अहिले राम्रो आम्दानी भएकोमा खुसी भएको फापर संकलकर्ता ढक्कबहादुर शाहीले बताए ।

जिल्लामा लामो समयसम्म खडेरी र कुनै समयमा अतिवृष्टि हुने भएकाले आधुनिक जातका बालीहरूले त्यो खप्न नसक्ने भएका कारण उत्पादनमा कमी आउने गरेको छ । ‘मौसम उपयुक्त भएपछि मात्र राम्रो फल्ने र अन्य समय छरेको बिउसमेत पाउन कठिन हुन्छ,’ हिमाली गाउँपालिका–४ का ज्ञानबहादुर बुढा भन्छन् ।

‘देशकै ठूलो खाद्य असुरक्षा भएको जिल्लामध्ये बाजुरामा हामीले परम्परागत बालीको विकल्प देखेनौँ । मन्छेहरूमा सेतो भातको लत लागेका कारण जहाँ पनि धान लगाउने भएर खडेरीले प्रत्येक वर्ष भोकै बस्नुपर्ने बाध्यता छ,’ कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतिले बताए ।

‘हामीले फापर लगाउन छोडेको धेरै वर्ष भएको थियो, अहिले कृषि कार्यालयले यो खडेरीमा पनि हुन्छ भन्यो र हामीले लगायौँ । अरु खेती खडेरीले कामै लागेन, फापर भने फल्यो,’ स्वामीकार्तिक खापर गाउँपालिकाका मंगलबहादुर शाहीले भने, ‘अहिले गाउँमा पुराना बालिको बिउ खोजी भइरहेको छ ।

गाउँमा फापर लगाएको भनेर थाहा पाएपछि किन्ने र संकलन गर्नेसमेत काम भएको छ । यसले फापर आफूले खान पनि मिल्ने र अरु बेचेपछि आम्दानीसमेत हुने भएकाले कृषकहरू खुसी छन् । कृषि ज्ञान केन्द्रले जिल्लाका व्यापारीहरूलाई यसका आधुनिक परिकार चाउमिन, पकौडा, केक, बिस्कुटलगायतका परिकारसमेत बनाउने तालिम दिन लागेको छ ।

केही वर्षयता बाजुराका कृषकले आयातित आधुनिक बिउका कारण पुराना खाद्यबालीहरू लगाउन छोडेका छन् । जिल्लामा परम्परागत रूपमा लगाइने, उवा, सुजिगहुँ, चिनो, फापरजस्ता खाद्यबाली हराउन लागेका थिए । आधुनिकतासँगै यी जातहरू हेपिएका मानिन्छन् । कसैलाई जिस्काउँदासमेत फापर खाने भनेर जिस्काउने गरिन्छ । त्यस कारण पनि यी बालीहरू हराउँदै गएका हुन् ।

बिउ जोगाउन बिउ बैंक
जिल्लाको हावापानी र माटोसुहाउँदो परम्परागत अन्नको बिउ गाउँमा पाइन छोडेको छ । पुराना स्थानीय जातका बिउबीजनहरूले खडेरी र अतिवृष्टिसमेत सहन सक्छन् ।

पूर्वोत्तरका चारवटा स्थानीय तहमा स्वामीकार्तिक खापर गाउँपालिका, जगन्नाथ गाउँपालिका, हिमाली गाउँपालिका र बूढीनन्दा नगरपालिकाका स्थानीयले अहिले परम्परागत बिउको खोजी र संरक्षण गर्न लागेका छन् । स्वामीकार्तिक खापर गाउँपालिका–५ जेरा र बूढीनन्दा नगरपालिका–३, सिराडामा स्थानीय बिउ जोगाउका लागि त्यहाँका कृषकहरूले अभियान नै सुरु गरेको मानव संसाधन केन्द्र बाजुराका प्रमुख अग्निराज शाहीले बताए ।

बिउ जोगाउनका लागि उनीहरूले बिउ सुरक्षा बैंक सञ्चालनसमेत गरेका छन् । ‘परम्परागत बालीको बिउ संकलन गरेपछि हामीलाई सहज भएको छ । मुगु र हुम्लाबाट समेत पुराना जातका बिउ किन्न कृषकहरू आउने गरेका छन्,’ बिउ बैंकका अध्यक्ष नरेन्द्र शाहीले भने ।

बाजुराका कृषकले धान, गहुँ, मकैलगायत स्थानीयस्तरमा उत्पादन हुने अन्नबालीको बिउबीजन माटोसुहाउदो नपाइने र बजारमा आउने बिउसमेत समयमा नआउँदा समस्या रहेको स्वामीकार्तिक–४, वाइका गाउँका नरेन्द्र गिरीले बताए ।

‘स्थानीय जातका बिउ नपाउँदा र खडेरी सहन गर्ने क्षमता नभएका बजारका बिउ लाउँदा खेतबारी बाझैँ रहने भएका कारण गाउँमा बिउको समस्या नहोस् भनेर यो सुरु गरिएको हो,’ अग्निराज शाहीले बताए ।

मानव संशाधन केन्द्रले सञ्चालन गरेको स्थानीय अधिकार कार्यक्रमको सहयोगमा गाउँगाउँ बिउ बैंक स्थापनामा सहयोग भएको हो । ‘यस्तो गर्ने चलन पहिले नै हुने थियो भने अहिले हामीले चराले चारो ल्याए जसरी जहाजले ल्याएको चामलको भर पर्नुपर्ने थिएन,’ स्वामीकार्तिक खापार गाउँपालिका–४ वाई गाउँका कर्णवीर बुढाले बताए ।

स्थानीय बिउको वंशाणुगत संरक्षण तथा कृषकहरूको कृषि अधिकार सुनिश्चित गर्ने उद्देश्यले स्थानीयहरूले यो अभियान सुरु गरेका हुन् । आधुनिक जातका अन्नबालीको बिउ गाउँमा आउन थालेपछि खडेरीको प्रकोपमा नफल्ने भएपछि यो अभियान सञ्चालन गर्नुपरेको कर्णाली खाद्य सोकार मञ्चका अध्यक्ष वीरबहादुर रोकायाले बताए ।

जिल्लाका उच्च हिमाली क्षेत्रमा ४० वर्षयताकै लामो खडेरीले बाली सबै खाएपछि यहाँका रैथानेहरूले परम्परागत अन्न बालीहरूको बिउ बाहिरबाट खरिद गरेर लगाउन सुरु गरिएको छ । ३ हजारदेखि ४ हजार फिटको उचाइमा फल्ने तीते फापर र गुलियो फापर गरी दुई प्रकारका हुन्छन् ।

के–के हुन् त स्थानीय जातहरू ?
बाजुरा जिल्लामा धान, गहुँ, मुख्य बालिका रूपमा पछिल्लो समय खेती गर्ने गरिएको छ तर परम्परागत रूपमा भएका खेतीमा बढी उत्पादन हुने आँकडा देखिन्छ । अहिले गरिएका बालीले खाद्यान्नलाई टेवा पुर्‍याउने भए पनि पछिल्लो समय चामलमुखी हाम्रो व्यवहारका कारण हामीले खाद्यान्नको समस्या झेल्नुपरेको छ ।

जिल्लामा कोदो, फापर, जौ, उवा, कागुनो, मार्स्या–लट्टे/रामदाना), जुने चिनोलगायका खेती यहाँका रैथाने खेती हुन् । तर यसको खेती अहिले घटेको देखन्छ । पछिल्लो समय महँगो मूल्यमा शहरका भान्साहरूमा जान थालेको र यहाँको हावापानीअनुसार आधुनिक बिउहरू नफल्ने हावापानी र कृषकको आवश्यकताअनुसार उत्पादन नभएपछि रैथाने बिउको खोजी हुन थालेको हो ।

जिल्लामा मकै ७ दशमलव ०५ हेक्टरमा खेती गरिन्छ भने त्यसबाट १३ दशमलव ८ मेट्रिक्टन उत्पादन हुने गरेको छ । त्यसैगरी कोदो २० दशमलव ६५ हेक्टरमा खेती गरिन्छ । जसबाट ३६ दशमलव ३ मेट्रिकटन उत्पादन हुने गरेको छ । जौ १ दशमलव २ हेक्टरमा खेती गरिन्छ । यसको उत्पादन १ दशमलव ९ मेट्रिकटन हुन्छ ।

हाल फापर १ दशमलव ७ हेक्टरमा खेती गर्दा २ दशमलव ८९ मेट्रिकटन उत्पादन हुने गरेको छ । आलु १७ दशमलव ७ हेक्टरमा खेती गर्दा १०२ मेट्रिकटन उत्पादन हुने गरेको छ । दलहन बालीमा सिमी यहाँको मुख्य बाली हो । १० दशमलव ७ हेक्टरमा सिमी खेती गर्दा १६ दशमलव २ मेट्रिकटन उत्पादन दिने गरेको छ । पछिल्लो समय यसको माग शहरमा बढेसँगै सजिलै खेती गर्न सकिने भएकाले यसको क्षेत्र विस्तार हुन लागेको हो ।

जिल्लाका उच्च हिमाली क्षेत्रका बिच्छ्याँ, जुकोट, रुगिन, साप्पाटा, पाण्डुसैन, गोत्री, जगन्नथलगायतका गाउँमा लगाइँदै आएको सुजी गहुँ, उवा, याे वर्ष राम्रो फलेको छ । समुन्द्री सतहबाट १६ सय फिटदेखि २२ सय फिटसम्म यो जातका खाद्यबाली लगाउन उपयुक्त हुने कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले बताए ।

सुजी गहुँको बोट ५ फिटदेखि ६ फिटसम्मको बोट र ५ देखि १० सेन्टिमिटरसम्मको बाला हुने भएकाले बाँदरसमेतले खान नसक्ने र खडेरी र वर्षात्‌ले केही असर नपार्ने जगनथ, ढाडाकोटका भरत गिरीले बताए ।

यस वर्षको खडेरीले यस क्षेत्रका जनतामा चेत खुलाइदिएकाे छ । अबका वर्षमा पुराना जातका बालीहरू लगाउन पुरानै जातका बिउको समेत खोजी भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार