आइतवार, अशोज ४, २०७७
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • हिउँमा १ वर्षसम्म फसेका १५ कुकुुर, जहाँबाट बाँचेर फर्किए २ दाजुभाई

हिउँमा १ वर्षसम्म फसेका १५ कुकुुर, जहाँबाट बाँचेर फर्किए २ दाजुभाई

  • शुक्रबार, भदौ ५, २०७७
हिउँमा १ वर्षसम्म फसेका १५ कुकुुर, जहाँबाट बाँचेर फर्किए २ दाजुभाई

एजेन्सी — एकैछिनका लागि कल्पना गर्नुुस्, तपाई हिउँको संसारमा हुनुहुन्छ । गाँस, बास र कपासको अभाव छ । तपाईलाई सहयोग गर्ने कोही पनि छैन । दुई–चार दिन रमाइलै पनि होला, हप्ता वा त्यसभन्दा अगाडि जसोतसो टारिएला । तर, झन्डै एक वर्षसम्म यस्तो परिवेशमा बाँच्नु सायद असम्भव छ । दुर्भाग्यवस्, सन् १९५७ मा १५ वटा कुकुर यसरी नै हिउँको संसार अर्थात् अन्टार्टिका महादेशमा फसे । त्यो पनि साङ्लोमा बाँधिएको अवस्थामा, यहाँबाट दुई दाजुभाई मृत्यु जितेर फर्किएका थिए ।

एकातर्फ यो घटनाले आफुप्रति गरिएको विश्वासलाई न्याय गर्नबाट मानिस कसरी चुक्छ भन्ने देखाउँछ । अर्कोतर्फ, यसभित्रको शानदार कथाले युुग–युुगसम्म मानिसलाई बाँच्नका लागि संघर्ष गर्न प्रेरित गर्नेछ ।

यसकारण गएका थिए अन्टार्टिका 
इन्टरनेशनल जियो फिजिकल इयर (आईजिवाई) सँगको सहकार्यमा जापान नेशनल इन्स्टिच्युुट अफ पोलार रिसर्चले १९५७ मा जापानिज अन्टार्टिक रिसर्च एक्सपिडिसन कार्यक्रम (जेएआरई) सुरु गरेको थियोे । जनवरीमा जेएआरईले इस्ट अनगुल टापुमा सोवा स्टेशन स्थापना गरेपछि यो यात्रा सुरु भयो । स्टेशनमा ११ जनाको अनुसन्धान टोली र टोलीका लागि सहयोग गर्न १५ वटा कुुकुर पठाइयो, यी कुुकुरहरुलाई हिउँमा स्लेड तान्ने प्रयोजनका लागि पठाइएको थियो ।

एक वर्षसम्म यस समूह सोवा बेसमा रहने र फेब्रअरी १९५८ मा अर्को टोली आउने पूर्वयोजना थियो । तर दुुग्भार्यवस्, शक्तिशाली तुफान चलेपछि अनुुसन्धान टोलीको जहाज (हिउँमा चल्ने) जापानी बेसभन्दा निकै टाढा रोकियो । यस जहाजलाई अमेरिकाको आइसब्रेकर ‘बुर्टन आइल्यान्ड (डब्ल्युएजीबी–२८३) ले उद्धार गर्यो, अनि ११ सदस्यीय टोलीलाई हेलिकोप्टरमार्फत जापान फर्काइयो । १५ वटा कुकुर त्यही छुटे । उनीहरु साङ्लोमा बाँधिएका थिए, केही दिनसम्मका लागि खानाको व्यवस्था थियो ।

टोलीका गाइडलाई चाँडै कुुकुरहरुको उद्धारका लागि पनि फ्लाइट आउनेछ भन्ने लागेको थियो, त्यसैले अन्यत्र कतै नभागुुन् र नछुुटुुन् भनेर उनले ती कुकुरहरुलाई बाँधेका थिए । दूर्भाग्य, कुुकुुरहरुको उद्धारका लागि जहाज पठाइएन । निर्दोष कुुकुरलाई मर्नका लागि छाडिदिएको भन्दै जापानमा जेएआरईको चर्को विरोध भयो ।  यद्यपि, जनावरको उद्धार असम्भव रहेको र उद्धार गर्न खोज्दा मानिसहरु आफैं जोखिममा पर्ने भएकाले यस्तो निर्णय लिइएको भन्दै जेएआरई पन्छियो । केही समयपछि दोस्रो टोली फेरि अनुसन्धानका लागि गएको थियोे, तर मौसम खराब भएकाले फ्लाइट ल्यान्ड नै नगरी फर्कियो ।

सोवा स्टेशमा फर्कियो टोली 

अर्को वर्ष, १४ जनवरी १९५९ मा सोवामा काम फेरि सुचारु गर्न नयाँ टोली गयो । यतिबेलासम्म कुकुुरहरु बाँच्ने कुनै आश थिएन । १५ कुकुरमध्ये ७ कुकुर (आका, गोरो, पोची, मोकुु, कुरो, पेसु र कुमा) साङ्लोमै बाँधिएको अवस्थामा मृत भेटिए । तर, आठ कुकुरहरु साङ्लो चुुडालेर भाग्न सफल भएका थिए । तीमध्ये पनि ६ वटा (रिकी, अन्को, देरी, जाक्कुु, सिरो र फुरेनको कुमा) बेपत्ता थिए । तर दुुई दाजुुभाई तारो र जिरो जापानी बेस नजिकै जीवित अवस्थामा भेटिए ।

तारो र जिरो एकै आमाका सन्तान थिए अनि टोलीका सबैभन्दा कान्छा, ३ वर्षको उमेरमै उनीहरुलाई मिशनका लागि लगिएको थियो । ११ महिनासम्म अन्टार्टिकाको कठोर जाडोमा बाँचेका उनीहरुले साङ्लो चुडाल्न नसक्ने साथीभाईको शवलाई पनि गस्ती गरेका थिए । चाहेको भए त्यही शव लुछ्न सक्थें, तर त्यस्तो भएन, शव जस्ताको त्यस्तै थियो ।

अनुसन्धानकर्ताहरुका अनुसार यी कुकुुरहरुले पेन्गुुइन र बेला मौकामा सिलको शिकार गर्न सिकेको हुनुपर्छ, यही कारण मानिसको सहयोग बिना नै अति जाडोमा पनि  झन्डै १ वर्ष बाँच्ने सके ।

 जापानमा राष्ट्रिय हिरो 

कुकुर फर्काउन फ्लाईटको व्यवस्था गर्नुपर्ने माग गरेका जापानीहरु जेएआरईको स्पष्टीकरणबाट पक्कै खुसी थिएनन् । तर, आश मारिसकेको अवस्थामा १५ मध्ये दुुई कुकुर बाँचेको खबर पाएपछि उनीहरुमा खुसीको सीमा रहेन । यी कुकुरलाई जापानमा राष्ट्रिय हिरो सरह व्यवहार गरियो । उनीहरुको प्रजाती हुस्की (जापानी भाषामा काराफुटो–केन) १९९० सम्म जापानमा सबैभन्दा धेरै बिक्री हुने कुकुरको प्रजाति थियो ।

सोवा स्टेशनकै गस्ती गरेर जिरो अन्टार्टिकामै बस्यो । १९६० मा प्राकृतिक विपद्मा उसको मृत्यु भयो । उसको शवलाई जापान फर्काइयो अनि शव लेपन गरियो । अहिले यसलाई टोकियोस्थित नेशनल म्युजियम अफ नेचर एन्ड साइन्समा राखिएको छ ।

तारोको भाग्य केही राम्रो थियो । अन्टार्टिकामा फेला परेलगत्तै उसलाई गृहनगर साप्पोरो फर्काइयो, यहाँ होक्काइडो विश्वद्यिालयमा उसले आराम गरेर बस्यो । १९७० मा तारोको पनि मृत्यु भयो । उसको शवलाई होक्काइडो विश्वविद्यालयको बोटानिकल गार्डेनस्थित संग्रहालयमा राखिएको छ ।

जापानका धेरै ठाउँमा यी दाजुुभाईको शालिक राखिएको छ । पुस्तक, सिनेमा र घर–घरमा राखिएका पोस्टरहरुमार्फत यी दाजुुभाई आज पनि जीवित छन् । सन् १९८३ मा कोरेयोसी कुराहाराले निर्देशन गरेको ‘अन्टार्टिका’ नामक चलचित्रमा यी दाजुुभाई र उनीहरुका १३ साथीको कथा समावेश छ । वाल्ट डिज्ने पिक्चर्सले २००६ मा निर्माण गरेको ‘एट बिलो’ नामक हलिउड फिल्म  धेरै हदसम्म यही घटनाबाट प्रभावित छ ।  -अन्वेषण अधिकारी (एजेन्सीको सहयोगमा) 

चर्चामा

सम्बन्धित समाचार