शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • नेपाली सीमामा आइपुग्यो रेल

नेपाली सीमामा आइपुग्यो रेल

  • शुक्रबार, अशोज २, २०७७
नेपाली सीमामा आइपुग्यो रेल

जनकपुरधाम : रेल्वे विभागले जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि इन्जिन र बोगी नेपालको सीमामा ल्याएको छ । लामो समयको प्रतिक्षापछि कुर्था–जनकपुर–जयनगर रेल्वे सेवा सञ्चालनका लागि भारतबाट २ सेट रेलको बगी र ४ वटा इन्जिन नेपाल भारतको सीमा जयनगरमा ल्याएको छ ।
नेपालको राष्ट्रिय झण्डा अंकित रंगमा तयार पारिएको दुवै रेल सेट भोलि जनकपुर आइपुग्ने भएको रेल्वे विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । रेलको बगी २ सेट तथा ४ वटा इन्जिन बिहार प्रदेशको हाजिपुर स्टेशनबाट जयनगर हुँदै जनकपुरधाम ल्याउने भएको मिश्रले बताए । ‘नेपाल र भारत सरकारबीच भएको सम्झौता अनुसार शुक्रबार नै रेलको बगी र इन्जिन ल्याउने तयारी गरेका हौं’, उनले भने।

हाजीपुरबाट बगीसहितको रेलसेट नेपाल भारतको सिमा जयनगर ल्याउन चार घण्टा लागेको छ । ‘प्रक्रियागत सम्पूर्ण तयारी पुरा भएको छ । हामीले शुक्रबार नै रेल ल्याउने तयारी गरेका छौं’, मिश्रले बताए ।

’रेल विभागले कुर्था–जनकपुरधाम–जयनगरसम्म रेल सञ्चालनका लागि १ अर्बको  लागतमा रेलको बगी तथा इन्जिन खरिद गरेको छ । रेल सेटको निर्माण भारतको मद्रासस्थित रहेको इन्टिग्रल कोक्स नामक कम्पनीले गरेको हो । ती रेल सेटको आपूर्ति कोंकण रेल कर्पोरेशन कम्पनी लिमिटेडले गर्न लागेको छ । रेलका सेट नेपाल ल्याउने तयारी गरिएको भएपनि उद्घाटन गर्ने कुनै योजना नरहेको महानिर्देशक मिश्रले जानकारी गराए ।

भारतको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्म ३४ किलोमिटरमा गत वर्षको मंसिर महिना पहिलो सातामै लिक परीक्षण भएपछि रामजानकी विवाह महोत्सवमै रेल सञ्चालन गरिने चर्चा थियो । तर, रेल नेपाल वा भारतले कुन देशले किन्ने अन्योलताले तोकिएको समयमा रेल्वे सञ्चालन हुन नसकेको इन्जिनियर विनोद ओझाले जानकारी दिए । उनले भने, ‘रेलका इञ्जिन र डिब्बा व्यवस्था नहुँदा सञ्चालनमा ढिलाइ भयो ।’अन्नपूर्ण पोष्टबाट साभार

चर्चामा

सम्बन्धित समाचार