शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • लकडाउनयता ३० सुत्केरीको मृत्यु, कोरोना डरले अस्पताल आउने घटे

लकडाउनयता ३० सुत्केरीको मृत्यु, कोरोना डरले अस्पताल आउने घटे

  • शनिबार, जेष्ठ १७, २०७७
लकडाउनयता ३० सुत्केरीको मृत्यु, कोरोना डरले अस्पताल आउने घटे
प्रतीकात्मक तस्बिरः न्यु इन्डियन एक्सप्रेस

कोरोना लकडाउन गर्भवती र सुत्केरीहरूका लागि संकटकालै बनेको छ। नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने पहिलो व्यक्ति ९ दिने सुत्केरी थिइन्। स्वास्थ्य विभागको तथ्यांकअनुसार लकडाउन अवधिमा मातृ मृत्युदर २०० प्रतिशत बढेको छ।

‘लकडाउन सुरू भएयता देशभर ३० जना सुत्केरीको मृत्यु भएको तथ्यांक छ,’ विभागको मातृ तथा नवजात शिशु शाखा प्रमुख डा. पुण्या पौडेलले तथ्यांकबारे जानकारी दिँदै सेतोपाटीसँग भनिन्, ‘सामान्य अवस्थामा भन्दा यो करिब २०० प्रतिशत बढी हो।’

पछिल्लो केही वर्षयता वर्षमा सरदर ८० जना सुत्केरीको मृत्यु हुने तथ्यांक छ। व्यथा लागेका महिलालाई हेलिकप्टर चार्टर गरेर प्रसूति गराउन सेवा दिने साथै भौगोलिकक्षेत्र अनुसार भत्ता समेत दिइन थालेपछि मातृ मृत्युदर कम भएको उनको भनाइ छ।

कोरोना लकडाउनले भने यो मृत्युदर पुनः उकालो लागेको छ। ‘लकडाउनका कारण यातायात साधन ठप्प छन्। कतैकतै त कर्मचारी अभाव पनि होला,’ उनी कारण प्रष्ट्याउँदै भन्छिन्, ‘कोरोना संक्रमणका डरले अस्पताल नआउने र मृत्युदर बढ्नुमा भूमिका खेलेको छ।’

सुत्केरी भएदेखि ४२ दिनभित्रको मृत्युलाई मातृ मृत्युमा गनिन्छ। दुर्गम भेगमा अस्पतालको पहुँच, सुरक्षित प्रसूति स्वास्थ्य सेवा आदि नहुँदा मृत्यु हुने अवस्था छँदैछ। सुत्केरी भइसकेपछि पनि आमाहरूको स्वास्थ्य जोखिममै देखिन्छ।

लकडाउनका कारण झन् सुत्केरी गराउन अस्पताल आउनेकै संख्यामै कमी आएको पुण्या बताउँछिन्। ‘अवस्था सामान्य हुँदा सुत्केरी हुने दिन नजिक आएपछि अस्पताल लैजान सजिलो होस् भनेर आफन्त वा अस्पताल नजिक जान्थे,’ उनी लकडाउनपछि सुत्केरीहरूको अवस्था खुलाउँदै भन्छिन्, ‘महामारीले त्यो बाटो बन्द गरिदिएको छ। यस्ता कारण संस्थागत सुत्केरी गराउने संख्या देशैभर एक तिहाइ घटेको छ। स्थान हेरेर २० देखि ५० प्रतिशतसम्म कम भएको छ।’

संस्थागत सुत्केरीको ठूलो हिस्सा ओगटेको परोपकार प्रसूति अस्पताल, थापाथलीका निर्देशक डाक्टर जागेश्वर गौतम पनि यो तथ्य स्वीकार्छन्। लकडाउन अघिसम्म थापाथली प्रसूति गृहमा दैनिक ६० देखि ७० डेलिभरी हुन्थे। गौतमका अनुसार अहिले सरदर ५०–६० डेलिभरी हुन्छन्।

‘पहिलेभन्दा औसतमा १० जना कम भएको छ। यातायातको सहज सुविधा छैन,’ निर्देशक गौतम कारण खुलाउँछन्, ‘सबैले एम्बुलेन्स पाउँदैनन्। भएका पनि चलाउन आनाकानी गरिरहेका छन्।’

कोरोना संक्रमणको डर पनि अर्को मुख्य कारण मान्छन् उनी। अरू रोगको हकमा अस्पताल सुरक्षित मानिए पनि कोरोनाको सन्दर्भमा अस्पताल नै स्रोत हुन सक्ने डर छँदैछ। त्यसले पनि अस्पताल आउनको संख्यामा कम भएको उनको अनुमान छ।

‘लकडाउन अघि उपत्यकाबाहिरबाट पनि प्रसूति सेवाका लागि आउँथे। अहिले कोरोना संक्रमणको डर छ,’ निर्देशक गौतम थप्छन्, ‘यातायातको असुविधा, आर्थिक दुर्वलताका कारण प्रायः नजिककै हेल्थ पोष्ट अथवा घरैमा प्रसूति गराइरहेका हुन सक्छन्।’

सहरी क्षेत्रमा यातायातका साधनको उपलब्धता र चेतनाका कारण थोरै प्रभाव देखिए पनि मातृमृत्युको ठूलो हिस्सा ग्रामीण क्षेत्रमै छ।

कोरोना महामारी र लकडाउनले प्रसूतिसेवामा प्रत्यक्ष असर पुर्‍याएको अछाम, बयालपाटा अस्पतालका मेडिकल निर्देशक डाक्टर विकास गौचन बताउँछन्।

‘ग्रामीण भेगमा लामो समय काम गरेको अनुभवमा भन्न सक्छु, यति बेला सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरैजसो अस्पतालमा सुत्केरी गराउन आउनेको संख्यामा कम भएको छ,’ उनी दाबी गर्छन्।

उनकै अस्पतालमा यो भएको छ। बयालपाटा अस्पतालमा यसअघि दैनिक २ वा ३ जना र महिनामा औसत ७५ जना डेलिभरी गराउन आउँथे। लकडाउनयता घटेको छ। दुई महिनाको अन्तरालमा ५ देखि १० जना कम आएको उनको भनाइ छ।

‘हामीले पहिले नै स्वास्थ्यकर्मीको सहयोगमा आगामी महिना कति महिला सुत्केरी हुने तयारी छन् जानकारी राखेका हुन्छौं। त्योअनुसार अहिले आएका छैनन्,’ उनी घट्नुको कारण बताउँदै भन्छन्, ‘अहिले भनेको समयमा सवारी नपाएर अस्पताल जान नपाउनु र एम्बुलेन्स महँगो भएकाले अस्पतालमा प्रसूति गराउने संख्या घटेको छ।’

कोरोना त्रासले पनि घरमै सुत्केरी गराउनेको संख्या बढेको र त्यसले मातृ मृत्युदर बढ्न सघाएको निष्कर्ष उनको पनि छ। गौचनका अनुसार लकडाउन, कोरोना त्रास, आर्थिक अभाव आदि समस्या एकअर्कामा सम्बन्धित छन्, जसले मातृमृत्युदर बढाएको छ।

‘अस्पताल गएर सुविधा लिनुपर्छ भन्ने कुरा पहिले पनि प्राथमिकतामा थिएन। झन् यति बेला रोगकै महामारीको डरले पनि अस्पताल जान आनाकानी गर्छन्,’ उनी भन्छन्, ‘अस्पतालमा सुत्केरी गराउँदा मातृ मृत्यु हुने जोखिम कम गर्न सकिन्छ। लकडाउनबीच मृत्यु भएका महिलाका साझा समस्या ढिलो अस्पताल पुग्नु हो।’

पछिल्लो केही वर्षयता सुदूरको अवस्था सुध्रिँदो थियो। अस्पताल, स्वास्थ्य चौकीमा सुरक्षित प्रसूति सेवा, भत्ता साथै हेलिकप्टर सेवा उपलब्ध हुन थालेपछि घरमा सुत्केरी गराउने संख्या घटेको थियो। स्वास्थ्य परिचालिकाको भूमिका पनि प्रमुख थियो।

‘हामीले अछामका ६ वटा पालिकामा सामुदायिक स्वास्थ्य कार्यक्रम अन्तरर्गत स्वास्थ्य परिचालिका खटाएर गाउँमा भएका गर्भवतीबारे जानकारी राख्ने गरेका छौं,’ उनले त्यहाँको अवस्था बताए, ‘हर सम्भव प्रयास गर्दा पनि शतप्रतिशत महिलालाई संस्थागत सुत्केरी पहुँचमा पुर्याउन सकिएको छैन।’ यस्तो अवस्थामा मातृ मृत्युदरमा कोरोना त्रास र लकडाउनले घ्यू थपेको छ। #सेताेपाटि

चर्चामा

सम्बन्धित समाचार