शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • हत्या आरोपमा २७ वर्ष जेल बसेपछि निर्दोष ठहर

हत्या आरोपमा २७ वर्ष जेल बसेपछि निर्दोष ठहर

  • शुक्रबार, साउन २३, २०७७
हत्या आरोपमा २७ वर्ष जेल बसेपछि निर्दोष ठहर

एजेन्सी —

दुई बच्चाहरुको हत्या अभियोगमा २७ वर्ष जेल सजाय काटेका एक चिनियाँ व्यक्ति अदालतले निर्दोष ठहर गरेपछि जेलमुक्त भएका छन् । आधुनिक चीनको इतिहासमा न्याय नपाएर यति लामो समय जेल बस्नुपरेका निकै कम घटनामध्ये यो एक हो । पूर्वी जियाङसी प्रान्तस्थित सर्वोच्च जनअदालतले पर्याप्त प्रमाण नपुगेको भन्दै उनलाई ‘दोषी ठहर’ नगरेको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ । आफुमाथिको अभियोग गलत प्रमाणित गर्नका लागि यी व्यक्तिले लामो समय कानूनी लडाइँ लडे । कसरी जेल परे ? १९९३ मा दुई बालकहरु जियाङ्सी प्रान्तको नान्चाङ शहरमा मृत भेटिए । प्रहरीले उनीहरुका छिमेकी झाङले नै हत्या गरेको आशंका गर्यो । १९९५ मा झाङलाई दुई वर्षको माफीसहित मृत्युदण्डको सजाय सुनाइयो, जसको अर्थ दुई वर्षको अवधिमा उनले अन्य कुनै अपराध गरेनन् भने मृत्यदण्डको सजाय आजीवन कारावासमा परिणत हुने भन्ने हो । तर झाङले आफु हत्यारा नभएको भन्दै माथिल्लो अदालतमा अपिल गरे, उनले प्रहरीले छानविनका क्रममा आफुलाई यातना दिएको दाबी पनि गरेको थिए । माथिल्लो अदालतले फेरि सुनुवाई गर्न आदेश दियो । तर २००१ सम्म सुनुवाई भएन । यस अदालतले पनि पुरानै फैसलालाई सदर गर्यो र पछि अपिल पनि खारेज गरिदियो । झाङ र उनको परिवारले निर्दोष रहेको जिकिर गरिरहे र अन्त्यमा गत मार्चमा जियाङसीको सर्वोच्च जनअदालतले यो घटना फेरि ब्युँतायों । मंगलबार उनी दोषी भेटिएनन् । ‘जब हामीले विषयवस्तुलाई फेरि नियाल्यौं । हामीले भेट्यौ कि झाङको संलग्नता प्रमाणित गर्ने त्यहाँ कुनै प्रत्यक्ष आधार छैन । त्यसैले हामीले अधिवक्ताहरुको सल्लाहलाई स्वीकार ग¥यौं र झाङलाई निर्दोष ठहर गरेका छौं,’ न्यायाधीश टियान गानलिनले भनेका छन् । ग्लोबल टाइम्समा प्रकाशित समाचारअनुसार झाङले अब क्षतिपूर्तिका लागि निवेदन दिन पाउनेछन् । गलत अभियोगका कारण आफ्नो जीवनको उत्कृष्ट समय खेर गएको प्रतिक्रिया झाङले दिएका छन् । उनका दुई छोराहरु अहिले विवाहित छन् र उनीहरुका पनि बालबच्चा भइसकेका छन् । ‘गलत अभियोग लागेर म र मेरो परिवारमाथि भइसकेको क्षतिलाई क्षतिपूर्तिले कम गर्न सक्दैन । तर अझै पनि मलाई मेरो घर मर्मत गर्न र मेरी आमाको स्याहार गर्नका लागि क्षतिपूर्ति पाउनेछु भन्ने आशा छ,’ झाङले चाईना डेलीसँग भनेका छन् । आपराधिक मुद्दामा अन्याय वर्षौदेखि मानवअधिकारवादीहरुले चीनको कानूनी प्रणालीको आलोचना गरिरहेका छन् । यस प्रणालीले निष्पक्ष सुनुवाई नगरेको तथा हिरासतमा यातना र खराब व्यवहार गरेको उनीहरुको आरोप छ । चीनले आफ्नो कानूनी प्रणाली सुधार्न प्रयास पनि गरेको छ । ग्लोबल टाइम्सको रिपोर्टअनुसार चीनले आधिकारिक रुपमै १९९६ मा ‘दोषी प्रमाणित नभएसम्म निर्दोष रहने’ कानूनी मान्यतालाई अंगीकार गरेको थियो । चीनको आलोचित न्याय प्रणालीलाई निष्पक्ष बनाउन माग गर्दै २०१३ मा कम्युनिष्ट पार्टीको लिगल कमिसनले नयाँ निर्देशिका जारी गरेको थियो । यद्यपि, देशको कानूनी प्रणाली समस्या कायम छ । आफुमाथि लागेको आरोप गलत प्रमाणित गर्नु सर्वसाधारणका लागि असामान्य मानिन्छ, तर आरोप गलत प्रमाणित भएको यो पहिलो घटना भने होइन । आफ्नी श्रीमतीको हत्यामा दोषी भेटिएर १७ वर्षसम्म जेल सजाय काटेका एक व्यक्ति २०१३ मा प्रमाण नपुगेको भन्दै निर्दोष ठहर भएर जेलमुक्त भएका थिए । नई सुबिनलाई फाँसी दिइएको झन्डै दुई दशकपछि २०१६ मा चीनको सर्वोच्च अदातलले उनीमाथिको बलात्कार र हत्या आरोप गलत रहेको फैसला सुनाएको थियो । श्रोतः सिएनएन

चर्चामा

सम्बन्धित समाचार