शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • कोरोना महामारी र सलहको त्रासबीच मनाइँदैछ धान दिवस

कोरोना महामारी र सलहको त्रासबीच मनाइँदैछ धान दिवस

  • सोमवार, असार १५, २०७७
कोरोना महामारी र सलहको त्रासबीच मनाइँदैछ धान दिवस

काठमाडौं — आज (सोमबार) असार १५, दही चिउरा खाँदै नाच्दै गाउँदै रोपाइँ गरेर राष्ट्रिय धान दिवस मनाइँदैछ । कोरोना भाइरसको महामारी र सलह किराको त्रासका बीच कृषक यो दिवसलाई मनाइरहेका छन् । कषि मन्त्रायल र अन्य सरोकारवाला निकायले पनि यस दिवसको अवसरमा विविध कार्यक्रम राखेको छ ।

राष्ट्रिय धान दिवस मनाउन कृषि मन्त्री घनश्याम भुसाल उदयपुर पुगेका छन् । त्रियुगा नगरपालिकाले वडा नं. १३ बहेडवा भन्ने स्थानमा सामूहिक रुपमा धान रोपेर धान दिवस मनाइने छ । बहेडवामा १६० बिघा जग्गा चक्लाबन्दी गरिएको छ । १०–१० कठ्ठाको एउटा गह्रो बनाइएको छ । त्यहाँ यान्त्रीकरणबाट धान रोप्ने कार्यक्रम छ । कार्यक्रममा सहभागी हुन कृषिमन्त्री भुसाल आइतबार राति नै उदयपुर पुगेका थिए ।

कृषि विभागले कृषि अनुसन्धान परिषद् खुमलटार परिसरमा सामाजिक र व्यक्तिगत दूरी कायम गर्दै रोपाइँ महोत्वसव गर्दैछ । कोभिड–१९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै निश्चित सहभागितामा मास्क र स्यानिटाइजर प्रयोग गर्दै रोपाइँ महोत्वस गर्न लागिएको विभागका महानिर्देशक कञ्चनराज पाण्डेले जानकारी दिए ।

विसं २०६१ मा विश्वका ४३ मुलुकले संयुक्त राष्ट्र संघलाई अन्तराष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरे । उक्त समूहमा रहेका ४३ मध्येका एक राष्ट्र नेपाल पनि थियो । विश्वका झण्डै आधा जनसंख्याको मुख्य आहार मानिने धान उत्पादन प्रोत्साहन गर्न र बढ्दो भोकमरी नियन्त्रणमा सघाउ पुर्‍याउन उक्त कदम चालिएको थियो ।

विसं २०६१ अर्थात सन् २००४ मा संयुक्त राष्ट्र संघले ‘धान नै जीवन हो’ भन्ने नारासहित उक्त घोषणा गरेको थियो । राष्ट्र सङ्घले धान वर्ष घोषणा गरेपछि विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी पहिलो पटक विसं २०६२ असार १५ गतेदेखि नेपालमा धान दिवस मनाउन थालिएको पूर्वकृषि सचिव उत्तमकुमार भट्टराई बताउँछन् ।

धान खेतीमा कृषकलाई प्रोत्साहन गर्न सरकारबाटै असार १५ लाई धान दिवसका रुपमा उल्लासमय रुपमा मनाउन सुरु गरिएको थियाे । अहिले कोभिड महामारीका बीचमा पनि किसान हतोत्साही नबनुन् भनेर दिवश मनाइएकाे मन्त्रालयले जनाएको छ ।

नेपालमा धान खेती र अर्थतन्त्र

नेपालमा मुख्य गरेर दुई सिजनमा धान खेती गरिन्छ । चैतमा रोपेर असार साउनमा बाली भित्र्याउने तथा असारदेखि भदौ अन्तिमसम्म रोपेर मंसिरमा बाली भित्र्याउने चलन छ । यसका अलवा भदैया, हिउँदे गरेर तराईंमा वर्षै भरी धान खेती गर्न सकिने प्रविधिको विकास भइसकेको कृषि मन्त्रालयले जनाएकाे छ ।

नेपालको आर्थिक बृद्धिदर नै धानको उत्पादनमा निर्भर हुने भएकाले यसको महत्व अत्याधिक छ । धानको उत्पादन बढ्दा कुल ग्राहस्थ उत्पादन पनि बढ्छ भने धानमा समस्या आउँदा त्यसको असर कुल ग्राहस्थ उत्पादनमा देखिन्छ ।

केन्द्रीय तथ्यंक विभागले चालु आर्थिक वर्षमा २.२८ प्रतिशत मात्रै आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ । जसमा कृषि क्षेत्रको योगदान २.४८ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।

कोरोनाका कारण अन्य क्षेत्रको योगदान खुम्चिँन पुग्दा कृषिको योगदान अझै ठूलो हुन सक्ने र कुल योगदानमा धानको मात्रै योगदान ७ प्रतिशत हाराहारी हुने धान विज्ञ हरिकृष्ण उप्रेतीको अनुमान छ ।

तीन लाख हेक्टरमा रोपाइँ सकियाे

नेपालमा मनाङ मुस्ताङबाहेक अन्य सबै जिल्लामा धान खेति गरिने कृषि विकास मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्ष नेपालमा १४ लाख ५८ हजार ९ सय १५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो । जसमा ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।

यस वर्ष धानको उत्पादन अघिल्लो वर्षको तुलनामा ५९ हजार मेटिक टन कम रहे पनि प्रतिहेक्टर उत्पादन भने अहिलेसम्मकै धेरै रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

अघिल्लो वर्ष एक हेक्टर जमिनमा तीन हजार ६० किलो धान फलेकोमा चालू आवमा एक हेक्टरमा तीन हजार ८ सय ४ किलो धान फलेको थियो । यस वर्ष समयामै मनसुन सुरु हुँदा असार १५ गतेसम्म झण्डै तीन लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइसकेको मन्त्रालयले जनाएको छ ।

पुग्दैन आफ्नै उत्पादनले

धानखेती विकासका लागि धेरै काम गरेको सरकारी दाबीका बाबजुत हरेक वर्ष नेपालले आयात गर्ने चामलको मात्रा भने उच्च छ ।

स्वदेशको उत्पादन र परक्यापिटा अधिकतम् खपत हेर्दा नेपालमा चामलको आयात जरुरी देखिँदैन । तर, अघिल्लो आर्थिक वर्षमा मात्रै नेपालमा ३१ अर्ब रुपैयाँ भन्दा बढी मूल्यको चामल आयात भएको छ । चालु आर्थिक वर्षको नौँ महिनामा भारतबाट मात्रै १५ अर्ब रुपैयाँको चामल नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।

जापान, चीन, अमेरिका, बंगलादेशसहितका मुलुकबाट थप डेढ अर्ब हाराहारीको चामल नेपाल आयात भएको भन्सारको विवरणमा देखिन्छ ।

नेपालमा चामलको आयात आंकडा शंकास्पद रहेको धानविज्ञ हरीकृष्ण उप्रेती बताउँछन् । कृषि वस्तु आयातमा छुट हुने भन्सार महसुलको फाइदा उठाउन धानको नाममा मूल्याकंन गरिएर अन्य वस्तु भित्रिएको हुनसक्ने उनी बताउँछन् । अर्कोतर्फ नेपालबाट भारत निर्यात हुने धानको अभिलेख नै नभएको उनले बताए ।

नेपालीका लागि चामलको औषत उपभोगबारे केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययनमा परक्यापिटा १२२ किलो चामल आवश्यक हुने उप्रेती बताउँछन् । यदी दुबै छाक मानिसले चामलकै भात खान्छ भने यसबारे गरिएको एक अर्को अध्ययनमा परक्यापीटा चामलको खपत १४६ किलो हुने उनले बताए ।

करिब तीन करोड जनसंख्यामा ४० लाख युवा विदेशमा भएको अनुमान गरेर दुई करोड ६० लाख मानिसकालागि तीन अर्ब ७८ करोड ६० लाख किलो चामल वार्षिक रुपमा आवश्यक पर्ने उप्रेतीको अनुमान छ ।

धान उत्पादनका समस्या

नेपालले धान उत्पादन गरेर निर्यात गर्न तीन वटा कुरामा जोडदिनु पर्ने विज्ञको मत छ । नेपालको कृषि विकासमा सिंचाई, मल बिउ र कृषि वस्तुको प्रशोधनमा समस्या रहेको उप्रेती बताउँछन् । यसवर्ष पनि कृषकले रसायनिक मल पाउन सकेका छैनन् ।

मनसुनमा आधारित खेति प्रणाली, समयमै मल बिउ उपलब्धता र उच्च गुणस्तरको प्रशोधन मिलहरु नेपालमा नहुनु दुखद् भएको उनको भनाइ छ । आकाश हरेर खेती गर्ने प्रणालीले कृषि र कृषकको उन्नती नहुने उप्रती बताउँछन् ।

कोभिड र सलह त्रासदी

अनेकौं पुराना समस्याकाबीच यस वर्ष विश्व र नेपालीहरुले पनि कोभिड र सलह प्रकोप झेल्दैछ । रोपाइँको मौसम भए पनि कोभिड सुरक्षाकालागि मानिसहरु खुलेर काम गर्न सकिरहेका छैनन् ।

तीन महिना लामो लकडाउनका कारण कृषि सामाग्री आपूर्तिमा समस्या देखिएको छ । विश्व बजारबाट आयात हुने रसायनिक मल बाटोमै रोकिँदा किसान मर्कामा परेका छन् । कोभिडकै कारण समयमै किसानहरुले बिउ पाउन नसकेको गुनासो पनि उस्तै छ । काभिड समस्याकैबीच शनिबारबाट नेपालमा विकाशकारी सलह किरा नेपाल प्रवेश गरेको छ । हरियो वनस्पती सखाप पार्ने सलहबाट जोगिनु पर्ने चिन्ता किसानमा थपिएको छ ।

सलहको आतंकलाई मध्यनजर गर्दै कृषि विकास मन्त्रालयले धानको ब्याड जोगाएर बरु केहीदिन ढिलाई रोपाइँ गर्न किसानलाई सुझाव दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार