शनिबार, अशोज १०, २०७७
  • होमपेज
  • सुचना प्रबिधी
  • सीडीएमएका गए दिन

सीडीएमएका गए दिन

  • बिहिबार, साउन २२, २०७७
सीडीएमएका गए दिन

कुनैबेला ग्रामीण भेगमा सञ्चारको भरपर्दो साधन बनेको थियो, कोड डिभिजन मल्टिपल एक्सेस (सीडीएमए) फोन । मोबाइल फोन र सिमकार्ड किन्न नसक्नेहरु गाउँगाउँ पुगेको व्यवसायिक प्रयोजनमा सीडीएमए फोनमा निर्भर थिए ।

अब भने यो प्रविधिलाई निरन्तरता नदिने निष्कर्षमा नेपाल टेलिकम पुगेको छ । टेलिकमका प्रवन्ध निर्देशक डिल्लीराम अधिकारी अबको एक वर्षभित्र सीडीएमए प्रविधिलाई ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन (जीएसएम)ले विस्थापित गर्ने योजना बनेको बताउँछन् ।

अब सीडीएमए फोनहरुलाई जीएसएम प्रविधिमा ढालिनेछ । त्यसका लागि टेलिकमले करिब ५०० वटा टावरमा प्रविधि रुपान्तरणको काम गरिरहेको छ । ‘प्रविधिमा आएको परिवर्तनका कारण सीडीएमएलाई निरन्तरता दिन नसकिने अवस्था आएको हो,’ अधिकारी भन्छन्, ‘यो प्रविधि रुचाउनेहरुलाई पनि हामी निरास पार्दैनौं ।’

नेपालको ग्रामीण भेगमा दूरसञ्चार सेवा पु¥याउन सीडीएमएको ठूलो योगदान छ । अहिले प्रविधिले साथ नदिए पनि सीडीएमएको विगत ‘चम्किलो’ रहेको टेलिकमका प्रवन्ध निर्देशक अधिकारी बताउँछन् ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीनप्रसाद आर्यालका अनुसार सिडीएमए प्रविधिमा सेवा थालेको यूटीएलले पनि अहिले सेवा बन्द गर्नुपरेको छ ।

नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक बुद्धि आचार्य ग्रामीण क्षेत्रको सञ्चारमा सीडीएमए प्रविधिले क्रान्ति गरेको बताउँछन्
सीडीएमएको त्यो क्रेज

टेलिकमले सन् २००५÷००६ तिर सीडीएमए प्रविधिको परीक्षण सुरुआत गर्दा धेरैजसो गाउँघरमा टेलिफोन प्रविधि पुगिसकेकै थिएन । सानो परियोजनाका रुपमा सुरु भएको सीडीएमए प्रविधिमा टेलिकमले लगानी बढाएपछि २०११ यता यो सेवा व्यापक र लोकप्रिय बनेको थियो ।

सीडीएमए सेवामा टेलिफोनजस्तै ठूलो सेट वा मोबाइलजस्तै डिभाइसबाट कुरा गर्न सकिने विकल्पहरु थिए । सुरुमा फिक्स्ड लाइन (बेसिक टेलिफोन)मा अनुमति लिएको टेलिकमले पछि सीडीएमएमा लिमिटेड मोबिलिटीमा पनि सेवा थालेको थियो ।

त्यतिबेला ल्यान्डलाइन फोन नपुगेका स्थानका चियादेखि किराना पसलहरुसम्म सीडीएमए फोन राखियो । त्यसले ग्रामीण क्षेत्रमा व्यवसायिक सेवा दियो । मिनेटका आधार पैसा उठाएर सीडीएमएबाट कमाइ गर्नेहरुको संख्या ठूलो थियो ।

ग्रामीण भेगका सरकारी कार्यालय, सहकारी, क्लव तथा संघसंस्थामा सीडीएमए फोनको विकल्प पनि थिएन । ग्रामीण भेगमा ताररहित फोन पनि चल्न सक्छन् भन्ने ज्ञान सीडीएमएले नै फैलाएको थियो ।

नेपाल टेलिकमका पूर्व प्रवन्ध निर्देशक बुद्धि आचार्य ग्रामीण क्षेत्रको सञ्चारमा सीडीएमए प्रविधिले क्रान्ति गरेको बताउँछन् । हुनपनि, त्यो बेला विदेश वा नेपालकै शहरहरुमा रहेका प्रियजनसँग केही मिनेट कुरा गर्न घन्टौं हिँडेर जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो । ‘त्यस्तो बेला गाउँमै एउटा सीडीएमए पुग्नु भनेको बडा गजबको कुरा थियो,’ आचार्य भन्छन्, ‘गाउँघरमा विकासको चेतना फैलाउन पनि सीडीएमएको भूमिका महत्त्वपूर्ण रह्यो ।’

विकट ग्रामीण क्षेत्रमा व्यक्तिगत तथा संस्थागत सूचना र सन्देश आदान–प्रदान गर्न सीडीएमएले ठूलो सहजता ल्याएको उनी सम्झन्छन् । नेपाल टेलिकमको सीडीएमए फोनका प्रयोगकर्ता साढे १७ लाख पुग्नुले पनि यसको महत्व र लोकप्रियता देखाउँछन् । त्यतिबेला सीडीएमए प्रयोगकर्ता सबै ‘डेडिकेटेड’ थिए । अहिलेजस्तो नम्बर लिएर प्रयोग नगर्ने जमाना नै थिएन, त्यो । सीडीएमए प्रविधिको फोन केही महँगो पनि थियो । जसले किन्थे, उसले मजाले चलाउँथे । गाउँहरुमा धेरैले अरुलाई सेवा बेच्न पनि यो फोन किनेर चलाएका थिए ।

समयक्रममा आएका नयाँ–नयाँ प्रविधिले सीडीएमएलाई छायामा पार्दै लैजानु स्वभाविकै थियो । अहिले सीडीएमए प्रयोगकर्ताको संख्या ९ लाखमा झरेको छ । टेलिकम पनि यसलाई ‘फेजआउट’ गर्ने निधोमा पुगेको छ ।

कसरी भयो सेवा विस्तार ?

२०१० मा टेलिकमले ताररहित टेलिफोन सेवा विस्तार गर्ने योजना बनाएपछि शहरका लागि जीएसएम र ग्रामीण क्षेत्रका लागि सीडीएमए प्रविधि रोजियो । टेलिकमका पूर्वप्रवन्ध निर्देशक आचार्यका अनुसार शहरी क्षेत्रमा फोनको चाप हुने भएकाले जीएसएमको विकल्प थिएन । शहरमा फोनको घनत्व पनि बढी हुने र जीएसएमका बीटीएस टावरले सानो–सानो क्षेत्र कभरेज गर्ने भएकाले शहरमा जीएसएम रोजिएको थियो ।

टावर नेटवर्क कभरेजका हिसाबले भने सीडीएमए प्रभावकारी हुन्थ्यो । सीडीएमएको एउटा टावरले नै १०–१२ किलोमिटरको क्षेत्रमा राम्रो कभरेज दिन्थ्यो । ग्रामीण क्षेत्रमा फोनको चाप कम हुने र नेटवर्क कभरेज पनि राम्रो हुने भएकाले सीडीएमए प्रविधि विस्तार गरिएको थियो ।

‘हामीले सीडीएमए विस्तार गर्दा अब त जीएसएमको युग भनिँदै थियो, तर देशको भौगोलिक अवस्थालगायतका कारण त्यतिबेला जीएसएम गाउँ–गाउँसम्म पु¥याउनु चुनौतीपूर्ण थियो,’ आचार्य भन्छन्, ‘त्यसैले पनि हामीले गाउँ–गाउँमा सीडीएमएमार्फत सेवा दिन सक्यौं ।’

पहाड र कुनाकन्दरामा सेवा दिन सीडीएमए प्रभावकारी भयो । जीएसएमको नेटवर्क नपुगेका खोल्साखाल्सीसम्म सीडीएमएका टावरले सजिलै टिप्थ्यो ।

सीडीएमए प्रविधिलाई टेलिकमले ‘स्काइ’ ब्रान्डमा ल्याएर प्रवर्द्धन गरेको थियो । सीडीएमएबाट ‘ई–भिडियो’ (डाटा सेवा) लिन पनि सकिन्थ्यो । ग्रामीण भेगमा सीडीएमएमार्फत डायल अप इन्टरनेट पनि खुबै रुचाइयो ।

ओरालोतिरको यात्रा

सीडीएमए लोकप्रिय हुँदै गर्दा निजी सेवा प्रदायक कम्पनी ‘मेरो मोबाइल’ (हालको एनसेल) ले जीएसएम सेवा थाल्यो । ग्रामीण क्षेत्रमा बीटीएसहरु राख्यो ।

त्यसपछि सीडीएमएको उकालो यात्रामा बिराम लाग्यो । महँगो परे पनि ग्रामीण क्षेत्रमा जीएसएम सेवा लैजान टेलिकम पनि बाध्य भयो । त्यसपछि टेलिकमका जीएसएम र सीडीएमए दुवै प्रविधिमा सेवा चल्न थाले । जीएसएम प्रविधिलाई बढी रुचाइयो ।

सीडीएमएमाजस्तो नम्बर लिएर ‘सेट फिक्स’ गर्नुपर्ने झन्झट जीएसएममा थिएन । जुनसुकै सेटमा सिम हाल्न पाइने भएकाले धेरैले त्यसलाई रुचाए । त्यसबाहेक फोन गर्दागर्दै नम्बर सेभ गर्न मिल्ने लगायतका जीएसएमका प्रविधिहरुमा मान्छेको ध्यान गयो ।

विश्वव्यापी रुपमै जीएसएम फोनको बजार उकासिदै जाँदा नेपालमा पनि सीडीएमए विस्तारै अवहेलनामा पर्दै गयो । एकजना टेलिकम इन्जिनियरका अनुसार अमेरिकाले विकास गरेको सीडीएमए प्रविधिमा सेक्युरिटिका लागि कम ‘फेक्जिबिलिटी’ थिए । त्यसले गर्दा पनि जीएसएमभन्दा बढी झन्झटिलो भयो । विकल्पमा विकसित प्रविधि आएपछि सीडीएमएमा मानिसको चासो गएन ।

ती इन्जिनियर भन्छन्, ‘उपकरण बनाउने कम्पनीले अमेरिकालाई बौद्धिक सम्पत्तिबापतको शुल्क तिर्नुपर्ने भएकाले पनि सबै दूरसञ्चार कम्पनी जीएसएममै लागे ।’

सेक्युरिटीमा बढी जोड दिएकाले नै यो प्रविधिमा ठूलो अपग्रेड पनि भएन । ‘२.५जी’ सम्म सपोर्ट गर्ने सीडीएमए प्रविधि थ्री–जी आएपछि झन् छायामा पर्दै गयो । सीडीएमए उपकरणहरुको उत्पादन पनि कम हुन थाले । बजारमा यो प्रविधिका सेट पाइनै छाडे ।

२०१५ मा आइपुग्दा नेपाल टेलिकमले पनि पाँच वर्षभित्र सीडीएमए प्रविधिलाई विस्थापित गरिसक्ने लक्ष्य निर्धारण ग¥यो । त्यसपछि सेवा विस्तार मात्रै रोकिएन, थप लगानी पनि हुन छाड्यो ।

प्रविधि पुरानो भएकाले उपकरण र सफ्टवेयर नपाएर टावरहरुको मर्मत झन्झटिलो भयो । यो प्रविधिका सामान उत्पादक कम्पनीले बजार नभएपछि उत्पादन गर्ने क्रम लगभग बन्द गरे । त्यसैकारण नेपाल टेलिकम यो सेवाका ग्राहकलाई जीएसएममा रुपान्तरण गर्ने प्रक्रियामा लागेको छ ।

टेलिकमका पूर्व प्रवन्ध निर्देशक आचार्य युगले मागेको प्रविधिलाई आत्मसाथ गर्नै पर्ने बताउँछन् । ‘सीडीएमएले टेलिकमलाई कहिल्यै घाटामा लगेन, ग्रामीण भेगमा यसको सेवा अतुलनीय रह्यो’, उनी भन्छन्, ‘र पनि, युगको मागअनुसार यसलाई विदा गर्न परेको छ ।’

चर्चामा

सम्बन्धित समाचार