शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • कविता-“तमसुक चिरीदेउ….”

कविता-“तमसुक चिरीदेउ….”

  • आइतवार, साउन १८, २०७७
कविता-“तमसुक चिरीदेउ….”

मैले जौको रोटी नुनसँग
भोक मेटाउन मीठो गरि खाँन्थे
हजुर मलाई हेर्दै मुस्कुराउनु हुन्थ्यो
आमा हजुरको रित्तो पेट
त्यो बेला बाहिरबाट पटुकी कसेर
डम्म अघाएको जस्तो देखिन्थ्यो
मलाई के थाहा हजुर भोकै रहेर
मेरैलागि दानापानी जुटाउनुहुन्छ
म त हजुरको न्यानो साथ
हजुर कै माया ममताले लठ्ठै हुन्थे
अनि,
जसरी मलाई हुर्काउनु भयो
खुवाउनु भयो पढाउनु भयो
हजुरबाट अचेल टाढा हुँदा
मलाई महसुस भएको छ
म बिना कसरी दिन बित्छ खै ?
मेरा बा त बा नै भए जिउँदा सहिद
दन्दकालका सिकार सोझा मेरा बा
फलाम पिटेर मानाको जोहो गर्ने बा
बन्दुक बनाएको आरोपमा निकै कुटीए
थला परे, अपांग भए, होस् गुमाए
आज जिउँदो लास बने मेरा बा
हाम्रो राज्यबाट यही उपमा पाए बाले
जे भएपनि बाआमाको धनी छु म
आमा !
बालाई स्याहार्दै दिन बित्छ होला है ?
बालाई थाहा नै छैन म कहाँ छु भनेर
बालाई भन्नू है फेरि फलाम पिट्नुपर्दैन
छोरो कमाउन गएको छ हाम्रैलागि
आमा अब भोकै बस्नु पर्दैन है
म छुनि अघाउन्जेल खान दिने
आफ्नो रित्तो पेट खाएरै डम्म पार्नु
अब त,
साहुको ऋणपनि चुक्ता भइसक्यो
जमानी बसेका पोल्ला घरे काका
साथमा लिएर जानू साहुको घरमा
हामिले भाका भित्रै ॠण तिरेका छौ
साहुलाई भन्नू तिम्रो ॠण चुक्ता भयो
साहु बा अब त त्यो तमसुक चिरीदेउ
भयो,
बिरानो मुलुकमा कति बस्नु एक्लै
आमा म छिट्टै घर आउँदै छु
बाबा म छिट्टै घर आउँदै छु
मेलाको बाँझो त्यो खोरीया खनौला
आफ्नै उर्वर माटोमा पसिना रोपला
एक सरो लाउला एकै छाक खाउला
सधैं खुशी भएर सँगै बसौला है ?

चर्चामा

सम्बन्धित समाचार