शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • कथा- भगवान मरेको दिन

कथा- भगवान मरेको दिन

  • शनिबार, भदौ २७, २०७७
कथा- भगवान मरेको दिन

तेरो भाउजू भेट्न जान्छु है खाना खाएर सुत्नु बिहानै आउछु भनेर गएको ऊ राती सरासर कोठा आयो । “उखान झुटा हुँदैन भात्ता साँचो हुँदैन” बुडापाकाको मुखबाट जहिल्यै यस्तै सुन्ने गर्थे जब मैले भोगे अनि थाहा पाएँ । जहाँ आफ्नो अपमान र तिरस्कार गरिन्छ त्यहाँ कहिल्यै नजानु भन्ने कुरोले आज आएर मेल खायो……,
गहभरी आँसु भर्दै पर-पर हेर्दै भावुक भएर बोल्यो ऊ ।
सायद ! मेरो चोखो मायालाई कहिल्यै बुझिनौ त्यसैले त नाटक जस्तै लागिरह्यो । याद गर कुनै दिन मेरो सच्चा मायाको श्राप लाग्नेछ तिमीलाई। अनि पश्चातापमा जल्दै सम्झिने छौ । नाटक, नौटंकी खै के-के भनेर मलाई सुनाएका वाणरुपी शब्दले तिमीलाई नै घोच्ने छन् कुनै दिन । मैले त चोखो माया गरेको थिएँ खै तिमीले बुझिनौ कि बुझेरपनि पचायौ ? जे होस् मेरो औकात सम्झाइ दियौ धेरै-धेरै धन्यवाद छ तिमीलाई….,
ऊ त झन रुदै पो बोल्न थाल्यो आफ्नै छातीमा पिटी-पिटी ।
म त अक्क न बक्क भएर हेरीरहेँ । केही बोलु र सम्झाउ भने ऊ म भन्दा धेरै जेठो छ, जाने बुझेको छ । खै मलाई यो मायासायाको चक्करबारे थाहा नै छैन क्यारे ।
हेर भाइ तँ बुझ्दैनस् यस्ता कुरा । तेरो उमेरै भएको छैन बुझ्ने, माया गर्ने, कसैलाई मनपराउने । तलाई त पेटभरि खान पाए भैगो । कसरी सम्झाउ तँलाई । कसैलाई माया नगर्नु गरीहाले पनि आफ्नो औकात हेरेर गर्नु ।
एक हातले आँसु पुच्दैर अर्को हातले मेरो काँधमा थपथपाउदै बोल्यो ऊ ।
मैले उसको लिलाकला हेरिरहेको थिए भोकोले पापा हेरेजस्तै गरि । उसको पिडाले मेरो मनलाई कुटुक्कै नखाएकोपनि कहाँ होर । सम्हालिएर सुनिरहे उसलाई ।
भाइ त्यो अन्तिम भेट थियो जुनदिन म उनकै कोठा गएको थिएँ काम बिशेषले । त्यो दिन आजैको हो । तर मैले भनेजस्तो र सोचेजस्तो अनि पहिलेको जस्तो व्यबहार पाइन । सायद म नजिक हुँदा मेरो शरीरबाट गरिबीको गन्ध फैलिएको थियो । आफ्नो स्वार्थ पूरा गरिसके पछि अब म किन चाइन्छु र उनीलाई । उनको व्यबहारले भन्दै थियो छिटो जा मेरो कोठाबाट मलाई भेट्न कोही आउँदै छ । “आँ गरे अलङ्कार बुझ्नु” भने जस्तै केही त मैले बुझ्नै थियो अनि म उठेर निस्किहाले मुसलधारे पानीमा भिज्दै । भाइ तैले होस् गरेस् है होस् उमेर पुगेर मात्रै माया गर्नु त्यो पनि बुझेर अब म सुत्छु सदाका लागि । भाइ आफ्नो ख्याल गरेस् मैले सधैं तँलाई सँगै राख्न सक्दिन ।
यति भनेर ऊ सुत्यो मपनि खाटमासँगै पल्टिए ।
उसले गरेका कुरा दोहोर्याएर तेहेर्याएर मनमा खेलाउदै थिएँ कतिखेर सुते छु पत्तै पाइन ।

म ब्युझिएँ । मेरो एक हात उसको सिरानी बनेको रहे छ । हात च्यापिएर झमझमाइ रहेको थियो । बिस्तारै हातलाई सिरानीबाट निकालें । मैले उसलाई सुनें । गालामा छामे । नाडी समाते । झकझकाउँदै बोलाएँ । साच्चिकै ऊ सदाका लागि निदाएको थियो । शरीर अरारो र चिसो भएको थियो । हिजो राति सँगै सुतेका हामी दुई जना ऊ सदाका लागि सुतिरह्यो । म त उठे तर, टुहुरो बनेर । सायद उसको र मेरो साथ यहाँसम्म मात्रै रहेछ ।

एका बिहानै रुँदै छिमेकीलाई गुहारें । हिजो राति भएका सबै कुरा सुनाएँ । त्यो युवती पनि उसको लास हेर्न आएकी थिइ । छिमेकीले उसलाई पहेँलो कात्रोले बेरेर बाँसको काठमा राखेर बगर तिर लगे । मपनि लासको पछिपछि हिंडे आँसु पुछ्दै । एकोहोरो समुन्द्र भेट्न बगिरहेको खोलाको किनारमा दाउराको खात बनाएर उसलाई त्यसमाथि राखे मलामीले । दाउराको खातमा आगो झोसें मैले । आधा घण्टा मै उसको लास जलेर खरानी भयो । मलामी हरू घर फर्किए । म रुँदै बसिरहेँ कोइला हेरेर । सँगै हुँदा कहिल्यै नाता गरेर बोलेको थिइन नामै भनेर बोल्थेँ मायाले । घाम डुब्दै गयो । अँध्यारोले संसारलाई छोप्दै गयो । अँध्यारो रातले ती कोइलालाई पनि आफूजस्तै बनाइदियो जो अघिसम्म देखिरहेको थिएँ अब छामेर महसुस गर्नसक्छु । मुटु फुट्ला जस्तै भयो मेरो । दा…इ….! दाइ…! भनेर चिच्याएँ तर कोही बोलेन मात्र खोला सुसाइ रह्यो । बिहान देखिको भोको म कतिबेला दाइ-दाइ भन्दाभन्दै बगरमै निदाएको पत्तै पाइन ।

घामको तातो स्पर्सले ब्यूझिएँ । अन्तिम पल्ट ती बचेखुचेका कोइलालाई हेरे र कोठामा नगएर गन्तव्यहिन यात्राको बाटो तताएँ । सडकमा कसैले फालेको शिशु म । सडककै मान्छेले मलाई स्याहार्दै आइरहेको थियो । जो हिजोबाट कहिल्यै साथ नदिने गरेर गयो । ऊ मेरो भगवान नै थियो । भगवान नभएको त्यो कोठा गएर म टुहुरोले के नै गर्न सक्थे र त्यसैले फेरि फर्किए फुटपाथमा ।

चर्चामा

सम्बन्धित समाचार