आइतवार, मंसिर १४, २०७७
  • होमपेज
  • समाचार
  • काल बन्दै क्वारेन्टाइन

काल बन्दै क्वारेन्टाइन

नाममात्रैको क्वारेन्टाइनमा अकालमा गुम्दैछ नागरिकको ज्यान !

  • आइतवार, जेष्ठ १८, २०७७
काल बन्दै क्वारेन्टाइन
सुजन पन्त

आइतबारको संघीय संसदको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै नेकपा सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले लम्बिदो लकडाउनका कारण कोरोनाबाट मृत्यु हुने भन्दा पनि क्वारेन्टाइन बसेर आत्महत्या गर्ने धेरै रहेको बताए ।

स्थानीय तहमा उचित क्वारेन्टाइन नहुँदा अकालमा त्यहाँ बस्नेहरुले ज्यान गुमाउनुपरको उनको भनाइ थियो । आत्महत्या गरेर होस् या अन्य विविध कारणले, क्वारेन्टाइन बस्नेको मृत्यु हुनेको संख्या बढ्न थालेको छ ।

हाल देशभर १ लाख १० हजार बढी क्वारेन्टाइनमा रहेका छन् । त्यही क्वारेन्टाइनमा बस्नेहरु अहिले विभिन्न व्यवस्थापकीय कमजोरीका जोखिममा परेका छन् । क्वारेन्टाइनमा क्षमता भन्दा बढी बस्नुपर्ने, आवश्यक सेवा सुविधा र औषधिउपचार समेत नहुँदा क्वारेन्टाइनमा बस्नेहरु जोखिममा परेका हुन् ।

विभिन्न स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेहरु अधिकांश भारतबाट आएकाहरु हुन् । कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि गत चैत ११ बाट सुरु गरेको लकडाउन किस्ताकिस्तामा थपिँदै आगामी जेठ ३२ सम्म पुगेको छ ।

यहीबीचमा भारतमा विभिन्न स्थानमा आफ्नो रोजगारी गुमाएपछि सीमासम्म हजारौं नेपाली आइपुगे भने सरकारले नेपाल प्रवेश दियो । तिनै नेपाली नागरिक र नेपालभित्रबाटै पनि एक ठाउँबाट अर्को ठाउँमा गएका तथा संक्रमितको सम्पर्कमा रहेकाहरु क्वारेन्टाइनमा बस्दै आएका हुन् ।

त्यहाँ बस्नेहरु मध्ये केहीको मृत्यु भएको खबर आउँदा क्वारेन्टाइन कति सुरक्षित, स्तरीय र भरपर्दो भन्नेबारे चर्चापरिचर्चा सुरु भएको छ । अहिले देखा परेका अधिकांश संक्रमित क्वारेन्टाइनमा नै भेटिएका छन् । र, क्वारेन्टाइनमा रहेकामा यसको संक्रमण फैलिएको छ । त्यसमाथि एकपछि अर्को मृत्युका घटना आउन थालेपछि क्वारेन्टाइनमा बस्नेहरु थप चिन्तित बन्न पुगेका छन् ।

धेरैको गुनासो छ, क्वारेन्टाइनहरु मापदण्ड अनुसारका छैनन् । यो कुरा सरकारले पनि स्वीकार गरिसकेको छ । क्वारेन्टाइनमा बस्नेको संख्या बढेसँगै उनीहरुको व्यवस्थापन र खानपानमा मुख्य समस्या छ । विद्यालयमा बनाइएको क्वारेन्टाइनमा खानेपानी र शौचालयको समस्या भएको धेरैको गुनासो आउने गरेको छ ।

खानपानको कारण क्वारेन्टाइनमा रहेका व्यक्ति झनै बिरामी भएर मृत्युको मुखमा पुगेका छन् । यस्तै त्रिपाल र प्लास्टिकमाथि तन्ना ओछयाएर भुँईमा सुत्नुपर्दा चिसोका बिरामीहरु पनि मृत्यु मुखमा पुग्ने गरेका छन् ।

त्यति मात्र नभएर ठाउँको अभावमा कोही विद्यालयको बरण्डा, र कोही चौरमा नै सुत्ने गर्छन् ।

कोरोनाभाइरसको कारण शनिबार बिहान दैलेखको दुल्लु नगरपालिकास्थित विद्युत कार्यालयको क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षीय युवक पनि एउटै कोठामा ५ जना साथीहरुसँग बस्दै आएका थिए । साँघुरो कोठामा बस्दै आएका ती पुरुष सानैदेखि रोगी रहेको पाइएको छ ।

यतिबेला उनीसँगै बस्दै आएका अन्य चार जना त्रासमा छन् । यसले अन्य व्यक्तिमा संक्रमण भएको नहोला भन्न सकिन्न । चारै तिरबाट विद्युत कार्यालय सिल गरिएको छ । यस्तो दयनीय अवस्थामा रहेको बेला सरकार, स्थानीय तह र प्रशासन मुकदर्शक बनेका छन् ।

यसअघि बाँकेका नरैनापुरस्थित क्वारेन्टाइनमा बस्दै आएका २५ वर्षीय युवाको पनि मृत्यु भएको थियो । उनमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

शनिबार भारतबाट आएर गुल्मीको क्वारेन्टाइनमा बसेका एक व्यक्तिले आत्महत्या गरे । गुल्मीको छात्रकोट गाउँपालिका–४ दिगामस्थित आदर्श माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका हुन् ।

साँझ खाना खाने समयमा ट्वाइलेट जान हिँडेका परियार नजिकैको रुखमा आफ्नै टावेलको पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएका थिए । खाना खान नआएपछि उनको खोजी गर्दा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

प्रहरीको प्रारम्भिक अनसन्धानमा क्वारेन्टाइनमै राखिएको कारण उनले आत्महत्या गरेको हुनसक्छ । आफूसँगै भारतबाट फर्किएका (टाठाबाठा) केही व्यक्तिलाई क्वारेन्टाइनमा नराखिएको र आफूलाई राखिएको भन्दै परियारले आत्महत्या गरेको पाइएको हो । उनको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको र रिपोर्ट आउने क्रममा रहेको छ ।

यस्तै शनिबार राति डडेल्धुरामा क्वारेन्टाइनमा बसेका एक बालकको मृत्यु भयो । शनिबार राति अचानक बालक बिरामी भएपछि अस्पताल लैजाँदै गर्दा डाक्टरले मृत घोषणा गरेको प्रहरीको दावी छ ।

क्वारेन्टाइनमा मृत्यु भएका बालकको मृत्युको कारण नखुलेपनि डडेल्धुरा बहुमुखी क्याम्पसको सो क्वारेन्टाइनको अवस्था दयनीय रहेको बताइन्छ । यी त उदाहरणमात्रै हुन् हालसम्म क्वारेन्टाइनमा बसेका २ दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ ।

क्वारेन्टाइन व्यवस्थापन कमजोर

स्थानीय जनप्रतिनिधिको सहयोगमा विदेशबाट नेपाल आउने जो कोहीलाई पनि क्वारेन्टाइनमा राखिएको छ । बाहिरबाट हेर्दा क्वारेन्टाइनमा राखिएको जस्तो भएपनि त्यहाँ बस्नेहरुको छुट्टै पीडा छ ।

भारतबाट दैनिक आउने मानिसहरुको संख्या बढिरहेको बेला सरकारलाई क्वारेन्टाइन व्यवस्थापन सबैभन्दा ठूलो चुनौती बनेको छ । कोठा अभावको कारण देखाउँदै ३ हजार जना सम्मलाई एउटै भवनमा समेत राखिएको छ ।

संक्रमितको जुन ठाउँमा अधिक संख्या छ, त्यहाँ सकेसम्म मानिसलाई सामाजिक दुरी कायम गरेर क्वारेन्टाइनमा राख्नुपर्छ । तर, नेपालमा ठीक उल्टो छ । धेरै संक्रमित भएको क्षेत्रमा साँघुरो कोठामा चार÷पाँच जनालाई राख्नुपर्ने अवस्था छ ।

क्वारेन्टाइन नाम दिएर दिउँसै बत्ती बाल्नुपर्ने साँघुरो कोठामा बस्दै आएका व्यक्तिहरुलाई असजिलो महसुस हुने र श्वासप्रश्वासमा गाह्रो हुने भएकाले क्वारेन्टाइनमै मृत्यु हुने गरेको ललितपुर जिल्लाका स्वास्थ्य प्रमुख डा. खगेश्वर गेलाल बताउँछन् ।

क्वारेन्टाइनमै थरीथरीको माग

संकटको बेला दुःखकष्ट गर्दै गाउँ आइपुगेका स्थानीयलाई क्वारेन्टाइनमा लगेर राख्न भने सहज छैन । क्वारेन्टाइनमा बस्दिन भनेर अड्डी कस्ने आफ्ना जनतालाई कतिपय स्थानीय सरकारले क्वारेन्टाइनमा बस्नका लागि ‘कन्भिन्स’ गर्न सकेकै देखिन्न ।

उनीहरुलाई १४ दिनका लागि क्वारेन्टाइनमा राख्नको लागि स्थानीय तहका जनप्रतिनिधिलाई कन्भिन्स गर्न जती गाह्रो छ, उत्तिकै गाह्रो भइरहेको छ उनीहरुको माग पुरा गर्न ।

क्वारेन्टाइनमा राखिएका कतिपय व्यक्तिले थरिथरिका माग राखेर हैरान पार्ने गरेको स्थानीय तहका प्रमुखहरु बताउँछन् । क्वारेन्टाइनमा राखिएका नागरिकले ‘चुनाव त आओस्, देखाइदिन्छौँ’ भन्दै धम्की दिने गरेको समेत पाइएको छ । क्वारेन्टाइनमा राखिएका कतिपय व्यक्तिले इन्टरनेटको सुविधा, मिठो खानपिन र आरामदायी ओछ्यानको माग समेत गर्छन् ।

शंकास्पद व्यक्तिलाई कम्तिमा १४ देखि १७ दिनसम्म क्वारेन्टाइनमा सुरक्षित तथा सुव्यवस्थित तरिकाले राख्नुपर्ने हुन्छ । त्यसका स्वास्थ्य, सुरक्षा र सुविधाका मापदण्डहरु पूरा गर्नुपर्ने हुन्छ ।

तर मापदण्ड पूरा हुन त टाढाको कुरा क्वारेन्टाइन समेत पर्याप्त नभएको अवस्था छ । भएका क्वारेन्टाइनलाई पनि क्वारेन्टाइनको परिभाषाभित्र समेट्न नसकिने पूर्वसचिव भीम उपाध्याय बताउँछन् ।

सरकारले तय गरेकै मापदण्डमा क्वारेन्टाइन बनाउन स्थानीय निकाय र प्रशासन असफल भएको उनको भनाइ छ ।

रोचक त के छ भने हालसम्म १ लाख १० हजार बढी क्वारेन्टाइनमा रहँदा सरकारको आधिकारिक तथ्यांकमा ६५ हजारको हाराहारीमा मात्रै क्वारेन्टाइन बेड रहेका छन् । यसले पनि क्वारेन्टाइनको वास्तविकतालाई दर्शाउँछ ।

सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर नेतृत्वको क्वारेन्टाइन अनुगमन र सहजीकरण समितिले सार्वजनिक गरेको प्रतिवेदनमा देशभर ६५ हजारको हाराहारीमा मात्रै क्वारेन्टाइन बेड रहेको उल्लेख गरिएको छ ।

भारतबाट आउनेलाई नै क्वारेन्टाइन पुग्दैन

सरकारले भारतबाट मात्र नभएर अन्य मुलुकमा अलपत्र परिरहेका नेपाली नागरिकलाई ल्याउन पहल गरिरहेको छ । भारतपछि कोरोनाको कारण खाडी मुलुक साउदी अरब, युएई, मलेसिया, ओमन, कतारजस्ता मुलुकमा धेरै नेपालीहरु अलपत्र परेका छन् ।

तर, भारतबाट आउने नेपालीहरुलाई नै क्वारेन्टाइन नपुग्ने पाइएको छ । क्वारेन्टाइन व्यवस्थापन चुनौति बनिरहेको अवस्थामा सरकारले खाडी मुलुकमा अलपत्र परेका नेपालीलाई ल्याएर कहाँ व्यवस्थापन गर्छ ?

विदेशबाट नेपाली ल्याउने तयारी गरेपछि क्वारेन्टाइन व्यवस्थापन कसरी हुने विषय टड्कारो बनेको छ । विदेशबाट नेपाली ल्याउने काम सुरु भयो भने त क्षमताले धान्नै गाह्रो हुने कतिपयको भनाइ छ ।

तर, समितिका संयोजक तथा सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले विदेशबाट फर्कने नागरिकको वर्गीकरण गरी क्वारेन्टाइन व्यवस्थापन गरिने बताएका छन् ।

भारतबाट नेपाल प्रवेश गर्ने केही नाकाहरुमा क्वारेन्टाइन व्यवस्थापनमा समस्या देखिएको बताउँदै उनले सरकारले आवश्यक सहजीकरण गरिरहेको बताए ।

केही स्थानमा समस्या देखिएपनि अधिकांश स्थानका क्वारेन्टाइनहरुको व्यवस्थापन सहज र व्यवस्थित रहेको दावी गर्दै मानन्धरले देशभरका होटल तथा रिसोर्टहरुलाई पनि क्वारेन्टाइनस्थल बनाउन सकिने बताए ।

सरकारले आवश्यक परे देशभरका होटल तथा रिसोर्ट र लजहरु प्रयोग गर्न सक्ने बताउँदै मानन्धरले विपद्का बेला सबैले साथ र सहयोग गर्नुपर्ने बताए ।

देशभर २० देखि ३० हजार होटलका कोठाहरु रहेको र लज तथा रिसोर्टहरुका कोठाहरुसमेत प्रयोग गर्न सकिने मानन्धरको तर्क छ । मानन्धरले विश्व स्वास्थ्य संगठनको मापदण्ड र संक्रमणको जोखिम कम गर्नका लागि पनि होटलहरुमा क्वारेन्टाइन बनाउदा उपयुक्त हुने बताए । राताेपाटीबाट

चर्चामा

सम्बन्धित समाचार