बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • अनिता चेपाङको रहर र उनका सपना

अनिता चेपाङको रहर र उनका सपना

  • सोमवार, भदौ १, २०७७
अनिता चेपाङको रहर र उनका सपना

उमेरले ३३ वर्ष मात्र पुगेकी छन्, फूलमाया चेपाङ । तर उनी सात सन्तानकी आमा हुन् । फूलमायाको ६ छोरी र एक छोरामध्ये सबैभन्दा जेठी हुन्, अनिता चेपाङ । उमेरले १५ वर्ष र कक्षा तीनमा पढ्ने अनिताले पढाइलाई यसभन्दा अगाडि बढाउन पाइनन् । किनभने उनको काँधमा भाइबहिनी हुर्काउने र आमाबुबालाई सघाउने गह्रौं जिम्मेवारी पनि थियो ।

‘२०७६ साल जेठ महिनाको २२ गते बिहान ७ बजे उनको घरको आँगनमा पुगेँ । उनीसँग मेरो भर्खरै मात्र चिनजान भएको थियो । उनको जीवनबारे मनमा अनगिन्ती कौतुहलता बोकेर म उनको घर पुगेकी थिएँ’ अनिता सम्झन्छिन् ।

जलदेवी आधारभूत विद्यालयका विद्यार्थीहरूका लागि हिजो ३ घण्टाको पैदलमार्ग सामान बोकेर आउने ५ जनामध्येकी एक थिइन्, अनिता । गह्रांै भारी बौक्दै लामो भिरको गोरेटो बाटोमा उनको पछिपछि हिँड्दा कहिले चप्पल हातमा त कहिले शिरको नाम्लोमा राखेर हिँडेकी अनिताका चिरिएका ती कोमल खुट्टाले मेरो ध्यान खिचेको थियो । हामीसँग बोल्न लजाएकी ती अबोध बालिकाको नामबाहेक अरू सोध्न उपयुक्त ठानिनँ । त्यसैले आज बिहानै उनको घरमा आएकी थिएँ ।

उनी घरको पिँढीमा भाइबहिनीलाई खाना खुवाउँदै थिइन् । आँगनमा कुखुराले आफ्ना चल्लालाई चारो खुवाउँदै थियोे । सानो खरले छाएको घर, भित्र अँगेनाको छेउछाउमा रहेको विस्तारा बाहिर पिँढीबाट सजिलै देखिन्थ्यो । उनको घरको आँगनमा मेरो आगमनले उनी मुसुक्क मुस्कुराइन् र मलाई पिँढीमा बस्नका लागि मकैको भुत्लाले बनेको चकटी दिइन् । उनका बाबु घरमा थिएनन्, आमा पनि बाहिर निस्किन् । स–साना नानीबाबुहरू बिहानै थालभरी भात खाँदै थिए । थालमा दाल तरकारी थिएन । पछि थाहा पाएँ भात र ढिँडो नुनसँगमात्र खाने चलन रहेछ । एकछिनपछि अनिताको खाना पनि आमाले ल्याइदिनु भयो । उनी लजाइन्, मैले खाउँ भनेपछि उनले पनि खान सुरु गरिन् ।

चेपाङ नेपालको उत्पीडित आदिवासीमध्येको एक जाती हो । राउटे कुसुण्डाजस्तै वनजंगलको वरिपरि कन्दमूल गिठ्ठा भ्याकुर, शिकार गरेर आफ्नो जीविकोपार्जन गर्दै आएको चेपाङ पछिल्लो समय विकसित बन्दै गएको छ । कृषिमा आत्मनिर्भर बन्दै शिक्षा र अन्य पेशामा पनि सक्रिय बन्दै गएका छन् । प्रायः मध्यपहाडी जिल्ला धादिङ्ग, मकवानपुर, चितवन, गोर्खा लगायत आसपासका जिल्लाहरूमा यो आदिवासी समुदाय देख्न सकिन्छ । वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा करिब ७० हजार जनसंख्या भएको तथ्याङ्क छ ।

              लक्ष्मी चापागाईं

गाउँकै स्थानीय स्कुलमा ३ कक्षासम्मको अध्ययनपछि पढाइ छाडेर बसेकी अनिताका उमेरका साथीहरू गाउँमा थिएनन् । अधिकांश किशोरीहरूको विवाह भइसकेको रहेछ भने केही उनका उमेरका युवायुवती ज्याला मजदुरीका लागि सहर पसिसकेका रहेछन् । नेपालका विभिन्न भौगोलिक स्थानहरूको सामाजिक, सांस्कृतिक अध्ययन र अनुसन्धान गर्ने क्रममा देशका अधिकांश ग्रामीण भूभागमा बालविवाह अझै यथावत रहेछ । चेपाङ आदिवासी पनि अछुतो रहेनछ । पृथ्वी राजमार्गको धादिङ्ग जिल्लाको मझेरीटार बजारपछि २७ किलोमिटरको कच्ची पहाडको बाटोमा जिपको यात्रा र ३ घण्टा पैदल यात्रापछि मात्र यो अनिताको गाउँ डुङ्गबाङ्ग पुगिन्छ । सम्पूर्ण चेपाङबस्ती रहेको यो गाउँमा करिब ६६ घर छन् ।

अनिता र उनका भाइबहिनीहरूले खाना खाएको दृश्य रोचक थियो । म उनीहरूले खाएको हेरिरहेँ । धेरै मीठो स्वादमा कपाकप खाइरहेका थिए । कतिपय सहर तथा गाउँका बालबालिकाहरू खाने कुरा यो खान्न, मलाई मन पर्दैन भनेर झगडा गरेको देखेको छु । छोराछोरीलाई फकाएर वा मोबाइल देखाएर खुवाउने चलन बढ्दै गएको छ । स्वयं बाबुआमाले नै मेरी छोरीलाई यो मन पर्दैन छोरालाई यो मन पर्दैन भनेर उनीहरूकै अगाडि बखान गाएका हुन्छन् । हाम्रो समाजमा देखिएका ती दृश्य र मैले अहिले देखिरहेको यो दृश्यमा आकाश पातालको फरक थियो । तर यहाँ यी अबोध बालबालिकाको न आफ्नो रोजाइ थियो न बाबुआमाको कुनै आग्रह नै । उनीहरूले बिहान ७ बजे खाएपछि साँझमा ५ बजे, दिनमा दुई छाकमात्र खाने बानी रहेछ । अनिताले खाना खाइसकेपछि आज तिम्रो के काम छ भनेर सोधँे । उनको आज खासै काम नभएको हुँदा मसँगै जाने मेरो अनुरोधलाई सहजै स्वीकारिन् । उनले भित्र गएर आमालाई आफ्नो भाषामा सोधिन्, आमाले सायद हुन्छ भनेको हुनुपर्छ । उनी खुसीले हत्तपत्त पिँढीमाथि छानामा सिउरिएको सल घाँटीमा बेर्दै चप्पल लगाएर मसँग जान राजी भइन् । त्यसपछि हामी गाउँका वृद्ध, असहाय, सुत्केरी र बिरामीहरूलाई न्यानो कपडाहरू बाँड्नको लागि हिड्यौं ।

हामी त्यस गाउँको जलदेवी आधारभूत विद्यालयका बालबालिकालाई साईकल, कपडा, जुत्ता, झोला, शैक्षिक सामाग्री, खाद्यान्न लिएर त्यहाँ पुगेका थियौं । राजधानी सहर नजिक भए पनि दुर्गम स्थानमा रहेको यो गाउँ धादिङ्ग, मकवानपुर र चितवन जिल्लाको सिमानामा पहाडको बीच भागमा अवस्थित छ । किताबको पानामा मात्र गाडी र बिजुली बत्ती देखेका त्यहाँका अवोध ती बालबालिकाहरूको शिक्षा, स्वास्थ्यका लागि विगत ४ वर्षदेखि निगरानी गरिरहेका छौं । साथै, अभिभावक र चेपाङ्ग समुदायको सामाजिकस्तर बढाउनको लागि हरेक वर्ष दुईतीन पटक हामी निपेश ढाका फाउण्डेसनमार्फत त्यस गाउँमा पुग्ने गरेका छौं ।

गाउँमा एक घरबाट अर्को घर जाँदा धेरै हिँड्नुपर्ने थियो । बाटोमा अनितासँग मैले कुरा गर्न खोजेको थिएँ । उनले पनि मसँग खुलेर कुराकानी गरिन् । मैले उनलाई बिहे नगर्ने भनेर सोधे ? उनी मुस्कुराइन् मात्र । उनको मौनतामा सबै साथीहरूको बिहे भइसकेकोले उनी मानसिक रूपमा विवाहको लागि तयार भएको मैले अनुभूति पाएँ । आफूले मनपरेकोसँग बिहे गर्न पाइने उनको समुदायमा पारिवारिक बाध्यता रहेनछ यो सुनेर म अचम्ममा परेँ । मैले उनलाई सोधेँ के तिमीले मनपर्ने भेट्यौ त ? उनी लजाउँदै भन्छिन् ‘कहाँ भेट्नु, नाइँ म अहिले नगर्ने मेडम ।’ मैले फेरि सोधँे ‘कहिले गछ्रर्यौ त बिहे ?’ ‘भाइबहिनीहरूको हेरचाह गर्नुपर्छ, बाबा रोगी हुनुहुन्छ, आमा सक्नुहुन्न’ मधुरो स्वरमा उनले भनिन् । उनको पारिवारिक कारण नै अहिलेसम्म विवाह नभएको हुन सक्ने सजिलै आकलन गर्न सकिन्थ्यो । उनको उमेर पनि कहाँ पुगेको छ र ? तथापि सामाजिक र सांस्कृतिक पक्षले उनको मानस पटलमा छाप पारिसकेको रहेछ । यो बढो कहाली लाग्दो थियो । हामी अझै बाल विवाहको बारेमा धेरै कानुनी रूपमा कुरा गरिरहेका छौं । तर २१ औं शताब्दीमा पनि अनिताजस्ता लाखौं बालिकाहरू विवाह गर्न बाध्य भएका छन् । कयौं बालिकाहरू मातृप्रश्रय पीडाले मृत्युको मुखमा पुगेका घटनाहरू सुनिरहेका छौं । यो सामाजिक समस्याले ग्रामीण भूभागमा अन्धविश्वास र प्रथाको रूपमा स्थापित रहेको अझै पनि प्रष्ट हुन्छ ।

एक वर्षअघि रजस्वला भएकी अनिता कसैलाई नछोइ अलग्गै बस्नुपर्ने रहेनछ । पश्चिमी भूभागका केही ग्रामीण ठाउँमा रजस्वला हुँदा छाउपडीमा बस्ने प्रथा अनिताको समुदायमा रहेनछ । यो भने मलाई सकारात्मक पक्ष लाग्यो । बाटोमा मैले उनलाई के–के मनपर्छ भनी सोध्दा उनले पढ्न लेख्न रुचि रहेको अभिव्यक्ति दिएकी थिइन् । त्यस्तै, मिठाइ, बिस्कुट, चाउचाउ खान मनपर्ने, राम्रा लुगाहरू लगाउन, चुरा लगाउन ठूलो इच्छा रहेछ । अझ जिन्स पाइन्ट र टिसर्ट लगाउन त उनको ठूलो धोको रहेछ । गीत गाउन र नाच्न उनको त्यो सोख भनिरहँदा उनका आँखाभरि रहर र सपना भाव प्रष्ट झल्किन्थ्यो । यी अबोध बालिकाका रहर र सपना आधारभूतभन्दा पनि न्यून रहेछन् । साँच्चै लाखौं अनिता चेपाङहरूको रहर र सपना के होला मलाई झन् कौतुहलता बढ्यो ।

करिब १५ घरधुरी पुगिसकेपछि हामी फर्कियौंै र खाना खाएर स्कुलमा पुग्यौं । हामी आउने थाहा भएपछि शिक्षक, विद्यार्थी लगायत गाउँका बासिन्दाहरू स्वागतका लागि बस्नुभएको थियो । विद्यार्थी र अभिभावक सबै खुसी देखिन्थे । हामीले सबै विद्यार्थीहरूलाई कपाल काटेर नुहाइदियौं । अनिता पनि सहयोग गर्न सरिक भइन् । उनका पनि ४ बहिनीहरू र भाइ पनि त्यही स्कुलमा पढ्थे । स्कुलमा सरसफाइसँगै ल्याएका सामानहरू वितरण ग¥यौं । अनिताले सम्पूर्ण क्रियाकलाप खुब रोचकका साथ हेरिरहेकी थिइन् र हामीलाई सघाएकी पनि थिइन् । हामी भोलिपल्ट सबैलाई स्वास्थ्य, सफासुग्घरको लागि विद्यार्थी तथा अभिभावकलाई सामूहिक कार्यक्रमपछि काठमाडौं फर्कियौं ।

७ महिनापछि मंसिर महिनामा हामी फेरि न्यानो कपडाहरू लिएर डुङ्गबाङ अनिताको गाउँमा पुग्यौं । यसपालि मैले अनिताका लागि मनपर्ने सबै कुरा लिएर गएकी थिएँ । सबैभन्दा पहिले अनितालाई भेट्ने इच्छा थियो । हामी स्कुलमा पुगेपछि सबै गाउँलेहरू जम्मा हुनु भएको थियो । तर त्यहाँ मैले अनितालाई देखिन । कतै उनले बिहे पो गरिन् कि ? कतै सहर झरिन् कि भन्ने मनमा धेरै प्रश्नहरू एकैसाथ उब्जियो । एकछिन पछि म उनको घरमा पुगे । उनको घरको आँगन पिँढी धेरै सफा थियो । उनी घरभित्र खाना पकाउँदै रहिछन् । मलाई देखेर उनी जति खुसी भइन् त्योभन्दा कयौं गुणा म खुसी थिएँ । मैले उनीलाई अँगालिहालेँ र उनलाई झोलासहित सामानको पोको दिएँ । उनलाई मैले ल्याएको कपडा लगाएर आउ है भनेर म हिँडे । साँझमा उनी हामी बसेको ठाउँमा आइपुगिन् । जिन्स पाइन्ट, टिसर्ट र चुरामा सजिएकी अनिता साँच्चै सहरकी केटीजस्तै देखिएकी थिइन् । लजाएकी उनमा अझ सुन्दरता झल्किएको थियो । उनको अनुहारको चमकले त्यो साँझको समय पनि उज्यालो दिप जस्तो झलमल्ल बनाइदिएको थियो ।

उनलाई खुट्टामा लगाउने मलम, नङ पालिस, चकलेट चाउचाउ सबै कुरा मैले झोलामा दिएको थिएँ । अनितालाई दिएको सामानसँगै प्रेरणादायी कथाका किताबहरू, भित्री वस्त्र र महिनावारीको समयमा प्रयोग गरिने सेनेटरी प्याड, सुती कपडाका रुमालहरू पनि थिए । प्याडको प्रयोग र व्यवस्थापन बारेमा राम्रोसगँ बुझाएपछि रजस्वला हुँदा सरसफाइमा कसरी ध्यान दिने र भविष्यमा आउन सक्ने समस्यादेखि संक्रमण रोगका बारेमा अनितालाई व्यक्तिगत रूपमा साथै चेपाङ्ग महिलाहरूलाई सामूहिक रूपमा बुझाउँदा सबैले सरसफाइमा ध्यान दिने प्रण गर्नुभएको थियो । साथै यसपालि सबै घरधुरीलाई पुग्ने तरकारी बिउविजन पनि दिएका थियौं ।

यसपालि हाम्रो बिदाइको बेलामा उनको आँखामा आँसु देखिएको थियो । त्यो आँसु मेरै सन्तानको अनुभूति भयो म पनि भक्कानिएँ । अहिले अनिताको त्यो आँसु हरेक ग्रामीण भूभागमा बस्ने बालिकाको प्रतिनिधित्व थियो । अहिले सहर तथा गाउँमा युवायुवतीहरूमा विकृति बढ्दै गएको छ । मोबाइल फोन र सामाजिक सञ्जालको अश्लील प्रयोग, नैतिकता र संस्कार संस्कृतिमा अराजकता, आमाबाबुसँग अटेरी गर्ने बालबालिकाको बानी खराब बन्दै गएको छ ।

अनितालाई सहरमा ल्याएर सबैकुरा देखाउने, सिकाउने र आत्मनिर्भर बनाउने रहर मेरो मनमा नभएको होइन । तथापि उनको मनोविज्ञानलाई उचित व्यवस्थापन गर्न नसक्दा असर पर्न जान्छ कि भन्ने डरले सताएको थियो । गाउँमा उनका जति इच्छा चाहना र आशा छन् सहर आइसकेपछि अभैm धेरै हुने र उनको जीवन निराशामा बदलिने पो हो कि भन्ने भयले मैले उनलाई ल्याउन सकिन । उनीलाई भोलिका दिनहरूमा अभिभावकको अनुभूति दिलाउने प्रण गरेको छु । तथापि, मेरो मानसपटलमा अनिताजस्ता लाखौं बालिकाहरूको सामाजिक चेतना अभिवृद्धि गनुपर्ने अति आवश्यक ठानेको छु । अनिताका सपना रहर र सपना पूरा गर्न नसके पनि अबको मेरो जिवन सयौं वालिकाहरूलाई सामाजिक अभिवृद्धि गर्ने अभियानमा निरन्तर लागिरहने प्रण गरेको छु । अहिले अनिता र अनिताको गाउँलाई कस्तो छ होला ? यो महामारी कोरोना संक्रमण सकिएपछि छिट्टै भेट्न जाने त्यो सुनौलो दिनको व्यग्र प्रतीक्षामा बसिरहेको छु ।

चर्चामा

सम्बन्धित समाचार